अन्य देशमा नाक, कान तथा घाँटीको उपचार प्रक्रिया र प्रविधिले फड्को मारे पनि नेपालमा भने यी सुविधा अझै पनि पहुँचमा आउन सकेको छैन । नाक, कान र घाँटीसँग सम्बन्धित समस्या सामान्य लागे पनि समयमा सही ढंगबाट उपचार नहुँदा दीर्घकालीन समस्या आउने गदर्छ । यी रोगको उचित निदान र उपचार चुनौतीपूर्ण छ । त्यसमा पनि जिल्लामा भने नाक, कान, घाँटीको उपचार सेवा लिन आउने बिरामी बढिरहेका छन् ।
अहिले पनि धेरैजसो अस्पताल र सबै क्षेत्रमा पूर्ण नाक, कान तथा घाँटी विभाग स्थापना गरेर सम्बन्धित रोगको गुणस्तरीय उपचार गर्न धेरै चुनौतीको सामना गर्नु पर्ने देखिन्छ । दाङको लमही आँखा अस्पतालले नाक, कान, घाँटी विभाग स्थापना गरी अहिले शल्यक्रियादेखि अन्य उपचार सेवा दिइरहेको छ । अहिलो स्वास्थ्यमा चुनौती मध्येको पहिलो भनेको आम मानिसमा रहेको सचेतनाको कमी र आर्थिक भार नै हो । जसले गर्दा रोग जटिल नहुँदासम्म परामर्श वा उपचार गर्न नआउँने, नियमित परीक्षण नगनुका साथै सही ठाउँमा नपुगी बिरामी अलमल पर्ने गर्छन् ।
चिकित्सकीय नजरबाट हेर्दा नाक, कान तथा घाँटीको बनावट एकदमै जटिल छ । प्रत्यक्ष देखिने भागभन्दा लुकेको भाग बढी हुने गर्छ । पूर्ण अवलोकन गर्न विशेष र महंगा उपकरण चाहिने गर्छन् । मौसम परिवर्तन हुँदा घाँटी दुख्ने, रुघाखोकी लाग्ने, बच्चा तथा वृद्धवृद्धामा नाकबाट रगत आउने, कान दुख्ने समस्या लिएर धेरै बिरामी आउने गर्छन् । यसै सन्दर्भमा नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताल नाक, कान, घाँटी विभागका प्रमुख नाक, कान, घाँटी रोग विशेषज्ञ डा. बसन्त पन्तसँग गोरक्षकर्मी बालाराम खड्काले लमहीबाट प्रदान गरिने सेवाका साथै नाक,कान घाँटीको समस्या र उपचारका विषयमा गरिएको संक्षिप्त कुराकानी ।
स्वागत छ यहाँ सातावार्तामा ?
धन्यवाद यहाँ अनि यहाँ पत्रिका अनलाईनलाई नाक, कान, घाँटीसम्बन्धी मेरा कुराहरू राख्ने अवसर दिनुभएकोमा ।
लमही आँखा अस्पतालमा कति र कस्तो प्रकारका बिरामीहरू आउछन् ?
लमही आँखा अस्पतालको नाक, कान घाँटी विभागमा दैनिक ४० देखि ५० जनासम्म बिरामीहरू आउनु हुन्छ । धेरैजसो बिरामी कानको उपचारका लागि समस्या लिएर आउने गनेुभएको छ । जस्तै कान दुख्ने, कानबाट पीप बग्ने, कान कम सुन्ने, कान कराउने र चक्कर लागेर आउने जस्ता बिरामीहरू सेवा दिन आउने गर्नुभएको छ ।
नाकको समस्याहरूमा खासगरी नाकबाट पालतो सिँगान बग्ने, धेरै हाछिउँ आउने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको नाममा बाहिरी वस्तु अट्किने जस्तो समस्या लिएर बिरामीहरू धेरै आउनु हुन्छ । घाँटीको समस्या अन्तर्गत घाँटी दुख्ने, घाँटीमा केही अड्किएको जस्तो हुने, खाना निल्न गारो हुने, टन्सिल बढने, स्वर परिवर्तन हुने थाइरोडडको समस्या लिएर आउने गर्नुहुन्छ ।
लमही आँखा अस्पतालको नाक, कान, घाँटी विभागमा कस्तो प्रकारका उपचार सेवाहरू छन् ?
नाक, कान घाँटीको विशेषज्ञ डा. द्वारा उचित परामर्श साथै कानको श्रवण शक्तिको जाँच, मध्यकानको जाँच, द्रुपिन जाँच, साथै नाक र घाँटीको लागि द्रुविन प्रविधिबाट चेकजाँच यी बाहेक हामीहरूले सबै प्रकारको रगतको जाँच र एक्सरे, भिडियो एक्सरे सेवा पनि दिइरहेका छौँ । कानको अप्रेसन बाहेक नाक र घाँटीको पनि माइनर अप्रेशन हुने गरेको छ । अब छिट्टै नाक, कान, घाँटीको सबै मेजर अप्रेशनहरू सुरु गर्ने तयारीमा छौँ ।
नाक, कान र घाँटीले फरक काम गर्छन् तर कसरी अन्तर सम्बन्धित छन् ?
