‘हिंसा नियन्त्रणका लागि आयआर्जनमा जोडिनुपर्छ’

गोरक्ष समाचारदाता
दाङ, १० वैशाख । नागरिकलाई आयआर्जनमा जोड्न सके लैङ्गिक हिंसा नियन्त्रण गर्न सकिने सरोकारवालाले बताएका छन् । महिला मानव अधिकार रक्षकहरूको सञ्जाल दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहयोगमा मङ्गलवार घोराहीमा भएको लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले हरेक नागरिकलाई सिप सिकाएर आत्मनिर्भर बनाउन सके लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पुग्ने बताएका हुन् ।

हिंसा अन्त्यका लागि प्रत्येक नागरिक कुनै न कुनै आयआर्जनमा जोडिनुपर्ने बताउँदै कार्यक्रममा सहभागी घोराही निवासी विष्णु थापाले हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन् । ‘नागरिक आर्थिक रूपले बलियो नहुँदासम्म हिसा नियन्त्रण गर्न सकिँदैन’, उनले भनिन्, ‘आर्थिक रूपमा कमजोर हुँदा महिला वा पुरुष दुवै हिंसाको सिकार हुने गरेका छन्, यसतर्फ ध्यान दिँदै स्थानीय सरकराले योजना बनाउन आवश्यक छ ।’ उनले सिपमूलक तालिम दिएर सक्षम बनाई आयआर्जनमा जोड्न सके आर्थिक रूपमा बलियो बन्न सकिने र यसले हिंसा न्यूनीकरणमा सहयोगी भूमिका खेल्ने बताइन् ।

कार्यक्रममा घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सदस्य खुमा खड्काले उपमहानगरपालिकाले लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने योजना बनाए पनि सबै नागरिकमा यसबारे सचेतना पुग्न नसकेको बताइन् । ‘घोराही बजारमा बस्ने नागरिकले उपमहानगरपालिकाले सञ्चालन गर्न थालेका अभियानबारे अनभिज्ञ भएको बेला ग्रामीण भेगका नागरिक कसरी जानकार हुनसक्छन् ?’, उनले भनिन् । कुनै पनि अभियान चलाउँदा सबै नागरिकले थाहा पाउने गरी चलाउन आवश्यक रहेको भन्दै उनले अभियानलाई अभियानमा मात्र सीमित नराख्न अनुरोध गरिन् । ‘सबैलाई समेट्ने गरी प्रभावकारी रूपले सञ्चालन गर्न सके मात्र अभियानको लक्ष्य पूरा हुन्छ’, उनले भनिन् ।

मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रका निर्देशक प्रदीप मजगैयाँले उपमहानगरपालिकाको अभियानमा सरोकारवालासँग समन्वय हुन नसकेको बताए । उपमहानगरपालिका एक्लैले चलाएको अभियानले उद्देश्य पूरा नहुने बताए । ‘संवेदशील विषयका अभियानबारे सरोकारवालालाई जानकारीसम्म दिइँदैन’, उनले भने । नागरिकले उपमहानगरपालिकाको कमजोरीबारे कुरा उठाउँदा उल्टै स्वही व्यक्तिलाई नै निषेध गर्ने गरिएको उनले बताए । महिला अधिकारकर्मी निर्मला गौतम रेग्मीले उपमहानगरपालिकाले थालेको अभियान सकारात्मक भए पनि कार्यान्वन गर्नका लागि योजनाबद्ध हुनुपर्ने बताइन् ।

अभियान सफल बनाउन टोलटोलमा पुगेर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । समाजकल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमले कुनै पनि अभियान प्रभावकारी तवरले सञ्चालन गर्न र अभियानको लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक पर्ने बताइन् । उनले उपमहानगरपालिकाले कुनै पनि अभियानका लागि सहयोग र समन्वयको वातावरण निर्माण गर्न नसकेको बताइन् । हिंसा नियन्त्रित अभियानबारे सचेतना अहिले पनि गाउँगाउँसम्म पुग्न नसकेको उनले बताइन् ।

मनवकल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतमले उपमहानगरपालिकाले हिंसा नियन्त्रित अभियान संवेदनशील विषय भएको बताए । यस अभियानलाई निर्धिारण गरेका सूचकहरू पूर्णरुपमा कार्यान्वन गर्नुपर्ने र त्यसलाई औपचारिकतामा मात्रै सीमित गर्न नहुने उनले बताए । कार्यक्रममा विषय प्रवेश गराउँदै अधिकारकर्मी लक्ष्मी आचार्यले उपमहानगरपालिकाले थालेको अभियान हरेक नागरिकसम्म पुग्न नसकेको बताइन् । यस विषयमा संवेदनशील हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । अहिले पनि बालविवाह, विविध हिंसाका घटना हुने क्रम नरोकिएको उनले बताइन् । भएका हिंसाका घटनाहरूका दोषीलाई कारबाही नगरी सामाजिक अभियन्ता, अगुवाका अग्रसरतामै मेलमिलाप गराउने गरेको बताइन् ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले नगरबासीको साथ र सहयोगले उपमहानगरपालिकाले सञ्चालन गर्ने अभियान सफल भइरहेको बताइन् । ‘उपमहानगरपालिकालाई सफल बनाउन नगरबासीका सल्लाह सुझाव आवश्यक छ’, उनले भनिन् । नागरिकबाट आउने सल्लाह सुझावका आधारमा आफूहरूले अभियान तथा योजना कार्यान्वयन गर्ने उनले बताइन् । ‘नागरिकको खबरदारी नै हाम्रो पथप्रदर्शक हो’, उपप्रमुख डिसीले भनिन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सामाजिक मुद्दाहरू अन्त्य नहुने बताए । सामाजिक मुद्दाहरू समाधान गर्न सबैको हातेमालो आवश्यक रहेको उनले बताए । हिंसा नियन्त्रण गर्न स्थानीय प्रशासनबाट आवश्यक सहयोग अहुने उनले बताए ।

यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले काम गर्दा हुने कमीकमजोरी सच्याएर अगाडि बढ्नु पर्ने बताए । उपमहानगर तथा स्थानीय सरकारका कमीकमजोरी औल्याइदिएर आम जनसमुदायले सहयोग गर्न उनले आग्रह गरे । नागरिकलाई आत्मनिर्भर बनाउन आफ्नो वडाबाट विभिन्न सिपमूलक तालिम सञ्चालन गदै आएको वडाध्यक्ष पाण्डेले बताए । नागरिक आत्मनिर्भर भए हिंसा नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ । कार्यक्रम सञ्जालका अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष पदमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्जालका निवर्तमान अध्यक्ष सुशीला पौडेलले गरेकी थिइन् ।