‘सामना’ जनसाङ्गीतिक अभियान हुने

श्रवणकुमार यादव
दाङ, ११ वैशाख । सामाजिक चेतनाको स्वर सामना अभियान वैशाख १२ गतेदेखि दाङबाट सुरु हुने भएकोे छ ।

समाजवादको पक्षमा जनचेतना फैलाउने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी निकट सामना परिवारले सुरु गर्न लागेको समाजवादी सांस्कृतिक अभियान वैशाख १२ गतेबाट घोराहीमा सुरु हुँदैछ । ‘हामी गाइरहेका छौँ, क्रान्तिका गीत’ भन्ने नारासहित अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिन वैशाख १३ गते तुलसीपुरमा कार्यक्रम आयोजना गरिने आयोजकले जनाइएको छ ।

कार्यक्रममा जनवादी गीतकार तथा सङ्गीतकार माइला लामा, पूर्वमन्त्री एवम् गीतकार तथा सङ्गीतकार मणि थापा, सुभाषसिंह खत्री, रमण धामी, आरोह नेपालीलगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा आख्यान, नाटक, गीत र नृत्य जस्ता सांस्कृतिक प्रस्तुति समावेश गरिने छन् । सामना परिवारका अनुसार अभियान दाङसहित बाँके, बर्दिया, कैलाली हुँदै कञ्चनपुरसम्म सञ्चालन गरिनेछ ।