कम्पोस्ट मल उत्पादन गर्दै सामुदायिक वन

टेकबहादुर पुन
देउखुरी, १२ वैशाख । पातपतिङ्गर (मिचाहा) व्यवस्थापन सामुदायिक वन क्षेत्रका लागि चुनौती बनिरहेका बेला देउखुरीको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गर (मिचाहा)बाटै ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ । सामुदायिक वनले डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीको साझेदारीमा पातपतिङ्गर व्यवस्थापन गर्ने उद्देश्यले कम्पोस्ट मल उत्पादन थालेको हो ।

पातपतिङ्गरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी अजम्मरी सामुदायिक वन अघि बढेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । सामुदायिक वनले दिगोरूपमा पातपतिङ्गर व्यवस्थापनलाई आयआर्जनसँग जोडेर कम्पोस्ट मल उत्पादन थालेको हो । ‘पातपतिङ्गर व्यवस्थापनलाई दिगो बनाउन आम्दानीसँग जोडेर कम्पोस्ट मल उत्पादन थालेका हौँ’, अध्यक्ष रिजालले भने, ‘दिगो योजना अनुसार कम्पोस्ट मल उत्पादनमा जोडिएका छौँ । सामुदायिक वन अध्ययन केन्द्रको सहयोगमा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले गत वर्ष वन व्यवस्थापनमा आधारित आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।’

मल उत्पादनमा सहज र आम्दानी समेत हुने भएपछि वनजङ्गलमा रहेका सुकेका पातपतिङ्गरबाट कम्पोस्ट मल उत्पादन थालेको सामुदायिक वनका अध्यक्ष रिजालले बताए । हालै मात्र वन समूहमा आबद्ध सात जनाले वनजङ्गलमा सुकेका पात सङ्कलन गरी सामुदायिक वन क्षेत्रमै मल उत्पादनमा सक्रिय बन्दै गएका छन् । सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिसाएर कम्पोस्ट मल तयार गरिन्छ । पात सङ्कलनबाट थोरै भए पनि आम्दानी हुने र घरखर्च चलाउन सहज भएको स्थानीय मैते पुनले बताए ।

वन क्षेत्रबाट सङ्कलित पातपतिङ्गरबाट कम्पोस्ट मल उत्पादन भइरहेको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले बताए । उनले भने, ‘वनजङ्गलमा सकेर रहेका पातपातपतिङ्गर व्यवस्थापन गर्ने कार्यले सुख्खा समयमा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा समेत सहयोगी बनेको छ ।’ प्राङ्गारिक मल उत्पादन आयआर्जनसँग जोडिएकाले गरिबी न्यूनीकरणमा टेवा पुग्नुका साथै रासायनिक मलका कारण बिग्रिएको माटोमा ऊर्जा दिने गरेको छ । मिचाहा प्रजातिको झाडी फाँड्दै मल बनाउँदा राम्रो रोजगारीको सिर्जना भएको छ ।

सामुदायिक अध्ययन केन्द्रले गत वर्ष अजम्मरी सामुदायिक वनलाई पातपतिङ्गर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरी अजम्मरी सामुदायिक वनलाई हस्तान्तरण गरेको थियो । कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको जोहोका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगसँगै अघि बढेको छ । यसले आवश्यक गोबर मलको माग पूरा हुने तथा छाडा चौपाया व्यवस्थापनको काममा सहयोग पुग्ने लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।

पातपतिङ्गर (मिचाहा) व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल सामुदायिक वन उपभोक्ता सदस्य तथा किसानलाई सहुलियत दरमा उपलब्ध गराइने बताइएको छ । समग्रमा कार्यक्रमले वन क्षेत्रका पातपतिङ्गर (मिचाहा) व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका बरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालको भनाइ छ ।

योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्र्यानिक उत्पादनमा समेत सहयोग पु¥याउने डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सहायक वन अधिकृत हरि पौडेलले बताए । उनले मिचाहा प्रजाति नियन्त्रणसँगै आयआर्जन जैविक विविधता व्यवस्थापन कार्यक्रम अन्तर्गत प्राङ्गारिक मल उत्पादन प्रभावकारी सावित भएपछि देउखुरीका सामुदायिक वनहरू मिचाहा प्रजाति नियन्त्रणमा अग्रसर देखिएको बताए ।

डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका बरिष्ठ फरेस्टर चिरञ्जीवी खनालले मिचाहा प्रजातिबाट प्राङ्गारिक मल उत्पादन गरी त्यसबाट आयआर्जन गर्न सकिने भएकाले मिचाहा प्रजाति व्यवस्थापनमा उपभोक्ताको रुचि देखिएको बताए । आफ्नो वनमा उत्पादित प्राङ्गारिक मलमध्ये ७५ प्रतिशत मल आफूले प्रयोग गर्ने गरेको लमही नगरपालिका वडा नं. ५ का देवमणि चौधरीले बताए ।