स्वार्थ र बदलाको भावनाले विकृति जन्माउँछ

नारायणप्रसाद श्रेष्ठ

सामाजिक धरातलमा देखिने जति पनि उपलव्धी छन्, त्यसमा आउने जति पनि विकृति र विसंगती छन् ती सवैमा कहीँ न कतै मानवीय चिन्तन र व्यवहारले प्रभाव पारेको देखिन्छ । मानिस जे सोच्दछ जुन कुरा पाउने अभिलाषा वढाउँछ । त्यसभित्र कहीँ न कतै स्वार्थ र अहंकार लुकेको पाइन्छ, एकोहोरो सोच र चिन्तन हाबी भइरहेको पाइन्छ । असम्भवलार्ई सम्भव बनाउन खोज्नु, आफू अनुकुल विचार लागु गर्न जिद गर्नु वास्तवमा यो हठवादी सोच हो ।

आधुनिक युगको गतिविधिलार्ई हेर्ने हो भने हिजोको तुलनामा अहिलेको वर्तमानमा विचार र कर्ममा एकरुपता कायम रही आपसी सहयोग, सद्भावको माध्यम जीवन र जगत अझ परिमार्जित हुनु पर्ने हो तर त्यसो भरहेको छैन । सोच र चिन्तनमा देखा परेको अहंमताले मानिसको विचार र कर्म निहित स्वार्थ मा गुम्सिन पुगेको छ । व्यक्तिवादी चिन्तनले समाज प्रभावित भइरहेको छ । वास्तवमा यसलाई दुर्भाग्य मान्नु पर्छ । जबसम्म मानिसले आफू र आफ्नो विवेक, स्वरुप, अस्तित्वको पहिचान गर्न सक्दैन । तबसम्म उसको विचार र कर्ममा निखार आउन सक्दैन । उ केवल आफ्नो स्वार्थ कसरी परिपूर्ती गर्ने त्यसतर्फ मात्र उसको विचार केन्द्रित भइरहन्छ । यो राम्रो संकेत होइन । तसर्थ यस कुराको हेक्का सबैले राख्नु पर्दछ ।

बदलाको भावना जहाँ हुन्छ, त्यहाँ मानिसको विचार र सोच हिंसात्मक प्रवृत्ति उन्मुख हुन्छ । यस्तो अवस्थामा मानिसले चाहेर पनि आफूलाई धैर्य गराउन सक्दैन । उसको स्वभाव र कर्ममा स्वार्थ आइरहन्छ । आफ्नो र विरानोको भाव जागृत भइरहन्छ । उसको आचरण र व्यवहारमा क्रुरता देखा परिरहन्छ । यति मात्र होइन उसभित्रको विचार बदलामा रुपान्तर भई सामाजिक परिवेश नै गलत मार्गमा लक्षित हुन पुग्दछ । यसले एकातिर उसको व्यवहार र कर्ममा प्रश्न उठिरहन्छ भने अर्कोतर्फ उसको विचार गलत मार्ग उन्मुख भएको उसले थाहा नपाई उसका भावना प्रतिशोध उन्मुख अघि बढिरहेको अवस्था हुन्छ ।

उसले थोरै प्राप्तीको लागि धेरै गुमाइरहेको हुन्छ । उसको मन मस्तिष्कमा केवल स्वार्थपरक भावना सवार भइरहेको कारण उ जसरी पनि आफ्ना भावना र विचार उच्च बनाई राख्न चाहान्छ । जसको फलस्वरुप मानिस जतिसुकै ज्ञानी र विवेकी जस्तो देखिए पनि उसले आर्जन गरेको ज्ञान सिप र कौशल केवल निहित स्वार्थभित्र केन्द्रिकृत हुन पुग्दछ । राम्रो नराम्रो उसबाट सोचिँदैन । न त पछि यसले ल्याउने परिणामप्रति नै उसको चिन्तन बढ्न थाल्दछ । उसको ज्ञान वुद्धि र विवेकमा बदलाको भावनाले अवरोध पु¥याइरहेको हुन्छ । साँचो के हो, झुठो के हो, यसको चिन्तनको विषय उसले बनाउन सक्दैन ।

