खेमराज रिजाल
दाङ, १३ वैशाख । कर्णालीलाई शब्दमा बुझाउन सकिने रहेनछ, भिडियो अधुरो, चित्रले समेट्नै नसक्ने । शब्द र तस्बिरले बुझिदिनुहोला भन्ने अपेक्षा सहित तैपनि कर्णाली लेख्दैछु । वैशाखे झरी फाटेको दुई दिनपछि हाम्रो कर्णाली यात्रा सुरु भएको थियो । चालकदलसहित अठार जना ।
हाम्रो यात्राको अन्तिम गन्तव्य थियो, मुगुको रारा । सात दिनको समयसीमा । तोकिएको समयमा तोकिएका सबै स्थान त हामीले भ्रमण गर्न पाएनौँ । तैपनि अधुरो कर्णाली यात्रा सुरु भयो, सुर्खेतको काँक्रेविहारबाट । कर्णाली प्रदेशकै गौरवको ऐतिहासिक एवम् पर्यापर्यटकीय स्थल थियो, काँक्रेविहार । प्राकृतिक सुन्दरताले भरिएको मनोरम काँक्रेविहारको आफ्नै नियम रहेछ, साँझं पाँच बजे बन्द हुने, त्यो भन्दा एक घण्टा ढिलो पुगिरहँदा काँक्रेविहार मन्दिर परीषरभित्र छिर्न नपाए पनि हामीले ग्रिलको बारबाट नियाल्यौँ, काक्रविहारलाई । मन्दिर बन्द भए पनि प्राकृतिक मनोरम परिदृश्य भने खुल्ला थियो ।
स्थानीय विनोद चौधरीले हामीलाई सुर्खेतका प्रमुख पर्यटकीय एवम् धार्मिक स्थल घुमाउन गाइड गरिरहेका थिए, झिसमिसे साँझमा । उनी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सामुदायिक होमस्टेका अध्यक्ष हुन् । हामी हतारोमा बुलबुले खुलै छ कि भनेर कुंद्यौँ तर पुग्दाखेरि गेटभित्रबाट आउनलाई मात्र खुला थियो, प्रवेश होइन । बुलबुले जङ्गलको बिचमा रहेछ, तारबार नभएको र जङ्गली जनावरको आक्रमणको जोखिम हुने भएकाले त्यहाँ घुम्न साँझ परेपछि निषेध रहेछ । सुर्खेतमा खुलेको थियो, देउतीवजै मन्दिर । एउटा इतिहास बोकेको त्यो मन्दिरमा भने हामीले साँझको आरती हेर्नेसम्मको धोको थियो तर त्यो दिन आरती रहेनछ । मन्दिरमा फोटो खिचिसकेपछि हामी बासस्थान सामुदायिक होमस्टे काँक्रेविहारमै फर्कियौँ, उनै विनोदका साथमा ।
उनले हामीलाई तीन घरहरूमा सुत्ने व्यवस्थापन गरे । खाना भने उनकै होमस्टेमा खायौँ । घोराही—तुलसीपुर—पुरन्धारा—सुर्खेतको उत्साहित बस यात्रा र सुर्खेतका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्ने हाम्रो त्यो दिनको उद्देश्य करिबकरिब अधुरै रह्यो । भोलिदेखिको यात्रा गन्तव्य समयमै तय गरौँला भनेर हामी सामुदायिक होमस्टेको विछ्यौनामा निदायौँ । महिला आठ जना र पुरुष गाडीका स्टाफसहित १० जनाको टिम त्यो रात स्थानीय परिकारमै रसस्वादन गरी पहिलो दिनको यात्रा सकियो ।
सुर्खेतबाट बिहानै दैलेखतर्फ उक्लिएका हामीलाई दैलेखको गुराँस गाउपालिकाले स्वागत गर्न आतुर थियो । जब हामी सुर्खेतबाट दैलेख जिल्लाको सीमाना प्रवेश ग¥यौ, डिभिजन वन कार्यालयको एउटा स्वागत बोर्डले हामीलाई दैलेखमा स्वागत ग¥यो । बोर्डमा लेखिएको थियो, ‘गुराँस हाम्रो सम्पदा हो, यसलाई संरक्षण गरौँ र गुराँसको महत्वलाई आत्मसात गरौँ ।’ सम्झेँ प्राकृतिक सम्पदालाई प्रदर्शन गरेर पर्यटक तान्न विश्वको समृद्ध मुलुक अमेरिका पनि पछि परेको छै्रन । ‘उसले करिब ५ सय चेल्सीका बिरुवा वासिङ्टन डिसी सहरमै रोपेर ती चेल्सीका फूल हेर्न हजारौँ पर्यटक आउछन् रे’–ग्रिन्सवोरो नर्थ क्यारोलिनाको एक विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक मेरा भाइ नारायण भट्टराईले भनेका थिए । चेल्सी प्लान्ट भनेको हाम्रा बारीका ढिकमा फुल्ने पैयूँ हो । पैयूँको फूलको परिदृश्य हेर्न पर्यटक आउँदा रहेछन् ।
