बालाराम खड्का
तुलसीपुर, २० बैशाख । लकडाउनका कारण रोकिएका गौरवका विकासे कामहरु हुनसकेका छैनन् । जिल्लामा अलपत्र परेका विकास निर्माणका कामहरु सुचारु गर्ने निर्णय भएको एक हप्ता पुग्दा पनि कामले गति लिन सकेको अवस्था छैन ।
जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक बसी एक हप्ता पहिले गौरव र अन्य विकासे योजना सुरु गर्ने निर्णय गरेको थियो । राष्ट्रिय गौरवका योजनासँगै सडक, सिंचाई, र अन्य भौतिक निर्माणलाई पनि सुचारु गर्ने भने पनि साना विकासे योजनाहरुको काम सुरु भए पनि अन्य गौरवका योजनाहरुको निर्माणको कामले भने गति लिनसकेको छैन ।
श्रमिकहरुको अभावसँगै निर्माण सामग्री सहज आपूर्ति हुन नसकेका कारण कामले गति लिन नसकेको बताएको छ । जिल्लाका तुलसीपुर, घोराही, लमहीमा साना योजना र निर्माणका काम भने सम्बन्धित निकायहरुले अनुमति दिएसँगै सुरु भएका छन् । प्रत्येक स्थानीय निकायहरुले पनि सामाजिक दूरी कायम राख्दै निर्माणको कामलाई अगाडि बढाउने भनेर निर्णय गरेका थिए ।
गौरवको योजना अन्तर्गत घोराही–तुलसीपुरको फोरलेन सडकको काम सुरु हुनसकेको छैन । लकडाउन अगाडि तीव्र गतिमा सयौँ श्रमिकहरुले निर्माण काममा खटिएको भए पनि लकडाउनपछि सो विकास निर्माण ठप्प भएको छ । सम्बन्धित निकायसँग अनुमति लिएर सडक निर्माणका लागि नदीजन्य वस्तुहरु उठाउने काम सुरु गरे पनि निर्माणको काम भने सुरु हुन नसकेको निर्माणको जिम्मा पाएको तथा इञ्जिनियर जनक डाँगीले जानकारी दिए ।
सडकलाई आवश्यक पर्ने मिस्कट उठाउन सुरु गरे पनि श्रमिहरुको अभावका कारण अन्य काम सुचारु गर्न नसेको उनले बताए । ‘नदीजन्य पदार्थ संकलन गर्न सुरु गरेका छौँ, निर्माणको काम भने लेवर नभएकाले सुरु भएको छैन’–उनले भने । हाल नदीजन्य पदार्थ थुपार्ने काम मात्र भएको उनले बताए ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाले केही गौरवका योजनाहरु सुरु गरको र केही विभिन्न कारणले सुरु हुन नसकेको इञ्जिनियर पवन योगीले जानकारी दिएका छन् । यसैगरी कालोपत्रे सडकका लागि भने भारतबाट विभिन्न म्याट्रियल ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु हुन नसकेको योगीले बताए । केही योजनाहरु सम्झौता नै हनु नसकेको उनले बताए । ‘लकडाउनका कारण ठेक्का प्रक्रिया सुरु भए पनि सम्झौता हुन सकेको छैन’–योगीले बताए ।
तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारको ५०÷५० लाखको लगानीमा राप्ती आँखा अस्पतालको ओपिडी भवन, रेडक्रस सोसाइटीको ब्लड बैंक, त्यस्तै तुलसीपुर –८ मा निर्माण सुरु भएको भीमसेन स्वास्थ्य प्रबद्र्धन केन्द्रको भवनको काम र अन्य सानातिना विकासका काम मात्र सुरु भएको उनले बताए । त्यस्तै प्रदेश सरकार र उपमहानगरपालिकाको साझेदारीमा १ करोडको राप्ती शान्ति पार्कभित्रको निर्माण काम र अन्य वडाका विकासका कामले भने गति लिएको छ ।
यस वर्ष उपमहानगरपालिकाले तुलसीपुर पूर्वाधार विकास प्राधीकरण अन्तर्गत प्रत्येक वडामा ३÷३ किलोमिटर बाटो कालोपत्रे गर्ने गौरवको योजनाहरुले पनि गति लिन सकेको छैन । केही वडामा कालोपत्रे सडकको वेश निर्माण गरी कालोपत्रे गर्न तयारी अवस्थामा रहे पनि कालोपत्रेका लागि आवश्यक सामग्री नभएकाले काम रोकिएको बताइएको छ ।
सवारी साधनहरु खरिद र कालोपत्रेका लागि २२ करोड बजेट विनियोजन गरिएको भए पनि सो कार्य लकडाउनका कारण पूरा हुन नसक्ने देखिएको छ । ‘साना र केही गौरवका योजनाहरु सुरु भएका छन्, केही भने विभिन्न कारणले सुचारु गर्ने भनिए पनि वातावरण मिलेको छैन’– प्राधीकरणका निर्देशक इञ्जिनियर योगीले भने । सडक कालेपत्रेका लागि विटुमिन, श्रमिक र मेसिन, औजारहरु बाहिरबाट ल्याउनुपर्ने भएपछि सो योजनाहरु सम्पन्न हुने वा नहुने दुविधा रहेको योगीले बताए । उनका अनुसार उपमहानगरपालिकाले वहुवर्षीय योजनाअन्तर्गत ६ करोडमा निर्माण सुरु गरेको श्रीमणि अभय मार्गको भर्खर सम्झौता भएको छ भने उपमहानगरपालिकाभित्र ६ करोडको लागतमा निर्माण गर्ने भनिएको प्रशासनिक भवनका लागि सम्झौता प्रक्रियामै रहेको छ । देशैभर लकडाउनका कारण विकास निर्माणमा असर परेकाले निर्माणाधीन योजनाहरुमध्ये केही योजनाहरुको समय थप हुनसक्ने इञ्जिनियर योगीको अनुमान छ । ‘यस्तै अवस्था हो भने हाल सञ्चालन गरेका सबै योजनाहरु पूरा हुन नसक्ने देखिन्छ, सबै योजनाहरुको रकम फ्रिज हुन्छ वा हुँदैन यसै भन्ने अवस्था छैन’–इञ्जिनियर योगीले भने ।