अमरराज आचार्य
दाङ, १२ वैशाख । यतिबेला नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान सकिएर कक्षा सञ्चालन हुनुपर्ने हो तर सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु नै हुन सकेको छैन । जिल्लाका केही विद्यालयले भर्ना अभियान सञ्चालन गरे पनि कक्षा सञ्चालन गर्न सकेका छैनन् । सामुदायिक विद्यालयका भर्ना अभियान सञ्चालन नहुँदा विद्यार्थीहरू संस्थागत विद्यालयमा जान थालेका छन् ।
‘सरकारी विद्यालयमा नाम लेखाउने अनि पढाइ पनि हुन सकेको छैन, पढाइ कहिले हुने हो वा होइन त्यो पनि थाहा छैन’, घोराही उपमहानगरपालिका–१५ निवासी अभिभावक सन्तोष चौधरीले भने, ‘बालबालिकाले पनि निजी विद्यालयमा पढ्ने रहर गरेपछि नाम लेखाइदिएँ ।’ निजी विद्यालयमा बालबालिकाको नाम लेखाइदिनु बाध्यता भएको उनले बताए । बालबालिकालाई कहिलेसम्म पढ्न नपठाएर घरमा राख्ने भन्दै उनले बोर्डिङमा नाम लेखाइदिएको बताए । ‘सरकारीमा भन्दा बोर्डिङ स्कुल महँगो छ तैपनि बाध्य भएर नाम लेखाइदिएको हुँ’, उनले भने, ‘सरकारी विद्यालय कहिले खुल्ने भन्ने अन्योलताले बालबालिकालाई कहाँ पढाउने भन्ने भएको छ ?’ संस्थागत विद्यालयमा पठाउनै नसक्ने अवस्था भएका अभिभावकले सामुदायिक विद्यालय कहिले सञ्चालन हुन्छन् भनेर बाटो हेरिरहेका छन् ।
घोराही उपमहानगरपालिका–१८ मा रहेको आधारभूत विद्यालय गिठेपानीले विद्यालय भर्ना अभियान सञ्चालन गरे पनि कक्षा सञ्चालन भने गरेको छैन । ‘विद्यालय भर्ना अभियान सञ्चालन गरे पनि कक्षा सञ्चालन हुनसकेको छैन’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले भने । शिक्षक आन्दोलनले कक्षा सञ्चालन हुन नसकेको उनको भनाइ छ । अहिले विद्यालयमा कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थीहरू संस्थागत विद्यालयमा जाने गरेको उनले बताए । ‘सामुदायिक विद्यालयका विद्यार्थी संस्थागत विद्यालयमा जाने सङ्ख्या बढेको छ’, उनले भने । जिल्लाका केही पालिकाले भर्ना अभियान सञ्चालन गर्न भनेर निर्देशन दिए पनि त्यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । केहीले भर्ना अभियान सञ्चालन गरे पनि औपाचारिकतामा मात्र सीमित रहेको पाइएको छ । निर्देशन दिने पालिकाहरूको कार्यान्वन पक्ष भने फितलो देखिएको छ । विगतका वर्षमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका थिए तर शिक्षक आन्दोलनकै कारण यस पटक भने भर्ना अभियान अन्योलमा परेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेको थियोे । मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई सातबुँदे अनुरोधसहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ । विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चितता हुने गरी भर्ना अभियान सञ्चालन गर्न÷गराउन भनिएको छ । सरकारले नयाँ वर्षको दिनदेखि नै नयाँ भर्ना अभियान सुरु गरेर सबै शिक्षक तथा कर्मचारीलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ । वैशाख २ गतेदेखि देशभर घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका छ तर विद्यार्थी भर्ना अभियान अलपत्र बनेको छ ।
शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान प्रत्यक्ष रूपमा प्रभावित भएको हो । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । सामुदायिक विद्यालयका शिक्षकहरू विगत २३ दिनदेखि आन्दोलन गर्दै आएका छन् । महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पु¥याउन भन्दै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने बताएको छ । सोही अनुरूप वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ । सरकारले यथाशीघ्र शिक्षा ऐन ल्याएर विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ कदम चाल्नुपर्ने बताउँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन जारी नभएसम्म शिक्षकहरू विद्यालय नफर्कने अडान लिएको बताएका छन् ।