पुरुष बिदेसिएपछि गाउँको विकास निर्माणमा महिला

भरत विश्वकर्मा
रोल्पा, १० वैशाख । देशमा रोजगारीको अवसर छैन भन्दै दिन प्रतिदिन बिदेसिने युवाको सङ्ख्या बढ्दो क्रममा छ । गाउँका विकास निर्माणमा भने कामदारको तथा दक्ष जनशक्तिको अभाव हुन थालेको छ । गाउँमा हुने विकास निर्माणको काममा कमै मात्रामा युवाको सहभागिता देख्न सकिन्छ । पछिल्लो समयमा विकास निर्माणको काममा महिलाको तुलनामा पुरुषको सहभागिता कम देख्न सकिन्छ ।

पुरुषहरू धन कमाउनका लागि विदेश पलायनले गाउँघरमा हुने विकास निर्माणका काममा पुरुषको सहभागिता न्यून छ भने गाउँघरका विकास निर्माणका विभिन्न योजनामा महिला अगाडि बढेका छन् । जिल्लामा विकास निर्माणका काम धमाधम भइरहेका छन् । चालु आर्थिक वर्षका विकास योजनाको काम असार मसान्त अगावै सक्नुपर्ने बाध्यता छ । अहिले स्थानीय तहहरूमा संघ, प्रदेश र स्थानीय सरकारका विकास योजना समयमा सक्नुपर्ने चटारो छ । रोल्पाका अधिकांश स्थानीय तहमा महिलाले गाउँको बाटो, सडक, खानेपानी, स्वास्थ्य संस्था एवम् विद्यालयका भौतिक पूर्वाधार निर्माणका काम गर्ने गरेका छन् । जिल्लामा संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित विभिन्न विकासे योजनामा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको हो ।

गाउँघरका विकास निर्माणमा पुरुषको सहभागिता कम हुनुमा गाउँमा लामो समयका लागि रोजगारीको अवसर नभएको स्थानीय बताउँछन् । गाउँघरमा छोटो समयका लागि मात्र विकास निर्माणका काम हुने हुँदा कम समयका लागि मात्र रोजगारी पाइने लुङ्ग्री गाउँपालिकाका स्थानीय दिलबहादुर पुनले बताए । कम समयका लागि मात्र रोजगारी पाइने हुँदा लामो समयसम्मका लागि कामको खोजीमा यहाँका जनशक्ति बाहिर जानुपरेको उनले बताए । ‘घरको उत्पादनले पुग्दैन, परिवार पाल्नै प¥यो, त्यसका लागि कमाउन बाहिर जानुपर्ने बाध्यता छ’, उनले भने, ‘रोजगारीका लागि मेरो छोरो पनि भारत गएको छ ।’ गाउँमा रोजगारीको पर्याप्त अवसर नभएको र यहाँको कृषि उत्पादनले वर्ष दिन पनि खान मुस्किल हुने यहाँका स्थानीय बताउँछन् ।

सोही ठाउँकी झमी सुनार हिजोआज गाउँमा भएको विकास निर्माणको काममा व्यस्त छिन् । श्रीमान् वैदेशिक रोजगारीमा गएकाले घरखर्च जोहो गर्ने उद्देश्यले गाउँको काममा लागेको उनले बताइन् । फुर्सदको समयमा घरखर्च जोहोको लागि काममा लागेको उनको भनाइ छ । गाउँमा पर्याप्त सिप सिकेको दक्ष जनशक्ति नपाइनु समस्याको रुपमा देखिनुमा यहाँ लामो समयसम्मका लागि रोजगारी (दिगो रोजगारी) नहुनु प्रमुख समस्याको रूपमा रहेको छ ।

सरकारले सानातिना विकास योजना सञ्चालन गर्दा यहाँका नागरिकले लामो समयसम्मका लागि पर्याप्त रोजगारी पाउनसकेका छैनन् । गाउँमै पर्याप्त रोजगारी सिर्जना नहुँदा युवा बिदेसिने क्रम बढ्दो छ । जिल्लाका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र छ । रोजगार सेवा केन्द्रबाट दिइँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि पुरुषको सहभागिता कम भएको पाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य रहेको लुङ्ग्री गाउँपालिकाका रोजगार शाखा प्रमुख सुन्दर घर्तीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम छोटो समयका लागि हुने भएकाले पुरुषको सहभागिता कम भएको उनको अनुमान छ । ‘पुरुषहरू धन कमाउन प्रदेश जाने क्रम बढ्दो छ, त्यसैले होला यस कार्यक्रममा महिलाको सहभागिता बढ्दो क्रममा छ भने पुरुषको घट्दो क्रममा छ’, उनले भने ।

वैदेशिक रोजगारीले गर्दा गाउँमा दक्ष कामदारको अभाव हुने अवस्था बनेको उनले बताए । गाउँमा सञ्चालन हुने विकास निर्माणका काममा छोटो समयका लागि मात्र रोजगार प्राप्त हुन्छ । गाउँमा काम गरे छोटो समयका लागि मात्र रोजगार पाइने हुँदा यहाँका अधिकांश युवा पोखरा, पर्वत, काठमाडौंलगायतका सहरमा कामको खाजीमा जाने गर्दछन् । यसका साथै भारत, साउदी, कतार, दुवै, मलेसियालगायतका देशमा पनि जाने क्रम बढ्दो छ ।