अमरराज आचार्य
दाङ, १० वैशाख । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को ९ महिनामा करिब एक हजार सातसय घरेलु तथा साना उद्योग बन्द भएका छन् । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका गरी एक हजार छ सय ९५ वटा घरेलु तथा साना उद्योग बन्द भएका हुन् ।
यो सङ्ख्या घरेलु तथा साना उद्योग कार्यालयसम्म पुगेर बन्द गराउनेहरू उद्योगकको मात्र हो । उद्योग तथा वाणिज्य फर्म बन्द रहेका तर कार्यालयसम्म नपुग्नेहरूको सङ्ख्या पनि धेरै रहेको व्यवसायीले बताएका छन् । बैंकको ऋणका लागि पनि वास्तविक रूपमा बन्द भए पनि कागजी रूपमा बन्द नगराउने गरेको आर्थिक क्षेत्रका अगुवाहरू बताउँछन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार आर्थिकमन्दीको प्रभाव, युवा जनशक्ति विदेश पलायनले उद्योग बन्द हुन थालेका हुन् ।
यो अवधिमा दुई हजार पाँच सय ७९ वटा उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ । प्रदेशका पहाडी जिल्लाहरूमा खुल्नेभन्दा बन्द हुने उद्योग बढी रहेका छन् । यसरी उद्योग बन्द हुने क्रम बढ्दै गए बजारमा समस्या उत्पन्न हुने आर्थिक क्षेत्रका जानकार बताउँछन् । उद्योग बन्द हुने क्रम रोक्न समयमै ध्यान दिनुपर्ने भए पनि सरकार र निजी क्षेत्रको नेतृत्वले ध्यान नदिएको जानकार बताउँछन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार छ हजार चार सय ५७ उद्योग नवीकरण गरिएका छन् भने यही अवधिमा वाणिज्यतर्फ तीन हजार ९८ वटा फर्म दर्ता भएका छन् । यसैगरी सात हजार एक सय नौ वटा फर्म नवीकरण भएका छन् भने वाणिज्यतर्फ एक हजार छ सय ३१ वटा वाणिज्य फर्म बन्द भएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिएका छन् ।
प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा बढी उद्योग दर्ता भएका छन् । यसमा छ सय ८० उद्योग दर्ता भएका छन् भने नौ सय ४५ वाणिज्य फर्म दर्ता भएका छन् । जिल्लामा दुई सय ७८ उद्योग खारेज भएका छन् भने ६१ वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी बाँकेमा पाँच सय २६ उद्योग र पाँच सय ७६ वटा वाणिज्य फर्म दर्ता भएका छन् भने एक सय ८८ उद्योग र तीन सय ४६ वाणिज्य फर्म खारेज भएका छन् ।
यसैगरी नवलपरासी पश्चिममा पछिल्लो ९ महिनामा दुइ सय ५२ उद्योग र तीन सय २३ वाणिज्य फर्म दर्ता भएका छन् भने एक सय ३४ उद्योग र एक सय दुईवटा बाणिज्य फर्म बन्द भएका छन् । मन्त्रालायको तथ्याङ्क अनुसार कपिलवस्तुमा दुइ सय ६६ उद्योग र तीन सय २४ वाणिज्य फर्म दर्ता भएका छन् भने जिल्लामा एक सय ५९ उद्योग र ९० वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी दाङमा पछिल्लो ९ महिनामा तीन सय २८ उद्योग र चार सय ५६ वाणिज्य फर्म दर्ता भएका छन् भने दुई सय ७० उद्योग र तीन सय ५८ वाणिज्य फर्म बन्द भएका भएका छन् ।
यसैगरी बर्दियामा दुइ सय ४० उद्योग र दुई सय १९ वाणिज्य फर्म दर्ता भएका छन् भने एक सय १५ उद्योग र ८८ वाणिज्य फर्म बन्द भएका छन् । पाल्पामा ६४ उद्योग र ६४ वटा वाणिज्य फर्म दर्ता भएका छन् भने एक सय ७८ उद्योग र दुई सय छ वटा वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी गुल्मीमा ४२ उद्योग र ४५ वटा वाणिज्य फर्म दर्ता भएका छन् भने दुई सय चार उद्योग र दुइ सय ६० वाणिज्य फर्म बन्द भएका छन् ।
यसैगरी अर्घाखाँचीमा ५८ उद्योग र २५ फर्म दर्ता भएका छन् भने १६ उद्योग र छ वटा वाणिज्य फर्म बन्द भएका छन् । प्युठानमा २५ उद्योग र ४४ वाणिज्य फर्म दर्ता भएका छन् भने ४४ उद्योग र ३७ वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी रोल्पामा ६२ उद्योग र ५३ वाणिज्य फर्म दर्ता भएका छन् भने ९० उद्योग र ७१ वाणिज्य फर्म बन्द भएका छन् । रुकुमपूर्वमा ३६ उद्योग र २४ वाणिज्यय फर्म दर्ता भएका छन् भने १९ उद्योग र छ वटा वाणिज्य फर्म बन्द भएका छन् ।
यो अवधिमा उद्योगतर्फ दुई हजार आठ सय ५८ र वाणिज्य फर्मतर्फ तीन हजार एक सय ३७ वटा संशोधन भएका छन् । संशोधन उद्योगहरूको नाम, सेवा विस्तार, स्थान परिवर्तनलगायतका लागि गर्ने गरिन्छ । प्रदेश सरकारले नवीकरण तथा दर्तामा छुट दिँदा समेत उद्योग तथा व्यवसाय दर्ता सङ्ख्यामा वृद्धि हुन सकेको छैन ।