आफैबाट निर्माण भएको समाजमा पर्ने असरबारे पनि उ अनभिज्ञ हुन पुग्दछ । लोभ लालचको अभिमानले उ मत्ता साँढेझै उसको स्वभाव र चरित्र बन्न पुग्दछ । विषयवासनामा निर्लिप्त रही सेवामुखी जीवन चरित्रभन्दा बासनालार्ई उसले प्रधानता दिइरहेको अवस्था हुन्छ । जीवनमा आइ पर्ने जति पनि समस्याका कारण छन् ती सबै आफ्नै गलत चिन्तनका कारणले भएको भन्ने समेत उसलार्ई हेक्का रहँदैन । उसले केवल देखेको वस्तु प्राप्ती नै सत्य हो भन्ने मान्यतामा आफूलार्ई समर्पित गरिरहेको अवस्था हुन्छ । यसले एकातिर उसको अन्तरमनको सत्य उजागर हुन सक्दैन भने अर्कोतिर मानसिक तनावले उ सधैँ उतारचढावमा रहिरहन्छ ।

यसले मानसिक उतारचढाव बढ्न गई उ दिशाहिन हुन सक्दछ । फलस्वरुप विचारमा हलचल बढ्न गई उ काम, क्रोध, लोभ, मोह र अहंकाररुपी जालोमा उ विस्तारै फस्दै जान्छ । उ न त सामाजिक बन्न सक्छ न त सामाजप्रतिको जिम्मेवारी निर्वाहमा उसको विचार पुग्न सक्दछ । यसरी बदलाको भावनामा डुबेको मानसिकताले राम्रो नराम्रो कुरा छुट्ट्याउन नसकी उ आफै पतित भएको उसले पत्तै नपाउने अवस्था रहन्छ । विचारमा सहनशिलता नभई विचार प्रवाहहिन भई केवल प्रतिशोधको भावनालार्ई उसले उच्च प्राथमिकता दिएको हुन्छ ।

वुद्धि र विवेक सुन्ने भई मानिस आफूले के गरे के गरेन त्यो थाहा नपाउने अवस्था रहेको हुन्छ । यसरी स्वार्थले मानिसलार्ई अँध्यारो गतितर्फ धकेल्दै लगेको अवस्था रहन्छ । तसर्थ झुट के हो, सत्य के हो, त्यसलार्ई अन्तरमनको पवित्रताले तौलेर, हटवादी र स्वार्थपरक चिन्तनलार्ई लगाम लगाउन सक्नुपर्दछ । मेरो गोरुको बाह्रै टक्का भन्ने गरी आफूलार्ई प्रदर्शन गर्नु हुँदैन । मेरो विचार र कर्मले समाजलाई कस्तो प्रभाव परेको छ त्यस कुराको हेक्का राख्न जरुरी हुन्छ । तसर्थ यस कुराको निकै गम्भीर रुपले चिन्तन गर्नुपर्दछ ।

दूध न त बाच्छाको मुखमा न त गाईको थुनमा भन्ने गरी यदि कर्ममा विकृति र विचारमा मोह राख्ने हो भने यसले निश्चय पनि दुर्गामी असर नपार्ला भन्न सकिन्न । यसैले आफूले गर्ने कर्म र व्यवहारलार्ई आफ्नो दायित्व के हो र कसरी निर्वाह गर्न सकिन्छ यस कुरातर्फ हाम्रो ध्यान जान जरुरी छ । अहिले हाम्रो ध्यान केवल समाजलाई असर पु¥याउने राजनीतिक दाउपेजभित्र मात्र सलबलाइरहेको छ । हामी किन धैर्य र संयमित भएर आफूलाई प्रस्तुत गर्न सकिरहेका छैनौँ ? त्यसैले हामीभित्र उत्पन्न भएका यस्ता गलत सोच र चिन्तनको कारक आफ्नै विवेक र कर्म भएको बुझी पर्ख, हेर र अघि बढ भन्ने सिद्धान्तलार्ई बुझी आफूलार्ई प्रदर्शन गर्नुपरेको छ ।

कुनै पनि क्षेत्र चाहे त्यो सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्र किन नहोस् यी सबै मानवले आफ्नो जीवन निर्वाहको लागि बनाइएका आधार भएकोले यसलार्ई सोही नजरले हेरी आफ्नो दायित्वबोध गर्न सक्नुपर्दछ । विचारमा बदला र चिन्तनमा हडवादी सोच मानिसको लागि दुर्भाग्य मानिन्छ । त्यसैले यसको लागि कुनै पनि कार्य गर्दा समय र परिस्थितिलार्ई ख्याल गरेर अनावश्यक विवादित कुरातर्फ ध्यान दिनु हुँदैन । सत्यलार्ई आत्मसात गर्न सक्नुपर्दछ । बच्चा जन्माउँदा जति सजिलो हुन्छ हुर्काउँदा त्यतिकै गाह्रो र कठिन हुन्छ यो हेक्का राख्न जरुरी छ । कुनै पनि बेला बाटो अफ्टेरो भई कठिन यात्रामा हिँड्नु पर्ने अवस्था पनि आउन सक्छ यो कुरा सोच्न जरुरी छ ।

