गणेश विश्वकर्मा
कुनै पनि व्यक्ति सर्वप्रथम ‘मानिस’ हो न त ऊ पहिला कुनै जात हो न धर्म न सम्प्रदाय । मानिस मात्र मानिस हुनु नै पर्याप्त छ, यदि उसभित्र मानवता जीवित छ भने तर विडम्बना आजको समाजमा मानवताको मूल्य दिन प्रतिदिन क्षीण हुँदै गएको छ । धर्मको नाममा हिंसा, विभाजन र घृणा फैलाउने प्रवृत्तिले मानवीय अस्तित्वमाथि नै प्रश्न उठाइरहेको छ । जम्मु–कश्मीरको घटनाले हामीलाई झस्काउँछ—धर्म, जात र सम्प्रदायको नाममा कसरी निर्दोषहरुलाई बलात्कार, हत्या र विस्थापनको शिकार बनाइन्छ भन्ने कुराको निर्मम उदाहरण हो, त्यो । हिन्दु–मुस्लिम दुवै समुदायका निर्दोषहरु एकअर्काको आस्थाको नाममा ज्यान गुमाउँदै आएका छन् । जब धर्मले मान्छेलाई मान्छेको आँखाले हेर्न नसक्ने बनाउँछ त्यस क्षणदेखि धर्म ‘धर्म’ नरहेर, एक राजनीतिक हतियारमा रुपान्तरण हुन्छ ।
धर्म जुन मूलतः शान्ति, सहिष्णुता र सद्भावको आधार हो, अहिले कतिपय ठाउँमा हिंसाको औजारमा रुपान्तरित भइरहेको छ । जम्मु कश्मीर यसको ज्वलन्त उदाहरण हो । जहाँ धर्मको नाममा निर्दोष नागरिकको हत्या, बलात्कार, विस्थापन, यातना सबै किसिमका मानवता विरोधी अपराधहरु भइरहेका छन् । त्यहाँ धर्मले मान्छेलाई मान्छे देख्न छाडेको छ । नेपालमै फर्कौँ । हालै मात्र वीरगन्जमा भएको हिन्दु–मुस्लिम दङ्गाले हामीलाई फेरि चेतावनी दिएको छ, धर्मको नाममा भड्काउने र घृणाको राजनीति गर्नेहरु फेरि सक्रिय छन् । सामाजिक सञ्जाल, धार्मिक जमात र निहित स्वार्थ बोकेका नेताहरुले सद्भाव बिथोल्ने काम गरेका छन् । घर जले, मान्छे घाइते भए तर जसको मन जल्यो, त्यो थियो ‘नेपालको सामाजिक एकता ।’
यस्तै बेला पुनः हिन्दुराज्यको माग गर्दै देशव्यापी आन्दोलन चलाउने नाममा केही शक्तिहरु सक्रिय छन् । यसले २०७२ सालको संविधानद्वारा घोषणा गरिएको धर्मनिरपेक्षता, समावेशिता र समानताको भावनालाई चुनौती दिइरहेको छ । नेपालमा धर्मको नाममा राजनीति गर्नुको अर्थ हो, फेरि मुलुकलाई द्वन्द्व र विभाजनतर्फ धकेल्नु । छिमेकी भारत अहिले धार्मिक अतिवादको चरम चक्रमा छ । भाजपा सत्तारुढ भएसँगै हिन्दु अतिवादी समूहहरुलाई प्रश्रय दिइएको छ । मुस्लिम समुदायमाथि भएको दमन, इसाईहरु माथिको आक्रमण, दलितहरु माथिको विभेद, यी सबै संस्थागत असहिष्णुताका लक्षण हुन् । मणिपुरमा मेइतेई र कुकी समुदायबिचको जातीय–धार्मिक द्वन्द्वले सयौँको ज्यान लियो, हजारौं विस्थापित भए, महिलाहरु अस्मिता गुमाउँदै हिंसाको शिकार बने । यो मानवताको चीरहरण थियो ।
