घोराही,१५ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री प्रकाशशरण महतले स्वर्गीय नेता तीर्थराज ज्ञवाली ‘चैतु’ इमान्दार, त्यागी र साहसी नेता भएको बताए । तेह्रौँ दिनको पुन्यतिथिका अवसरमा आइतवार स्वर्गीय नेता चैतुको निवास घोराही–१५ भरतपुरमा नेपाली कांग्रेस दाङले आयोजना गरेको श्रद्धाञ्जलीसभालार्ई सम्बोधन गर्दै प्रवक्ता महतले निस्वार्थ रूपमा देशमा प्रजातन्त्र स्थापनासँगै पार्टी संगठन निर्माणका लागि स्वर्गीय नेता चैतुको महत्वपूर्ण योगदानलार्ई पार्टीले कहिल्यै बिर्सन नसक्ने बताए ।
‘उहाँ सबथोक पार्टीलार्ई दिएर पनि केही लिन नचाहेरै आफ्नो अन्तिम घडिसम्म लडिरहनुभयो, जुन हाम्रो यो पुस्ताका लागि अनुशरणीय छ’,कार्यक्रमका प्रमुख अतिथि रहेका नेता महतले भने,‘तर पछिल्लो समयमा जिम्मेवारीकोभन्दा पनि असन्तुष्टिको दायरा बढेको छ । यो राम्रो पक्ष होइन ।’ पार्टीलार्ई एकढिका बनाएर अघि बढाउनका लागि तल्लोदेखि माथिसम्म सबै नेता इमान्दार रूपमा लाग्नुपर्ने बताए । पार्टी सशक्त एवम् एक्लै निर्माण होमिन सक्ने बनाउनका लागि एकताबद्ध भएर अघि बढनु पर्ने भएपनि त्यसो हुन नसकेको भन्दै प्रवक्ता महतले भने,‘हामीले अहिले आप्mनै पार्टीभित्र प्रतिपक्ष खोजिरहेका छौँ । यसलार्ई त्यागेर प्राप्त उपलब्धीको रक्षा गर्नतर्फ लाग्नु आवश्यक छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक गिरीले स्वर्गीय नेता चैतु नेपाली कांग्रेसको राजनीतिक आन्दोलनका योद्धा भएको स्मरण गर्दै निश्वार्थ भावनाले सबै कांग्रेसजनले काम गर्न पनि आग्रह गरे । ‘अहिलेको राजनीतिक असन्तुष्टिमा हाम्रा पनि केही कमी कमजोरी होलान्, यसमा आफैलाई साक्षी राखेर सच्चिनुको कुनै विकल्प छैन’, गिरीले भने । ‘स्वं नेता चैतुको पार्थिव शरीर आफूहरूमाझ नरहेपनि उनले देखाएका राजनीतिक मार्गलाई पछ्याउँदै सिंगो नेपाली कांग्रेसलाई बलियो बनाउन सबै जुट्नु पर्ने पनि उनको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टीका लागि सशक्त एवम् निस्वार्थ रूपमा योगदान गर्ने त्यागी एवम् साहसी नेतालार्ई कांग्रेसले गुमाएको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सञ्जय गौतमले कांग्रेसलार्ई एकताबद्ध गर्दै सशक्त संगठन निर्माणका लागि स्वर्गीय नेता तीर्थराज ज्ञवाली ‘चैतु’लगायतका अग्रजबाट पाठ सिकेर अहिलेको पुस्ता अघि बढ्नुपर्ने बताए । श्रद्धाञ्जलीसभामा बोल्ने अन्य वक्ताले स्वर्गीय नेता चैतु त्याग, समर्पण र अदम्य साहसिक नेता भएको भन्दै उनको निधनले पार्टी अपुरणीय क्षति भएको बताएका थिए । साथै वक्ताले दाङको कांग्रेसलार्ई एकताबद्ध बनाउँदै संगठन निर्माणका लागि सबै इमान्दारिताका साथ लाग्नु पर्ने बताएका थिए ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, सहमहामन्त्री खगराज पाण्डे, लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, प्रदेशसभा सदस्य लोका विक, संविधानसभा सदस्यहरू अनिता देवकोटा, बुद्धिराम भण्डारी, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति वीरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली, कांग्रेस नेता महादेव शाह, केशव आचार्य, भरत केसीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, ३ का सभापति जगत खड्का, प्रदेशसभा २(१)का सभापति प्रकाश श्रेष्ठ, घोराही नगरसभापति तिलक रावत, कांग्रेस दाङका जिल्ला सदस्य श्याम रेग्मी, महासमिति सदस्यहरू किरणकिशोर घिमिरे, कमलकिशोर घिमिरे, लीला पुन, गोपालराज शर्मा, श्याम सुवेदी, कांग्रेस नेता बासुदेव जंगली, महाधिवेशन प्रतिनिधि बमबहादुर डिसी, सावित्रा राना, वद्रीकुमार खड्का, गोमा रावत, दलित नेता जोगेन्द्र विश्वकर्मालगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका सचिव बालिका लम्सालले गरेकी थिइन् भने परिवारका तर्फबाट धन्यवाद ज्ञापन स्वर्गीय नेता चैतुका भाइ ध्रुवराज ज्ञवालीले गरेका थिए ।
स्मृति ग्रन्थ प्रकाशन गरिने
नेपाली कांग्रेस दाङले कांग्रेस दाङका पूर्व सभापति एवम् जिल्ला विकास समितिका सभापति स्वर्गीय नेता तिर्थराज ज्ञवाली (चैतु) को स्मृति ग्रन्थ प्रकाशनका लागि आह्वान गरेको छ । स्वर्गीय नेता चैतुको निधनको तेह्रौँ दिनमा नेपाली कांग्रेस दाङले चैतुकै घरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँंगीले स्मृति ग्रन्थका लागि रचना लेखिदिन चैतुका समकक्षी अग्रज नेतालार्ई सार्वजनिक रूपमै आह्वान गरेका छन् ।
‘उहाँ हामीभन्दा माथिल्लो पुस्ताका नेता हुनुहुन्थ्यो, हामीबाट राजनीतिक चरित्रको टिकाटिप्पणी हुन सक्दैन’, जिल्ला सभापति डाँगीले भने,‘आम अग्रज समकक्ष्ीा नेतृत्वलाई उहाँको स्मृति ग्रन्थका लागि जति सकिन्छ, सान्दर्भिक रचना उपलब्ध गराइदिन आग्रह गर्दछु, यी रचनालाई संकलन गरेर हामीले स्वर्गीय तीर्थराज ज्ञवाली (चैतु) स्मृति ग्रन्थ प्रकाशित गर्ने छौँ ’ ।