गोरक्ष समाचारदाता
दाङ, १४ वैशाख । त्रिभुवननगर जेसीजको सप्ताहव्यापी कार्यक्रम घोराहीको बाह्रकुने दहमा साहित्यिक कार्यक्रमसहित समापन गरिएको छ । घोराही उपमहानगरालिका–१० नारायणपुर स्थित मानवकल्याण समाज सेवा घरमा आश्रित ५० जनालाई एक दिनको खानाको व्यवस्थापनका साथै विभिन्न सामग्री सहयोग गरेर सुरु भएको जेसीज सप्ताह सात दिनसम्म विविध गतिविधि सञ्चालन गर्दै समापन गरिएको हो ।
त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले जेसीज युवाहरूको नेतृत्व विकास र सामाजिक परिवर्तनका लागि सक्षम बनाउने महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको बताए । युवाहरू राष्ट्र निर्माणका लागि ऊर्जा र सम्भावनाका धनी भएको भन्दै नेता खनालले सिर्जनशील कार्यक्रमले युवाहरूलाई सिर्जनशीलता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वप्रति केन्द्रित गराउने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको भन्दै यसले मानिसमा सोच र चेतनाको नयाँ आयाम थप्ने काम गर्ने बताए । त्रिभुवननगर जेसीजका बोर्ड अफ ट्रस्टिजका अध्यक्ष नारायणप्रसाद अधिकारी, लमही जेसीजका अध्यक्ष रामदिन चौधरी, जोन विआर एन्ड मार्केटिङ जेसीआई इन्डियाका रविन्द्र रेड्डीले जेसीजले युवा नेतृत्व विकासमा उल्लेखनीय योगदान पु¥याएको बताए ।
जेसीजमन गतिविधिले युवाहरूमा नेतृत्व र जिम्मेवारीको भावना बलियो बनाएको वक्ताहरूको जोड थियो । कार्यक्रममा साहित्यकार डा कृष्णराज डिसी, डा. लोकराज पराजुली, दीपक शर्मा समीर, प्रकाश केसी, यम रेग्मी, सन्ध्या रेग्मी, हरिप्रसाद पौडेल, मनिसा गिरी, श्रवण नेपाली, विक्रम वली ‘नेपाली बाबु’, मनोज थापा मगरलगायतका साहित्यकारले रचना प्रस्तुत गरेका थिए ।