भारतमा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी सत्तामा आएपछि धार्मिक राष्ट्रवादको झण्डा लहरिएको छ । योगी आदित्यनाथजस्ता हिन्दु अतिवादी नेता प्रदेशको मुख्यमन्त्री बनेर खुला रुपमा अल्पसङ्ख्यक समुदायविरुद्ध आक्रोश फैलाइरहेका छन् । ‘लव जिहाद’, ‘गौ रक्षा’, ‘घर वापसी’ जस्ता नाराले मुस्लिम समुदायलाई अपराधीकरण गर्ने काम भएको छ । यसको सिधा असर नेपालमा पनि देखिन्छ । नेपालमा ‘जय श्रीराम‘ नारालाई सांस्कृतिक भावनाको सट्टा राजनीतिक उन्मादको रुपमा प्रयोग गरिँदैछ । वीरगन्ज घटनामा भारतको कट्टर दक्षिणपन्थी विचारधाराको छायाँ प्रस्टै देखिएको थियो । नेपाली समाजको सहिष्णुतालाई कमजोर बनाउने यस्ता विचारहरु यहाँको सामाजिक एकताको जग खन्ने खालका छन् ।
हामी यसबाट टाढा छैनौँ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक समाज हो । यहाँ कुनै एक समुदायको शासन र संस्कृति थोपर्ने प्रयास विनाशकारी सावित हुन्छ । हामीले विगतमा हेपिएका, उपेक्षित र विभेदमा पारिएका समुदायहरुसँग अब आत्मसम्मानका साथ हिँड्ने बाटो रोज्नुपर्छ । विश्व इतिहास पनि यस्तै घृणाले भरिएको छ । हिटलरद्वारा यहूदीहरुमाथि गरिएको ‘ज्ययिअबगकत’—धर्मकै नाममा गरिएको सायद सबैभन्दा भयावह नरसंहार थियो । बुरुन्डीमा हुतु र टुत्सी जातिहरुबिचको लडाइँमा तीन लाखभन्दा बढी मानिस मारिए । अफगानिस्तान, सिरिया, इराक, रोहिंगया सङ्कट—सबैको मूलमा असहिष्णुता र धार्मिक अतिवाद नै छन् ।
ध्यान दिनुहोस्, जब धर्मले मानिस मार्न थाल्छ, त्यो धर्म धार्मिक रहँदैन । जब पहिचानले घृणा उब्जाउँछ, त्यो पहिचान घातक बनिसकेको हुन्छ । धर्म र पहिचान त केवल सामाजिक संरचना हुन् तर मानवता—त्यो त हाम्रो अस्तित्वको मेरुदण्ड हो । त्यो गुम्यो भने हामी सबै एकदिन बर्बादीका ढोकामा पुग्नेछौँ । नेपाल अब यस्तो मोडमा छ जहाँ साँचो राष्ट्र निर्माण गर्न हामीले धर्म होइन, मानवता प्रधान बनाउनु आवश्यक छ । सम्प्रदाय होइन, समावेशिता हाम्रो मूल मन्त्र होस् । द्वन्द्व होइन, सहअस्तित्व हाम्रो साझा लक्ष्य होस् । हामी यस्तो राष्ट्र निर्माण गर्न चाहन्छौं, जहाँ प्रत्येक व्यक्ति आफ्नो जात, धर्म, भाषा वा पहिचानका आधारमा हैन, मानवताको आधारमा सम्मानित होस् ।
हामी नेपालीले अब एउटा सामूहिक निर्णय गर्नुपर्छ—हामी विभाजन होइन, सहअस्तित्व चाहन्छौं । हामी धर्म होइन, मानवता प्रधान बनोस् भन्ने चाहन्छौं । हामी यस्तो राष्ट्र निर्माण गर्न चाहन्छौं, जहाँ सबै जात, धर्म, भाषा, संस्कृति र समुदायको अस्तित्व बराबरीका साथ स्वीकार गरिन्छ । अतः अबको यात्रामा मानवता हाम्रो धर्म होस् ।
(विश्वकर्मा राजनीतिक, सामाजिक अभियन्ता हुन् ।)