अमरराज आचार्य
दाङ, १५ वैशाख । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्धका घाइते तथा अपाङ्ग भएका २७ जनालार्ई उपचारमा सहयोग गरेको छ । हालसम्म महिला र पुरुष गरी २७ जनाले उपचारमा सहयोग पाएका हुन् ।
प्रदेशका १२ जिल्लाबाट हाल सम्म २७ जनाले उपचारको लागि सिफारिस लिएको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल नेपालगञ्ज बाँके अस्पतालमा १२ जनालाई उपचारको लागि सिफारिस गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १३ जना र राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा २ जनालाई उपचारको लागि मन्त्रालयले सिफारिस गरेको छ । उपचारमा सहयोग गर्न प्रदेश सरकारले आर्थिक वर्षको नीति कार्यक्रममा समेत समावेश गरेको थियो ।
लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले फागुनको २१ गते सुूचना प्रकाशित गरेर सेवा लिन आवहान गरेको थियो । मन्त्रालयले ३० दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो । सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपाङ्ग भएकाको उपचार कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सुविधा लिन इच्छुक लुम्बिनी प्रदेशभित्रका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ३० दिन आउनको लागि भनिएको थियो ।
सहयोग लिन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, जिल्ला प्रशासन कार्यालयले दिएको सशस्त्र द्वन्द्वका क्रममा अपाङ्ग, घाइते वा अशक्त भएको भन्ने व्यहोराको सिफारिसपत्र हुनु पर्ने छ । यस्तै स्वास्थ्य समस्या पहिचानसम्बन्धी अस्पताल वा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन) भएमा सोको प्रतिलिपी, स्वास्थ्य समस्यासँग सम्बन्धित वा पहिचान खुल्ने अन्य कागजात भए त्यस्तो कागजात हुनु पर्ने व्यवस्था गरिएको थियो ।
उपचारका लागि चालु आर्थिक वर्षमा प्रदेशका ३ वटा अस्पतालसँग सम्झौता समेत गरिएको थियो । मन्त्रालयका प्रशासन तथा योजना शाखाका अधिकृत भुपबहादुर मल्लकाअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, प्रादेशीक अस्पताल तुलसीपुर दाङ र भेरी अस्पताल नेपालगञ्ज अस्पतालसँग सम्झौता भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग पुस १७ गते सम्झौता भएको शाखा अधिकृत मल्लले बताए । बुटवल अस्पताललाई ४२ लाख रकम समेत पठाइएको छ । प्रादेशीक अस्पताल तुलसीपुर दाङसँग पुस २२ गते सम्झौता भएको थियो भने अस्पतालाई ३ लाख बजेट प्रदान गरिएको छ ।
त्यसैगरेर भेरी अस्पताल नेपालगञ्ज अस्पतालसँंग पुस २८ गते सम्झौता भएको हो । भेरी अस्पताललार्ई पाँच लाख बजेट प्रदान गरिएको छ । द्वन्द्व पीडितका लागि यस आर्थिक वर्षका लागि ५० लाख बजेट अस्पतालाई प्रदान गरिएको अधिकृत मल्लले बताए । उपचारका लागि प्रति व्यक्ति प्रदेश सरकारको कार्यविधि अनुसार ३० हजारसम्मको उपचार पाउने भएका छन् भने उपचार लिन जाँदा आउदा यातायात खर्चको समेत व्यवस्था गरिने उनको भनाइ छ । ‘द्वन्द्व पीडित तथा अपाङ्गलाई केही मात्रामा सहजता होस् भनेर प्रदेश सहयोग प्रदान गर्न थालेको हो’ शाखा अधिकृत मल्लले भने ।
उपचार लिनका लागि मन्त्रालयसम्म पुगेर सिफारिस लिनु पर्ने छ । मन्त्रालयमा आउनेलाई उपचारका लागि पठाइने समेत उनले बताए । सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपाङ्ग भएकाको उपचारसम्बन्धी कार्यविधि तयार गरि उपचारको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षदेखि यस प्रकारको सेवा दिन थालिएको प्रदेश सरकारले जनाएको छ ।
यसरी सिफारिस लिएर आउनेमध्ये मन्त्रालयमा रहेका नामसँग मिलेमा उपचारका लागि अस्पतालमा पठाइने भएको छ । ‘सरकारले दिएको परिचयपत्रको आधारमा मात्र सेवा प्राप्त गर्न सक्ने छन्’ उनले भने, ‘ प्रमाण बिनाकाले यस प्रकारको सुविधा प्राप्त गर्न सक्ने छैनन्’ । उपचारका लागि गत आर्थिक वर्षमा ४२ लाख बजेट रहेको थियो । उपचार र सामान्य अङ्ग प्रत्यारोपणका लागि सेवा प्राप्त गर्न सक्ने छन् । ‘यो बजेटले अहिले जटिलभन्दा पनि समान्य उपचारको लागि बजेट रहेको छ’ उनले भने । जटिल समस्या भएका र रकम धेरै लाग्नेको पहिचान गरेर के कसरी बजेटको व्यवस्था गर्ने भन्ने बारेमा अगाडि बढिने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकार तथा संङ्घीय सरकारबाट बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रदेश सरकारको भनाइ छ । परिवर्तनका लागि भएको जनयुद्ध तथा विभिन्न आन्दोलनमा घाइते भएका आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यसलार्ई मध्ये नजर गरी यो कार्यक्रम सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । यस प्रकारको कार्यक्रम निरन्तरता दिने समेत प्रदेश सरकारले जनाएको छ । सरकारले द्वन्द्ध पीडित तथा अपाङ्गलाई उपचारमा थप सहयोग गर्नु पर्ने द्वन्द्व पीडित बताउँछन् । ठुलो उपचारमा यसले नपुग्ने भन्दै त्यसको व्यवस्था गर्न समेत उनीहरूले माग गदै आएका छन् ।