गोरक्ष समाचारदाता
दाङ, १४ वैशाख । नेपाल लिकर्स एसोसिएसनका केन्द्रीय सल्लाहकार गिरिराज पौडेलले व्यवसायी धरासायी हुँदा सरकारले व्यवसायमा सहयोग गर्नुपर्ने व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । राप्ती अञ्चल लिकर्स एसोसिएनको १७औँ वार्षिक साधारणसभालाई शनिवार घोराहीमा सम्बोधन गर्दै सल्लाहकार पौडेलले व्यवसाय प्रवर्धनका लागि सरकारसँगै व्यवसायीले सहयोग गर्ने गरी कोष स्थापना गर्नुपर्ने बताए ।
कुनै कारण व्यवसयायमा समस्या पर्दा व्यवसायी उठ्नै नसक्ने अवस्था रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले समस्यामा परेका व्यवसायलाई सहयोग गरी पुनः व्यवसायमा फर्किने व्यवस्था सरकारले गर्नुपर्ने बताए । व्यवसायीले आफ्नो व्यवसाय चुस्त दुरुस्त राख्न कन्चुसाइ गर्न नहुनेसमेत बताए । सल्लाहकार पौडेलले व्यवसायका क्षेत्रमा धेरै समस्या भएको र समाधानका लागि व्यावसायिक एकता आवश्यक रहेकोमा जोड दिए । पौडेलले घर बहाल कर वृद्धि, अवैध घरेलु मदिरा जस्ता कारणले मदिरा व्यवसायीहरू समस्यामा पर्ने गरेको भन्दै यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका थिए ।
घोराहीमा शनिवार घोराहीमा सम्पन्न एसोसिएनको १७औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै सल्लाहकार पौडेलले व्यावसायिका समस्या समाधानका लागि व्यावसायिक एकताबाट मात्र सम्भव हुने बताए । घरबहाल कर वृद्धिदेखि अवैध घरेलु मदिराको बिक्रीका कारण व्यवसाय प्रभावित भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले ढुक्कसँग व्यवसाय गर्ने वातावारण राज्यले बनाउनु पर्ने बताए । आर्थिक मन्दीसँगै व्यावसायिक सुरक्षा नहुँदा व्यवसायी पलायन भइरहेको भन्दै व्यवसायमा समस्या हुँदा तत्काल सञ्चालन गर्ने गरी सरकार र व्यवसायी मिलेर कोष बनाउनु पर्ने बताएका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भएका व्यवसायीलाई प्रशासनले सधैँ साथ र सहयोग गर्ने बताए । मदिरा व्यक्तिगत स्वास्थ्यसँग समेत जोडिएकाले बिक्री वितरणसँगै सचेतनामूलक कार्यक्रमसमेत गर्न आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले अवैध रूपमा हुने रक्सीको बिक्री वितरण गर्न नहुने बताए ।
दाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा राप्ती अञ्चल लिकर्स एसोसिएनका सल्लाहकार टंक बुढाथोकीले आर्थिक मन्दीका कारण मदिरा व्यवसाय समस्यामा परेको बताए । मदिरा व्यवसायलाई चलायमान बनाउन पर्यटनसँग सम्बन्धित गतिविधि बनाउनुका साथै आर्थिक रूपमा व्यवसाय सवल हुनुपर्ने भए पनि त्यस्तो हुन नसक्दा व्यवसायमा समस्या पर्दा भएको बताए । त्यसको असर एक गत वर्षसम्म एसोसिएसनमा एक सय ८० को हाराहारीमा रहेको व्यवसाय अहिले घटेर एक सय ५० मा झरेको बताएका थिए ।
साधारणसभामा बोल्ने अन्य वक्ताले मदिरा व्यवसाय टिकाउन पर्यटनसँग सम्बन्धित गतिविधि बढाउनुका साथै व्यावसायिक एकता आवश्यक रहेकोमा जोड दिएका थिए । सहभागी वक्ताले अवैध घरेलु मदिरा नियन्त्रण, सचेतनामूलक कार्यक्रम सञ्चालन र व्यवसायमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकार र प्रशासनले व्यवसायीलाई सहयोग गर्नुपर्ने बताएका थिए । यसैगरी अन्तः शुल्क वृद्धिले मूल्य बढ्न गई व्यवसाय प्रभावित भएकाले राज्यले कर नीति पुनरावलोकन गर्नुपर्ने सुझाव दिएका थिए ।
राप्ती अञ्चल लिकर्स एसोसिएनका अध्यक्ष तेजबहादुर पौडेलको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा लुम्बिनी प्रदेश मदिरा व्यवसायी संघका महासचिव शम्भु भट्टराई, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत उपेन्द्र पुन, नेपाल मदिरा व्यवसायी महासंघका सदस्य सन्देश कक्षपति, राप्ती अञ्चल लिकर्स एसोसिएसनका संस्थापक अध्यक्ष एवम् सल्लाहकार यादव शाह, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष नारायणप्रसाद भुसाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमर क्षितिज भण्डारी, कपिलवस्तु मदिरा व्यवसायी संघका अध्यक्ष रविन्द्रकुमार गुप्ता, नेपाल बजार विक्री वितरक संघका केन्द्रीय प्रतिनिधि पदम भट्टराई, दाङ वितरक संघका महासचिव नारायणप्रसाद पाण्डे, बयलडाँडा चौतारी क्लबका सचिव मधुसूदन रावतलगायतले मन्तव्य गरेका थिए ।
साधारणसभामा राप्ती अञ्चल लिकर्स एसोसिएनका महासचिव हिमाल न्यौपानेले सांगठनिक तथा कोषाध्यक्ष राजेश केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीलाई उपाध्यक्ष वामदेव अधिकारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव हिमाल न्यौपानेले गरेका थिए ।