आफ्नै देशमा कृषि पेसामा भविष्य खोजिरहेका युवा हुन्, रोल्पा रुन्टिगढी गाउँपालिका–७ गैरा निवासी महेन्द्र खड्का । घोराही उपमहानगरपालिका–१३ नारायणपुरमा १३ विगाह जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका किसान खड्काले तरकारी खेतीबाट लाखौँ आम्दानीसँगै करिब ३८ जनालाई रोजगारी समेत दिएका छन् । प्लसटुसम्मको शिक्षा हासिल गरेका खड्का विगत पन्ध्र वर्षदेखि कृषि क्षेत्रमा संलग्न रहेका छन् ।
२०६५ सालदेखि व्यावसायिक तरकारी खेतीमा होमिएका खड्काले हाल दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा १३ विगाहभन्दा बढी जग्गा भाडामा लिएर तरकारी उत्पादन गरिरहेका छन् । नारायणपुरस्थित सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालयको १३ विगाह बढी जग्गा दश वर्षका लागि लिजमा लिएर तरकारी व्यवसाय सञ्चालन गरेका छन् । बढ्दो बेरोजगारी र युवा जनशक्ति पलायनको समय बढ्दै गइरहेको समयमा खड्काले स्वदेशमै उद्यमशीलता गरेर बस्ने उद्देश्यअनुसार राप्ती बबई एग्रीकल्चर प्राली फर्म दर्ता गरेर टमाटर, काक्रा, बोडी, स्कुज, लौका, भिन्डीलगायतको खेती गर्दै आएका छन् ।
जिल्लामै कृषिमा सफल उद्यमीका रूपमा परिचित खड्काले तरकारी खेतीका लागि डिपबोरिङ, मल्चिङ स्टम, जोत्नलाई ट्याक्टरलगायतका साधन खरिदमा एक करोड बढी लगानी गरिसकेका छन् । ठुलो क्षेत्रमा तरकारी खेती गर्ने सफल उद्यमीका रूपमा पहिचित खड्काले तरकारी व्यवसायले दिलाएको पहिचान नै आफ्नो जीवनको ठुलो खसुीको क्षण भएको बताउँछन् । तरकारी व्यवसायकै कारण आपूm जिल्लामा परिचितसँगै ३०÷४० जनालाई रोजगारीमा जोड्न सफल भएको भन्दै खड्काले भने, ‘किसानको जीवन संघर्षमै बित्छ, खुसी भेट्न गाह्रो हुन्छ । तैपनि मेरो लागि यो कृषि व्यवसायले दिएको पहिचान नै सबैभन्दा ठूलो खुसी हो ।’ उनको मेहनत र लगनशीलताका कारणले नै सफलता प्राप्त गरेको बताउँछन् ।
कृषि क्षेत्रमा राम्रो फाइदा छैन भनेर विदेशतिर लागिरहेको समयमा खड्काको सफलता र अनुभव युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ । विदेशिने होडमा लाखौँ खर्च गर्नुभन्दा आफ्नै देशमा उद्यमशीलता अपनाएर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएका छन् । विदेशप्रतिको मोह आपूmमा कहिल्यै नआएको भन्दै कृषि व्यवसायलाई बढाउनका लागि जग्गाको खोजीमा रहेको समेत बताउँछन् ।
२०४६ साल वैशाख १५ गते बुबा जुद्धबहादुर खड्का र आमा भुमा खड्काको जेष्ठ सुपुत्रका रूपमा रुन्टिगढी गाउँपालिका–७ गैरामा जन्मिएका खड्काले महेन्द्र माध्यामिक विद्यालय होलेरीबाट औपचारिक रूपमा शिक्षा आर्जन गरेका थिए । २०६३ मा एलएलसी पास गरेका खड्काले प्लसटु भने घोराहीस्थित विद्यानिल कण्ठ क्याम्पसबाट गरेका थिए । अध्ययनका क्रममा राजनीतिप्रति झुकाव राखे पनि पारिवारिक बातावरणका कारण कृषि व्यवसायमा लागेको बताउँछन् । खड्का अनुसार बुबाले पहिलेदेखि नै रोल्पामा तरकारी खेती गर्दै आएका थिए । त्यही कारण अध्ययनै क्रममा आपूm पनि तरकारी खेतीमा लागेको बताए ।