त्यसैले यसतो कुरा र सत्यलार्ई हेक्कामा राखी अघि बढ्नुपर्छ । हठवादी चिन्तनले क्षणिक रुपमा केही फाइदा त हुन सक्ला तर त्यसले ल्याउने परिणाम अवश्य नै दुर्गामी र अन्धकारयुक्त हुन सक्छ । यो सत्य सबैले बुझ्न जरुरी छ । अर्को कुरा प्रतिशोधले मानिस कहिले पनि अरुको नजरमा राम्रो बन्न सक्दैन । अर्को कुरा उसको चिन्तन कहिले पनि सकारात्मक ठहरिँदैन । यो केवल देखाउने दाँत र खाने दाँत अलग भएको मात्र हो । यो सत्य सबैले बुझ्न नसक्लान् भन्न सकिन्न ।

यो केवल अरुप्रतिको इष्र्या र डाहाको कारणले गरिएको हो भन्ने कुरामा कोहीले पनि शंका नगर्लान् भन्न सकिन्न । यो गलत मानसिकताले उत्पन्न हुने चिन्तन भएकोले यसतर्फ मानिसको सोच गम्भीर बन्नुपर्दछ । तसर्थ कुनै पनि घटना घट्नु पूर्व यसले ल्याउने परिणामको ख्याल गरेर अघि बढ्ने चेष्टा राख्नुपर्दछ । अहिले नेपालको राजनीतिक परिदृश्यलार्ई हेर्दा यस्तै किसिमको प्रश्न जताततै उठिरहेको छ । होटल रेस्टुरेन्ट जताततै कुरामा, चिया गफमा, चिन्तनमा, मानिसको विचार सोच सलवलाइरहेको अवस्था छ । प्रतिशोधको भावनाले राष्ट्रिय राजनीति फेरि तरङ्गीने त होइन ? राष्ट्रिय अखण्डता माथि प्रश्न चिन्ह उठ्ने त होइन ? राजनीतिक प्रतिशोधको कारण दलहरुमा शत्रुता बढ्न गई भर्खर मौलाउन थालेको प्रजातन्त्रमाथि आघात पर्ने त होइन ?

यो विषय निकै गम्भीर भएर वहश को विषय वनी रहेको छ । नेतृत्व तहको असमझदारी र हाडबिनाको मासुको जिव्रोबाट लर्वरिएको बोलीले कतै अराजकताको अवस्था सिर्जना हुने त होइन ? यसतर्फ अहिले होटेल रेस्टुरेन्टमा चिया गफमा यस्ता कुरा भइरहेको सुनिन्छ । त्यसैले राजनीतिक अहंकारले निम्त्याइएको वर्तमानको राजनीतिक नौटंकी तत्काल समाधान गर्नतर्फ सबैको ध्यान पुग्न जरुरी छ । जनताको इच्छा र आकांक्षा अनुसार दृष्टिमा, विचारमा, र कर्ममा सन्तुलन ल्याउन जरुरी छ । बुढी मरी भनेर होइन काल पल्कियो भन्ने उखान चरितार्थ हुनु राम्रो सन्देश होइन । त्यसैले एकले अर्कालार्ई क्षणिक स्वार्थका कारण सक्याउँछु भन्ने अहंकार युक्त हठवादी चिन्तनले आफैलार्ई पनि समाप्त गर्न सक्छ भन्ने बोध गरी समस्या खडा हुनु पूर्व नै समाधानको विकल्प खोज्न जरुरी छ ।

राष्ट्रिय विकासमा सामूहिक चिन्तन गरी कसरी राष्ट्र र राष्ट्रियता बलियो बनाउन सकिन्छ, जन–जनमा विश्वासको वातावरण बनाउन सकिन्छ, त्यसतर्फ सबैको गम्भीर चिन्तन हुनुपर्दछ । स्वार्थ र बदलाको भावनाले अहंकार जन्माउँछ । अहंकारले हठवादी चिन्तन जागृत गर्दछ र हठवादी चिन्तन व्यक्ति, समाजको लागि दुर्भाग्य मानिन्छ । तसर्थ आफूले आफैलाई हेरी आफ्नो स्वभावमा परिवर्तन गरौँ । यो आजको आवश्यकता हो । अस्तु ।