स्वास्थ्य क्षेत्रको सुधारमा प्रेरणा परियोजना

गोरक्ष समाचारदाता
दाङ, १० वैशाख । उपेक्षित उष्ण प्रदेशीय रोगहरू, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमलाई व्यवस्थापन गर्न लुम्बिनीका चार जिल्लामा प्रेरणा परियोजना सुरु भएको छ । फेरमेड फाउन्डेसनले प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तुमा सञ्चालन गरेको परियोजना दाङमा पनि सुरु भएको हो । दाङमा नेपाल महिला सामुदायिक केन्द्रको सहकार्यमा प्रेरणा परियोजना सुरु गरिएको हो ।

जिल्लाका बबई, शान्तिनगर, दंगीशरण, बंगलाचुली र गढवा गाउँपालिकामा प्रेरणा परियोजना सुरु भएको छ । परियोजनाका विषयमा बबई गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालिकाका जनप्रतिनीधि, स्वास्थ्यकर्मी, परियोजनाका कर्मचारी र सञ्चारकर्मीको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रेरणा परियोजनाका विषयमा स्थानीय कार्यक्रम अधिकृत विवेक केसी, फेरमेड फाउन्डेसनका शोभाराम भण्डारी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका बरिष्ठ कार्यक्रम अधिकृतले आआफ्ना संस्थाका उद्देश्य र लक्ष्यका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रम बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो । फेरमेडको सहयोगमा यस अधि लुम्बिनीका दाङबाहेक कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा कार्यक्रम सञ्चालन भएको थियो । पछिल्लो पटक दाङमा प्रेरणा परियोजना विस्तार गरिएको छ ।