गुणस्तरीय र प्रविधिमैत्री शिक्षा : मन्त्री तिमिल्सिना

गोरक्ष समाचारदाता
दाङ, १४ वैशाख । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

घोराही उपमहानगरपालिका–१७ चौघेरामा रहेको पद्मोदय क्याम्पसमा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले शनिवार आयोजना गरेको प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा चौथो वर्षका विद्यार्थीलाई विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले बदलिँदो समयसँगै गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा सामुदायिक तथा निजी क्याम्पसहरूले जोड दिनुपर्ने बताएका हुन् ।

समयानुकूल शिक्षा प्रणालीमा सुधार नहुँदा सामुदाय स्तरमा रहेका क्याम्पसमा विद्यार्थी पाउनै समस्या भइरहेको भन्दै मन्त्री तिमिल्सिनाले अध्ययन गरिसकेपछि आफ्नै ठाउँमा केही गरेर खान सक्ने गरी शिक्षामा सुधार आवश्यक रहेको बताए । अध्ययन गर्दै युवा पुस्ता विदेश जाने अवस्था नरोकिँदासम्म देशको समृद्धि हुन नसक्ने बताए ।

नागरिकको जीवनस्तरसँगै देशको आर्थिक समृद्धिका लागि युवा जनशक्तिले स्वदेशमै काम गर्ने अवस्था सिर्जना हुनुपर्ने र त्यसका लागि समय सुहाउँदो रोजगारमूलक शिक्षा विद्यार्थीलाई दिन सक्नुपर्ने बताए । अहिलेको शिक्षाबाट देशमा समृद्धि प्राप्त गर्न नसकिने भन्दै मन्त्री मितिल्सिनाले भने, ‘अहिलेका विद्यार्थीहरू १२ पास गर्ने र विदेश जाने गर्न थाले ।

युवा जनशक्ति बिदेसिँदा देशको विकास हुन सक्दैन । देश विकासका लागि अध्ययन गरिसकेपछि आफ्नै ठाउँमा काम गर्ने गरी शिक्षा नीति बनाउन आवश्यक छ ।’ मानिसहरूमा चेतनाको स्तर विकास नहुँदासम्म विकास हुन नसक्ने भन्दै त्यसका लागि प्रविधिमैत्री गुणस्तरीय शिक्षाको विकासमा जोड गर्नुपर्ने बताएका थिए ।

मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रको सुधारका लागि लुम्बिनी प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको भन्दै यसले सामुदायिक विद्यालयको खस्कँदो अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा गरिएको बताए । मन्त्री तिमिल्सिनाले प्रविधिमैत्री शिक्षाको विकाससँगै लुम्बिनी प्रदेशमा कमजोर अवस्थामा रहेको साक्षर दरलाई बढाउने गरी मन्त्रालयले प्रयास गरिरहेको बताए । मन्त्रालयले गरेको प्रयास तुरुन्तै नदेखिए पनि यसले शैक्षिक गुणस्तरको विकासमा सहयोग गर्ने बताए । शिक्षामा सुधारका लागि शिक्षकसँगै संघसंस्था तथा बौद्धिकवर्गको सहयोग आवश्यक रहेकाले सहकार्य गरेर अघि बढनुपर्ने बताएका थिए ।

पद्मोदय क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष गोविन्दप्रसाद न्यौपानेले क्याम्पसको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख निश्चल आचार्यले मन्तव्य व्यक्त गरेका थिए । मन्त्री तिमिल्सिनाले पद्मोदय क्याम्पसको निरीक्षणसमेत गरेका थिए ।

स्वागत तथा बिद्याई कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थी दीपक पाण्डेको सभापतित्वमा भएको कार्यक्रमका सहभागीलाई विद्यार्थी सक्षम बिएमले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी खिमा खनाल र प्रकाश खनालले गरेका थिए । विज्ञान र व्यवस्थापन संकायमा तीन सय बढी विद्यार्थी अध्ययनरत छन् ।