‘पढ्नेभन्दा कसरी पैसा कमाउने भन्ने भयो, त्यही कारण पढ्दा पढ्दै छोडेर तरकारी खेतीमा लागेको थिए’,खड्काले भने,‘त्यही कारण पनि होला, तरकारी खेतीले राम्रो साथ दिइरहेको छ, राम्रो आम्दानी भएको छ ।’ करिब दश वर्ष रोल्पामा व्यवसायिक तरकारी खेती गरेका खड्काले ठुलो स्केलमा खेती गर्नका लागि जग्गाको अभावसँगै उत्पादन भएको तरकारी बजारीकरणमा समस्या भएपछि दाङ झरेको बताउँछन् ।
दाङ झरेपछि पहिलो वर्ष घोराही उपमहानगरपालिका–७ बेलहरीमा टमाटर खेती गरेको तर त्यहाँ राम्रो उत्पादन नभएपछि घोराहीकै मसिनामा खेती गरेको बताए । मसिनामा सुरुमा परिवारले संयुक्त रूपमा टमाटर खेती गरे पनि पछि सबै सदस्यले छुट्टा छुट्टै गर्ने गरी बुबाआमा, दिदीबहिनी र भाइसँगै आपूmले पनि एक्लै नारायणपुरमा विद्यालयको जग्गा भाडामा लिएर खेती गर्न थालेको बताउँछन् । खड्काले १३ विगाह जग्गाको वार्षिक पाँच लाख रुपैयाँ भाडा तिर्ने गरेको बताउँछन् ।
तरकारी खेतीबाट वार्षिक रूपमा दुई करोड ५० लाख बढीको कारोबार गर्ने गरेको र त्यसमध्ये ३० देखि ३५ प्रतिशतसम्म बचत हुने गरेको बताउँछन् । कुनै रोगको समस्या नभए तरकारी खेतीमा घाटा नहुने बताउँछन् । ‘मेहनत गर्ने किसानका लागि तरकारी खेतीमा घाटा भन्ने हुँदैन’,किसान खड्काले भने,‘बढीभन्दा बढी तरकारी उत्पादन कसरी गर्न सकिन्छ भन्ने किसानमा आट र त्यही अनुसारको मेहनत आवश्यक छ ।’
सरिता खड्कासँग वैवाहिक बन्धनमा बाँधिएका खड्का दम्पत्तिबाट १९ वर्षीय छोरा मदन खड्का र १६ वर्षीाय सुरक्षा खड्का रहेका छन् । कृषि व्यवसायसँगै घोराही उपमहानगरपालिका–१४ तरकारी बजारमा ग्रीन पल्स एग्रो सोलुसन प्रालीसमेत सञ्चालन गरेका छन् । आपूmसँगै परिवारका सदस्यले करिब ६० विगाह क्षेत्रमा तरकारी खेती गर्दै आएको र त्यसका लागि उन्नत जातको बिउ, विषादी लगायतका सामग्री किसानलाई सहज र सुपथ मूल्यमा उपलब्ध गराउनका लागि पसल सञ्चालनमा ल्याएको बताउँछन् । त्यससँगै तरकारी खेतीबाट जग्गा जोडेको बताउँछन् ।
खड्काले सरकारले तरकारी उत्पादक किसानलाई प्रोत्साहन गर्न नसकेको बताउँछन् । अहिले पनि वास्तविक किसानभन्दा झोलामा कृषि व्यवसाय गर्नेले अनुदान प्राप्त गर्ने, तरकारी व्यवसाय गर्ने किसानले प्रयाप्त मात्रामा मल नपाउनेसँगै ठुलो क्षेत्रफलमा खेती गर्नका लागि जग्गा पाउनै समस्या रहेको खड्का बताउँछन् । खेतीयोग्य जमिनलाई सुरक्षित राख्ने र खेती गर्न इच्छुक किसानलाई सहुलियतमा उपलब्ध गराउनेदेखि किसानले उत्पादन गरेको तरकारी बजारीकरणमा सहयोग गरिदिए किसानलाई सहयोग पुग्ने बताउँछन् ।