अपेक्षा गरेअनुसार उपलब्धी नहुँदा जनतामा निराशा : प्रवक्ता महत

 गोरक्ष समाचारदाता
दाङ, १५ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा प्रकाशशरण महतले जनताले चाहेअनुसारको उपलब्धी हासिल गर्न नसक्दा निराशा बढेको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखाले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले जनतामा अपेक्षा धेरै भएको तर सरकारले सीमित स्रोत र साधनबाट काम गर्नुपर्दा अपेक्षा गरेअनुसारको उपलब्धी हासिल गर्न कठिन भएको बताए । ठुला दल मिलेर सरकार गठन भएपनि सीमित स्रोत साधनबाटै काम गर्नु पर्ने भएकाले अपेक्षा गरेअनुसारको उपलब्धी नभएको र यसले जनतामा निराशा छाएको बताए ।

अर्थतन्त्र कमजोर हुँदा सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने सरकारलाई बाध्यता भएको भन्दै पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने,‘अर्थतन्त्रको खराब अवस्थाका कारण सोचे जति काम गर्न सक्ने अवस्था छैन । जसका कारण जनतामा निराशा छ भनेको समय केही हुँदैन भन्ने भ्रम छ ।’ जनतामा भएका निराशालाई चिर्दै राजनीतिक स्थायित्व र समृद्धिका लागि देशका प्रमुख पार्टी कांग्रेस र एमाले मिलेर सरकार गठन भएपनि अपेक्षा गरेअनुसार काम हुन नसकेको बताएका थिए ।

उनले तिनै तहका सरकारले समन्वय गरेर ठुला योजना संघीय सरकार, मझौला योजना प्रदेश सरकार र साना योजना स्थानीय सरकारले गर्ने गरी बजेट विनियोजन गरेर अघि बढ्न सके योजना अलपत्र नपर्ने र काम देखिने बताए । सरकारको गति बढाउँदै सुशासन, विकास निर्माणसँगै जनतालाई दिने सेवा प्रवाहमा सहज ल्याउन सक्ने भएपनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको उनको भनाई थियो ।

कांग्रेस, एमाले मिलेर सरकार गठन भएपनि दुई पार्टीका बिचमा प्रभावकारी समन्वय र भूमिका नहुँदा सरकारले अपेक्षा गरे अनुसारको उपलब्धी हासिल गर्न नसकेको बताए । सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै जनताका गुनासालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु अघि बढ्नुपर्ने प्रवक्ता महतको सुझाव थियो । सरकारले जायज मागलाई सम्बोधन गरेर शिक्षकलाई कार्यक्षेत्रमा पठाउनुपर्ने बताए । आफ्ना माग पूरा गर्ने नाममा आन्दोलन गरेर शिक्षकले पठनपाठन र कक्षा १२ को जाँच नै प्रभावित पार्नु गलत भएको भन्दै प्रवक्ता महतले शिक्षकका जायज माग सम्बोधन गर्नुपर्ने पक्षमा कांग्रेस रहेको बताए । त्यसका लागि सरकारको भूमिका प्रभावकारी हुनुपर्ने भए पनि नदेखिएको बताएका हुन् ।

प्रवक्ता महतले संक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देशन गर्नसक्ने योग्य व्यक्तिलाई गर्भनर नियुक्त गर्न सरकारले ढिलाई गर्न नहुने बताएका थिए । गर्भनर नियुक्तमा कांग्रेस र एमालेका बिचमा असमझदारी भएको र यही कारण सरकार समेत ढल्न थालेको भन्ने अनावश्यक हल्ला फैलाउने काम भएको भन्दै प्रवक्ता महतले त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका थिए । उनले गठबन्धन सरकार दुई दलको सहमतिअनुसार नै अघि बढ्ने बताएका थिए । सहकारी प्रकरणमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै प्रवक्ता महतले उक्त रकम सम्बन्धित व्यक्तिबाटै अशुलउपर गरी वचतकर्तालाई फिर्ता गर्नेमा जोड दिएका थिए । प्रेस युनियन दाङ शाखाका उपाध्यक्ष गोपाल शर्मा भट्राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।