बालाराम खड्का
तुलसीपुर, १२ वैशाख । सत्ता र शक्तिमा बस्नेहरूकै कमजोरीले लोकतन्त्र खतरामा परेको हो कि भन्ने चिन्ता अगुवाहरूले व्यक्त गरेको छन् । उनीहरूले मुख्य दलहरू लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्नुपर्ने भन्दै लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन कोही पनि लाग्न नहुने बताए । मान अधिकार तथा शान्ति समाज दाङले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रमका सहभागीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा गर्न शासन र सत्तामा बस्ने नेता अगुवाहरू पारदर्शी र जवाफदेही बन्नुपर्ने बताएका हुन् ।
कार्यक्रमका सहभागीले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै अन्य तानासाही स्वकार्य नहुने अभिव्यक्ति दिएका थिए । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति कोमल डिसीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा भएको नागरिक संवाद कार्यक्रममा बोल्दै रेग्मीले लोकतन्त्र खतरामा परेको बताए । उनले सत्ता र शक्तिमा बस्नेहरूबाटै लोकतन्त्र खतरामा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै दलहरूलाई सच्चिन आग्रह गरे । उनले सुशासनको प्रत्याभूति हुनुपर्ने भन्दै दण्डहीनता अन्त्य हुनुपर्ने बताए ।
‘सुशासन छैन भन्ने भर्खरै प्रधानमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले देखाएको छ’, उनले भने । रेग्मीले अहिलेसम्म पनि प्रधानमन्त्री सरकार र सरकारमा बसेका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको बताए । ‘पारदर्शिता, जवाफदेहिता कसैमा छैन, अहिलेका दल र नेताहरूले आलोचना सहनै सक्दैनन्’, रेग्मीले भने । उनले संविधानलाई कार्यान्वयन गर्नुपर्ने भन्दै दलहरूमा आन्तरिक प्रजातन्त्र लोकतन्त्र नभएको बताए । ‘दलहरूमा वैचारिक गुट हुन्छ तर गलतलाई गलत भन्न नसक्दा दलहरू अधिनायकवादी भएका छन्’, उनले भने । रेग्मीले अहिले पनि विभेद अन्त्य नभएको बताउँदै सामाजिक एकता कायम गर्न संविधानको मर्म अनुसार दलहरू चल्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीले दलहरू नागरिकको समस्या समाधानमा भन्दा सत्ता स्वार्थकेन्द्रित भएको बताएका थिए । सहभागीले विकास र सुशासनमा ध्यान दिँदै अवस्था सुधारको लागि दलहरू एकीकृत हुन आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्यले मानव अधिकारबिनाको लोकतन्त्र अपुरो हुने बताए । मानव अधिकार कमजोर भयो भने लोकतन्त्र कमजोर हुने उनले बताए । ‘आफूले गर्दा सबै ठिक अरूले गर्दा बेठिक भन्ने बानीले समस्या उत्पन्न हुन्छ, त्यसैले सबैले आफ्नो ठाउँबाट लोकतन्त्रलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ’, उनले भने । आचार्यले लोकतन्त्र व्यवस्था अनुरूप अहिले जनताको अवस्था बदलिन नसक्दा आम असन्तुष्टि चुलिनु स्वाभाविक रहेको बताए । उनले लोकतन्त्र आचरण, सोच र कार्यशैलीमा देखिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य नवराज लामिछानेले लोकतन्त्र अब युवा तथा जवान अवस्थामा पुगेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन हरेक पक्ष तत्पर रहनु आग्रह गरे । अहिले देखिएको राष्ट्रिय समस्याको विषयमा सबै एकठाउँमा उभिन आवश्यक रहेको बताएँदै लामिछानेले लोकतन्त्रको नाममा अधिकार खोज्दै गर्दा दायित्व पनि निभाउन आवश्यक रहेको बताए । उनले मानव अधिकार शान्ति र लोकतन्त्र विकासलाई अगाडि बढाउनु पर्ने बताए । यसैगरी नेकपा माओवादी केन्द्रका डिल्ली अधिकारीले दलहरूले सुशासनको पक्षमा काम गर्न नसकेको कुरा सत्य भएको बताए ।
उनले राजनीतिक दलकै कारण तानासाही जुर्मुराउन खोजेको भन्दै तानासाही व्यवस्थामा देश जाने खतरा बढेको बताए । उनले देशको शासकीय स्वरूप फेर्नुपर्ने धारण व्यक्त गरे । ‘सुशासन हाम्रो दल होस् वा कांग्रेस, एमाले या अन्य दलमा पनि हुनुपर्छ, त्यो मैले भएको पाएको छैन’, उनले भने । कार्यक्रममा महिला अधिकारकर्मी दण्डहीनताको अन्त्यसँगै सुशासनको प्रत्याभूति हुनुपर्ने बताइन् । उनले लोकतन्त्र व्यावहारिक रूपमा जनताले महसुस गर्न पाउने हुनुपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र खड्का, अधिकारकर्मी देवा डाँगी, छवि विश्वकर्मा, पत्रकार दीप्तिशिखा चौधरी, निरला अर्याल, दीपक बोहरा, जितसागर जिमएम, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव तुलसीराम सुनारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अधिकारकर्मी निर्मल नेपालीले सुशासन र सशक्तीकरणले लोकतन्त्रलाई स्थायी बनाउँछ ः कुशासन र भ्रष्टाचारले लोकतन्त्रको आयु घटाउँछ भन्दै मानव अधिकार तथा शान्ति समाजद्वारा तयार पारेको अवधारणापत्र पेस गरेका थिए ।
अवधारणापत्रमा ऐतिहासिक जनआन्दोलन, प्रतिगमनले टाउको उठाउने विभिन्न कारण, पूर्वराजावादी मोर्चा, अराजकतामार्फत आकार हासिल गर्ने र आयतन विस्तार गर्ने प्रयासलगायत लोकतन्त्रको भविषय सुरक्षित गर्न मानव अधिकार तथा शान्ति समाजका सुझावसहितको कार्यपत्र पेस गरेका थिए । कार्यक्रमको सहजीकरण शान्ति समाज दाङका माधव बस्नेतले गरेका थिए ।