अमरराज आचार्य
दाङ, २० बैशाख । लामो समय रोजगारका लागि विदेश बसेका युवाहरु पासपोेर्ट थन्क्याएर व्यावसायिक तरकारी खेती थालेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ सुपौलाखुट्टीका स्थानीय युवाहरु मिलेर व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेका हुन् ।
खुमबहादुर घर्ती, जितबहादुर घर्ती, नोजबहादुर घर्र्ती, खिमबहादुर घर्ती, दिलबहादुर पुन, तिलक रोका मिलेर व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् । उनीहरुले घोराही उपमहानगरपालिका वडा नं. १३ बगालेमा ५ विगाह जग्गा भाडामा लिएर खेती सुरु गरेको जितबहादुर घर्तीले बताए ।
हालसम्म करिब २० लाख रुपैयाँ खर्च गरिएको उनले बताए । उनीहरुले टमाटर, काँक्रा, बन्दा, भिण्डी, गाँजर खेती गरेका छन् । वार्षिक ३ हजार प्रतिकठ्ठाका दरले भाडामा लिएर खेती गरिएको उनले बताए । जग्गा ५ वर्षका लागि भाडामा लिएको घर्तीले बताए । ‘रोजगारको लागि सधैँ विदेश जानुभन्दा आप्mनो स्थानमा केही गर्नु पर्दछ भनेर व्यवसाय सुरु गरेका छौँ’ उनले भने ।
घर्ती विभिन्न देशमा गरेर करिब १४ वर्ष विदेश बसेका हुन् । घर आएको समयमा छलफल गरेर योजना बनाएर व्यावासायिक रुपमा खेती सुरु गरेका छौँ’– उनले भने–‘रोजगारको लागि विदेशिनु भन्दा आप्mनो स्थानमै केही गरौँ भनेर तरकारी खेती गरेका छौँ ।’
यसैगरेर नोजबहादुर घर्ती पनि रोजगारका लागि साउदी, मलेसिया गरेर करिब ८ वर्ष विदेश बसेर आएका हुन् । कतार जाने योजनामा रहेका उनी आप्mनै स्थानका युवाहरु मिलेर तरकारी खेती गर्ने योजना बनाएपछि विदेश जाने योजना रद्द गरेको बताउँछन् । ‘अब विदेश जाने योजना रद्द गरेर व्यावासयिक तरकारी खेतीमा लागेको छु’–घर्तीले भने । विदेशमा अरुको अर्डरमा काम गर्नुपर्ने वाध्यता भएको समेत बताए । विदेशमा चाडपर्वमा समेत काम गर्नुपर्ने उनी बताउँछन् । ‘आप्mनो स्थानमा स्वतन्त्र भएर काम गर्न पाइनुका साथै सुख–दुःखमा परिवारसँगै रमाउने पाइन्छ’–घर्तीले भने ।
स्थानीय खुमबहादुर घर्ती कुवेत, कतार, दुवई गरी करिब १२ वर्ष बढी बसेर फर्केका हुन् । विदेशमा भनेअनुसार काम नपाइने, पठाउने व्यक्तिले ठग्नेजस्ता समस्या हुने भएकाले उनले पनि विदेश जाने योजना रद्द गरेको बताए । ‘अब जे गरे पनि आप्mनै स्थानमा गर्नुपर्छ, भनेर तरकारी खेतीमा लागेका हौँ’–खुमबहादुरले भने ‘घरमा बसेर आप्mनै काम गर्ने पाउँदा खुशी मिलेको छ ।’ सुरुको वर्ष भएकाले पनि हामीलाई सिकाइ भएको बताए । ‘सुरुको वर्ष भएर पनि केही समस्या भोग्नुपरेको छ’–खुमबहादुरले भने–‘आफूहरुसँग प्राविधिक ज्ञान नहुँदा समस्या परेको छ ।’ ५ विगाहमा सुरु गरेको खेतीलाई विस्तार गर्ने योजनामा रहेको युवाहरु बताउँछन् । उनीहरुले दैनिक १०/१२ जनालाई रोजगार समेत दिएका छन् ।
बजारको समस्या
कृषकले उत्पादन गरेको वस्तु विक्रीको लागि बजारको समस्या रहेको बताएका छन् । कृषकहरुले उत्पादन गरेको मूल्य आफूहरुले तोक्न नपाउने गरेको उनीहरुको भनाई छ । अहिले आफूहरुको उत्पादन सुरु भएको र बजारको समस्या रहेको जितबहादुरले बताए । ‘हामीले उत्पादन गरेको तरकारीको मूल्य व्यवसायीले तोकेर लैजाने गरेका छन्’–घर्तीले भने ‘सस्तोमा विक्री गर्नुपर्दा कृषकहरुको श्रमको मूल्य समेत नउठ्ने गरेको छ ।’ खेर जान दिनुभन्दा वाध्य भएर कृषकहरुले सस्तोमा विक्री गर्ने गरेको उनको भनाई छ । ‘कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तु ज्ञारेन्टी राज्यले गरिदिनु पर्दछ’–उनले भने ‘यसले गर्दा कृषकहरुलाई कृषि क्षेत्रमा लाग्ने प्रेरणा मिल्ने छ ।’