‘हामीले पनि गुराँसलाई पालिकाको गौरवको प्राकृतिक सम्पदा बनाएका छौँ, तपाईंहरूले सायद लालीगुराँस भन्नुहुन्छ, हामीले गुराँस मात्रै भन्छौँ, किनकि यहां सेतो गुराँस पनि पाइन्छ’, दैलेखमा भेटिएका पुराना पत्रकार अमर सुनारले भनेका थिए । पहिला गुराँसेडाँडाका रूपमा चिनिने त्यो स्थानलाई सङ्घीयता आएसँगै पालिकाको नामाकरण गर्दा गुराँस गाउँपालिका बनाइएको रहेछ । हो मैले सम्झेँ, हामीसँग पनि तुलसीपुरको छिल्लीकोटमा विश्व सम्पदासूचीमा रहेको सुगन्धकोकिलाको जङ्गल छ । बंगलाचुलीमा महत्वपूर्ण वनस्पति एवम् मसला टिमुरको जङ्गल छ, चिउरी, रिठा, ऐसेलु, काफल पनि त छन् तर प्राकृतिक सम्पदाको नाममा हामीले पालिकाको नामाकरण गर्न कञ्जुस्याइँ ग¥यौँ ।
हामी थियौँ दैलेखमा, मन रारा पुगिसकेको थियो । ‘शरीर पुग्न कति समय लाग्छ होला ? सहयात्री सौभाग्य बिसीले गाडीका स्टाफलाई सोधे । ‘सायद हामी आज रातिसम्म कालीकोटको नाग्म बजारसम्म पुग्ने छौँ’, गाडी स्टाफ भरत केसीको यो भनाइले हामीलाई त्यो दिन रारा पुग्न नसकिनेमा ढुक्क बनायो । दैलेख छिचोल्दै गर्दा राकम कर्णालीसम्मको बस यात्रा त ठिकै थियो तर हामी विस्तारै कालीकोट पछ्याउँदै जाँदा भने यात्रा असहज बन्दै गयो ।
कारण थियो, पहाडको चट्टान फोडेर निर्माण गरिएको ‘वन–वे’ सडक । कालीकोटको सदरमुकाम मान्म पुग्दासम्म हामी त्यति साह्रो अत्तालिएका थिएनौँ । मान्ममा एक–एक कप कालो–चिया पिएपछि नाग्मको यात्रा । जुन यात्रा यो दिनको अन्तिम यात्रा ब्रेक थियो । जति अघि बढ्दैछौँ, उति विकट पहाड कोप्रेर निर्माण गरिएका साँघुरा सडक । कालीकोटमा स्थानीयले भनेका थिए, ‘तीन घण्टामा पुगिहाल्नुहुन्छ नाग्म ।’ तर, हामी समयमा पुग्न सकेनौँ । बस रोकेर अठार यात्रु बस्ने कुनै बजार थिएन, नाग्म वर । साँझ पर्दै गर्दा सडक साँघुरिँदै थियो । दुईवटा गाडी ‘क्रस’ हुन सक्ने सडक थिएन, त्यो ।
यो समय त्रासादीपूर्ण यात्राको थियो । तैपनि मैले ढिकपट्टिको सिट छाडेको थिएन, सँगैको सिटमा सौभाग्य । नामै काफी छ, सौभाग्य । उनलाई साँघुरो बाटोको त्रासले भन्दा राराको आकर्षणले तानिरहेको थियो । ‘तपाईं साँघुरो सडक किन सम्झिरहनुहुन्छ, रारा पुग्दाको दृश्य सम्झनुस् न !’, कति मिठो सान्त्वना । मैले भुलिदिएँ जोखिमपूर्ण सडक तर अरू सहकर्मीहरू डराइरहेका थिए । सहयात्री कुलबहादुर बुढा मगर त गाडीको सिट छाडेर गल्लीमै टुसुक्क बस्न थाले ।
खाली उनको नजर सडकको काल्नातिर । ढिकतिर त उनले हेर्नै सक्दैनथे । सहयात्री बिमलाको पनि हालत उस्तै थियो । कच्ची सडक यात्रा गरेर खप्पिस बनेकी सपना केसी पनि डराएकी थिइन्, त्यो बेला । ‘बरु यही बसमा रात गुजारौँ, यस्तो रातिमा यति अप्ठेरो सडकयात्रा रोकौँ’, तर त्यो विकल्प थिएन हामीसँग । हामीले गाडी सडकमै रोकिरहँदा अर्को एउटा मोटरसाइकल पनि पास हुनसक्ने अवस्था थिएन, त्यहाँ ।
हिमालकी रानी रारा पुग्ने हाम्रो रोमाञ्चक यात्रा रातको साढे नौ बजे मात्र कालीकोट र जुम्लाको सीमाना नाग्ममा पुग्न सफल भयो । चालक दलले हामीलाई ढुक्क बनाए । आज राम्रोसँग सुतौँ, भोलि बिहानै जुम्ला हुँदै मुगुको रारा पुग्नु पर्ने छ तर बाटो अलि फराकिलो छ । आजको जस्तो असहज यात्रा हुँदैन सायद, भोलि । हामी कालीकोटको नाग्म बजारमा कर्णाली किनारको एउटा होटलमा कर्णालीको छालसँगै निदायौँ । आहा ! भोलिको गन्तव्य रारा … ।