सम्पादकीय : विकास निर्माणको कामको गति बढाऔँ

सत्ता परिवर्तनको समयमा जहिलै सरकारले जनतालाई डेलिभरी दिनका लागि बनेको भन्ने गरिन्छ । त्यससँगै मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ भने पनि त्यो हुन सकेको अवस्था छैन । वर्तमान सरकारले संविधान कार्यान्वयनदेखि विकास निर्माणका कामलाई द्रुतता दिने उद्देश्यले नयाँ समीकरण सरकार बने पनि ती उद्देश्य पूरा भने हुन सकिरहेको छैन ।

सरकारले मुख्य कामलाई प्राथमिकता दिनुपर्ने हुन्छ तर विभिन्न कारणले पछिल्लो समयमा विकास निर्माणले गति लिन सकिरहेको अवस्था छैन । त्यसको प्रत्यक्ष मार जनतामा परिरहेको अवस्था छ । समयमै काम सुरु नहुने र भए पनि बिचैमा अल्पत्र पार्ने काम भइरहेको छ । यसमा नियमन गर्ने निकायले विशेष ध्यान दिनुपर्ने हुन्छ । यो वा त्यो वहानामा जनतालाई सास्ती दिन रोक्नु पर्छ । विकास निर्माणका लागि कुन ठाउँमा कसको कमजोरी छ ? त्यसलाई बेलैमा पहिचान गरी विकासका कामलाई गति दिनतर्फ सम्बन्धित निकाय लाग्नु पर्छ । नीतिगत समस्या छन् भने पनि बेलैमा सम्बन्धित पक्षले त्यसको उपचार खोज्नु नितान्त आवश्यक छ ।

कुनै बेला ७ घण्टमा सङ्घीय राजधानी पुग्ने जनता अहिले २४ घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । जिल्लामै हेर्ने हो भने आधा घण्टाको घोराही–तुलसीपुरको यात्रा साढेएक घण्टा लम्बिएको छ । पछिल्लो समयमा विकास निर्माणका काम सुरुवात भए पनि समयावधिमा सम्पन्न हुन सकिरहेका छैनन् । जसका कारण आम नागरिकले सास्ती र पीडा खप्नु पर्ने अवस्था छ । समयमै पुल, सडक जस्ता निर्माणका काम नहुँदा बर्सेनि मानवीय क्षति हुने गरेका छन् । यो वर्ष पनि विकास निर्माणका काम अपुरै रहने अनुमान गरिएको छ । विकास निर्माणका काम सुस्त गतिमा भएको देखिएको छ ।

यस आर्थिक वर्षको अब काम हुने दिन डेढ महिना मात्र बाँकी छ । एक वर्षसम्म हुन नसकेका काम डेढ महिनामा पुरा हुने अवस्था न्यून प्रायः छ । घोराही–तुलसीपुर चारलेन होस् वा नारायणगढ–बुटवल सडक खण्डको काम होस्, निर्माणका काममा चरम लापरवाही देखिएको छ । त्यही लापरवाहीले सडकमा यात्रा गर्ने यात्रुका लागि कष्टकर यात्रा बनेको छ । सडक निर्माणको काम तीव्र गतिमा नहुँदा बर्सेनि सास्ती खेप्नु पर्ने अवस्था छ ।

यसैगरी राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको राम्रीदेखि सल्यान कपुरकोट सडक खण्ड निर्माणको क्रममा छ । पटक–पटक आगमन नै बन्द गरेर काम हुँदा पनि त्यसले पूर्णता पाउन सकेको छैन । पुनः सोमवारदेखि ७ दिन दैनिक ७ घण्टा सडक बन्द गरेर सडक स्तरोन्नति गर्ने काम भइरहेको छ । विकासका क्रममा केही समस्या उत्पन्न हुनु स्वाभाविक हो तर विकास निर्माणको नाममा नागरिकलाई हरवखत सास्ती दिने जायज भने पक्कै होइन् । अब आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा हतारहतारमा विकास निर्माणका काम सक्ने परिपाटी बन्द गरिनु पर्छ । यसले न निर्धारित गुणस्तर पाउँछ सहज नै हुन्छ । अत्यमा काम सक्नकै लागि विकास निर्माणलाई तिव्रता दिनुभन्दा तोकिएको समयावधि पूर्णरुपमा सदुपयोग गरी गुणस्तरीय काम गर्नु उपयुक्त हुन्छ ।

निर्माण कम्पनी होस् वा सरकार पक्ष हरेक पक्षलाई ध्यानमा राखेर विकासे काम छिटो र छरितो रूपमा गर्नतर्फ लाग्नु पर्छ । केही नीति गत कानूनी कुराहरुलाई सहजताका लागि सरकारी पक्षले सहजीकरण गर्ने पर्छ भने निर्माण पक्षले पनि कामलाई तीव्रता दिई समयमै विकास निर्माण सक्नु पर्ने दायित्व हुन्छ । विकास निर्माणको कामको गति बढाई समयमै विकासका कामहरु सम्पन्न गरौँ । विकास निर्माणका नाममा आम नागरिकलाई सास्ती दिने काम बन्द गरौँ ।