पर्यटन प्रवर्धनबाट आयआर्जन गर्दै सामुदायिक वन

हिमाल महरा
दाङ, १३  वैशाख । पर्यटन प्रवर्धनका माध्यमबाट कुलपानी सामुदायिक वन उपभोक्ता समूहले एक वर्षको अवधिमा १० लाख रुपैयाँ बढी आम्दानी गरेको छ ।

गढवा गाउँपालिका–१ बडहरामा रहेको कुलपानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको सामुदायिक वन समूहको पर्यापर्यटन विकास तथा वन संरक्षण संवर्धन र सदुपयोगमा समूहले गरेका अभ्यासबारे पत्रकार महासंघ दाङ शाखासँगको अन्तरक्रिया कार्यक्रममा वन समूहले एक वर्षको अवधिमा १० लाख ८० हजार चार सय ५६ रुपैयाँ आयआर्जन गर्न सफल भएको जानकारी गराइएको थियो ।

जसमा पार्क घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकबाट पाँच लाख ११ हजार, पार्कमा फोटो खिन्ने क्यामेराबाट एक लाख २८ हजार, डुङ्गा सञ्चालनबाट एक लाख २३ हजार, पिक्निकका लागि भाडा प्रयोगबाट ८० हजार गरी दश लाख ८० हजार चार सय ५६ रुपैयाँ आम्दानी भएको वन समूहका अध्यक्ष नवराज शर्माले जानकारी दिएका छन् । वन संरक्षणसँगै सीमसार क्षेत्रलाई पर्यटन प्रवर्धनसँग जोडेर विकास गरिएको र उक्त ठाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनका लागि घुमफिर गर्ने गन्तव्यका रूपमा विकास भएको वन समूहका अध्यक्ष शर्माले जानकारी दिएका छन् ।

अध्यक्ष शर्माका अनुसार सिमसार क्षेत्र संरक्षणसँगै ताल निर्माण, तालमा डुङ्गा, हरितपार्क, विभिन्न जङ्गली जनावर तथा पन्छीलगायतका पूर्वाधार निर्माण गरिएकाले उक्त ठाउँमा घुम्न तथा पिक्निक खानका लागि मानिस आउने गरेको बताए । अध्यक्ष शर्माले पार्कलाई व्यवस्थित गर्दै थप आकर्षण बढाउन उक्त क्षेत्रमा काठबाट बनेका सामग्रीसहितको सङ्ग्रहालय बनाउने तयारी रहेको, वनलाई आयआर्जनसँग जोड्न फलपूmलका बिरुवादेखि पातपतिङ्गर सङ्कलन गरी प्राङ्गारिक मल उत्पादन गर्ने, कुलपानी हरितपार्क तथा धार्मिक पर्यापर्यटन क्षेत्र करिब २० हेक्टर क्षेत्रमा वृद्धि गर्ने, जैविक विविधताको संरक्षण गर्दै समुदायले नै वन क्षेत्रभित्र मिनी चिडियाखाना निर्माण गर्ने र जङ्गली जनावर संरक्षण गर्ने गरी योजना बनाइएको बताएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक वन समूह अन्तर्गत कुलपानी सामुदायिक वन समूहले वन क्षेत्रको संरक्षणसँगै पर्यापर्यटनका माध्मबाट राम्रो आयआर्जन गरेर जिल्लामा नमुना काम गरेको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले सामुदायिक वनमध्ये कुलपानी सामुदायिक वन उपभोक्ता समूहले नमुना काम गरेका कारण जिल्लामा अन्य वन समूहभन्दा फरक हुन सफल भएको बताए ।  वन क्षेत्र संरक्षण र विकासका लागि जिल्लामा धेरै सामुदायिक वन समूहहरू गठन भएको र तीमध्ये केही सामुदायिक वनले वन क्षेत्र संरक्षणसँगै पर्यटनसँग जोडेर नमुना अभ्यास गरेको बताए । नमुना काम गर्ने सामुदायिक वनसँगै अन्य संघसंस्था, समूहहरूसँग पत्रकार महासंघ जोडिएर राम्रा कामको प्रचारप्रसारमा सहयोग गर्ने बताए ।

वन समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक नारायणप्रसाद शर्माले सकारात्मक सोचसँगै वन समूहले गरेका असल कामलाई सञ्चार क्षेत्रले बाहिर ल्याउनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्वअध्यक्ष सुदीप गौतमले पर्यटन प्रवर्धनका लागि कुलपानी सामुदायिक वन समूहले नमुना काम गरेको भन्दै यसको प्रचारप्रसार र विकासका लागि सञ्चार माध्यमको सहयोग रहने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए । वन समूहका उपाध्यक्ष राकेश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दिलवती विकले गरेकी थिइन् ।