प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजनाका लागि बजेट माग

दाङ, १५ वैशाख । प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजना प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्न माग गर्दै गढवा गाउँपालिकाका संस्थापक अध्यक्ष शहजराम यादवको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ ।

सोमवार सिंहदरबार स्थित मन्त्रालयमा भेट गर्दै प्रतिनिधि मण्डलले प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजनाको काम जारी रहे पनि बजेट अभावका कारण समयमा सम्पन्न हुन नसकेको, किसानहरूले चाहना अनुसार सिंचाइ सुविधा उपभोग गर्न नपाएको जस्ता समस्या राखेको थियो । आगामी आर्थिक वर्षको बजेटमा बड्कापथ सिंचाइ आयोजना प्राथमिकताका साथ बजेट सुनिश्चित गर्न माग गरिएको प्रतिनिधि मण्डलमा रहेका नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिए ।

प्रतिनिधि मण्डलमा संविधानसभा सदस्य शान्ता चौधरी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जगत पोख्रेल, जिल्ला सहसचिव सीता चौधरी, राप्ति गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी सहित दाङ देउखुरी क्षेत्रका विभिन्न अगुवाहरू सहभागी भएका थिए । बड्कापथ सिंचाइ आयोजना दाङ जिल्लाको प्रमुख कृषियोग्य भू–भागमा सिंचाइ सुविधा पुयाउने महत्वपूर्ण योजना हो । योजना अन्तर्गत गढवा गाउँपालिका लगायत आसपासका क्षेत्रका हजारौं किसानहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

आयोजना पूरा भएपछि वर्षैभरि स्थायी सिंचाइको व्यवस्था भई कृषिमा उत्पादन वृद्धि तथा किसानहरूको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ । अर्थमन्त्री पौडेलले प्रगन्ना तथा बड्कापथ सिंचाइ आयोजनालाई उच्च प्राथमिकतामा राखी आवश्यक बजेट सुनिश्चित गरिने प्रतिबद्धता जनाएका थिए । साथै, आयोजना छिटो सम्पन्न गरी किसानहरूलाई प्रत्यक्ष लाभ पुयाउने गरी आवश्यक समन्वय र प्रक्रिया अघि बढाइने पनि अर्थमन्त्री पौडेलले आश्वासन दिए ।