नाक, कान, घाँटी सम्बन्धीसँगै पढाइ हुनु यसको एउटै विशेषज्ञ हुनु यसलाई हामीले कसरी बुझ्न सक्छौँ भने नाकमा समस्या आयो भने कानमा पनि समस्या आउँछ । घाँटीतिर पनि त्यसले असर गरिरहेको हुन्छ । रुघा लागिराख्यो भने र नाक र कानबिचको पाइप बन्द भयो भने कानमा इन्फेक्सन देखिने वा घाँटीमा इन्फेक्सन देखिने हुन्छ ।
त्यही नाक र कान बिचको पाइप (नसा) अन्तर सम्बन्धित छ, त्यसले गर्दा इन्फेक्सन एकअर्कामा जाने भएकाले नाक, कान, घाँटीसँगै जेडिएर आउँछ । उपचारभन्दा पनि रोग लाग्न नदिनु नै राम्रो हुन्छ । नाक, कान र घाँटीमा हुने समस्याबाट बच्नका लागि धुवाँ, धुलो, चिसोबाट जोगिनु पर्ने हुन्छ ।
नाक, कान र घाँटीको समस्यामा घरेलु उपचार के हुनसक्छ ?
पहिलो कुरा त उपचारभन्दा पनि रोग लाग्न नदिनु नै राम्रो हुन्छ । नाक, कान र घाँटीमा हुने समस्याबाट बच्नका लागि धुवाँ, धुलो, चिसोबाट जोगिनु पर्ने हुन्छ । अहिले मौसम परिवर्तन हुँदैछ । पानी पर्दा बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी बढिसकेको छ ।
सडकमा धुलो उडिरहेको हुन्छ । हामीले फेर्ने सासको माध्यमबाट धुवाँधुलो हाम्रो शरीरमा प्रवेश गरिरहेको हुन्छ । त्यसैले घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, घर वरिपरीको वातावरण सफा राख्ने, शारीरिक व्यायाम गर्ने, तातो खानेकुरा खाने गरेमा नाक, कान र घाँटीमा हुने समस्याबाट बच्न सकिन्छ ।
नाका, कान र घाँटीका समस्या हुँदा, कस्तो अवस्थामा अस्पताल जानुपर्छ ?
यदि नाक कान र घाँटीमा समस्या देखिए दुई तिन दिन हेर्ने हो । त्यो भन्दापछि पनि नाक बन्द हुने, टाउको दुख्ने, भारी हुने, जस्ता समस्या देखिए भने ढिला नगरी उपचार गराउनुपर्छ । त्यस्तै कान डम्म हुने आवाज नसुन्ने, विस्तारै सुनिएर जाने, दुख्ने, कानबाट पिप बग्नेजस्ता समस्या देखिए भने उपचार नगरेर बस्नु हुँदैन । घाँटीमा निल्न गह्रो हुने, ज्वरो आइरहेको छ भने चिकित्सकको सल्लाह अनुसार ढिलो नगरी उपचारका लागि अस्पताल जानु पर्ने हुन्छ ।
यसको उपचार विधि के छ ?
त्यो अवस्था हेरेर हुन सक्ने छ । अवस्था सामान्य भए दुखाई कम गर्ने औषधी दिएर पठाउन सकिन्छ । बिरामी कुन अवस्थामा आइपुग्छन् त्यो अनुसार उपचार विधि फरक हुन्छ । नाकको समस्या हो भने पिनास हुने, कानको समस्या हो भने जालीमा प्वाल पर्ने, पिप बग्ने जस्ता समस्या हुनसक्छन् । यस्तो समस्या भइसकेपछि चेकजाँच गरेर अप्रेशन पनि गर्नु पर्ने हुनसक्छ । त्यसैले अस्पतामला पुगेर समयमै उपचार गराउनु राम्रो मानिन्छ ।
नाक, कान र घाँटीसम्बन्धी समस्याबाट बच्नका लागि के गर्नुपर्छ ?
मुख्यतया बाहिर हिँड्दा मास्कको प्रयोग गर्नुपर्छ । यो मौसममा हावा चल्ने त्यसका साथै अहिले अझ बढी धुवाँ, धुलो हुने हुँदा मानिसलाई नाक, कान र घाँटीमा समस्या हुन्छ । त्यसैले मौसम अनुसार ख्याल गर्नु पर्ने हुन्छ केही समस्या आयो भने ढिला नगरी सम्बन्धित अस्पतालमा उपचारका लागि जानु पर्ने हुन्छ ।
अन्तमा केही भन्नु छ ?
अन्तमा नाक, कान र घाँटीसम्बन्धी केही कुराहरू राख्ने अवसर दिएकोमा म धन्यवाद दिन चाहान्छु । नाक, कान र घाँटीसँग सम्बन्धित समस्या सामान्य लागे पनि समयमा सही ढंगबाट उपचार नहुँदा दीर्घकालीन समस्या आउन सक्छ । त्यसैले हेलचक्राई नगरौँ । समयमै समस्या भए उपचारका साथै परामर्श लिनु हुन म सबैमा अनुरोध गर्न चाहान्छु ।