बादी समुदायका महिलालाई सहयोग, ‘व्यवसाय गरेर आत्मनिर्भर बन्छौँ’

गोरक्ष समाचारदाता
दाङ, ९ वैशाख । घोराही उपमहानगरपालिका–१३ दुर्गा भगवती टोलका बादी समुदायका महिलाले व्यवसाय सञ्चालनका लागि सहयोग पाएपछि खुसी व्यक्त गरेका छन् । आर्थिक रूपमा कमजोर हुँदा व्यवसाय गर्न नसकेको भन्दै महिलाले व्यवसायमा जोड्नका लागि नेपाल महिला सामुदायिक संस्थाले गरेको मागमा आधारित सहयोग आफ्ना लागि व्यवसाय गर्ने आधार बनेको बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायमा जोडिनका लागि संस्थाबाट दुईवटा बाख्रा पाएकी जुनु बादीले खुसी व्यक्त गरेकी छिन् ।

आर्थिक रूपमा कमजोर हुँदा मन भएर पनि आपूm व्यवसायमा जोडिन नसकेको भन्दै संस्थाले सहयोग गरेका दुईवटा बाख्राबाट परिवारको खर्च जुटाउने गरी काम गर्ने बताइन् । पढाइ लेखाइ नभएका महिलालाई आयआर्जनमा जोडिन बाख्रा सहयोग गरेर संस्थाले गुन लगाएको भन्दै उनले भनिन्, ‘पढाइ लेखाइ नभएको म जस्तो मानिसलाई कमाएर खान सक्ने बनाउन दुई वटा बाख्रा दिनुभएको छ । यी बाख्रालाई पालेर परिवारको खर्च जुटाउने गरी मिहिनेत गर्नेछु ।’

जुनुजस्तै खुद्रा पसल सञ्चालनका लागि सामग्री सहयोग पाउँदा खुसीले गद्गद् भएकी छिन् ६० वर्षीया फूलमती बादी पनि । आर्थिक रूपले कमजोर हुँदा अरूको भर पर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उनले अब पसल गरेर खर्च जुटाउन सजिलो हुने बताइन् । रहर भए पनि पैसा नहुँदा पछाडि परेको भन्दै फूलमतीले भनिन्, ‘व्यापार गर्ने रहर त पहिलेदेखि नै थियो । सानो व्यापार गर्नलाई पनि लगानी लगाउने कुनै उपाय नलागेपछि त्यत्तिकै बसेको थिएँ । अहिले सानो खुद्रा पसल गर्नका लागि आफूले भनेजस्तै सहयोग पाएकी छु, खुसी लागेको छ ।’ सहयोग सामग्रीलाई परिवारको खर्च जुटाउने माध्यम बनाउने उनले बताइन् ।

परिवारको दैनिक जीविका चलाउनका लागि डोकोमा फलफूल व्यापार गर्ने सोही ठाउँ निवासी मनकला नेपालीले पनि व्यवसाय सञ्चालनका लागि सामग्री पाएकी छिन् । चोकमा बसेर फलपूmल बिक्री गर्ने र त्यसबाट भएको आम्दानीले परिवार चलाउने मनकलाले पछिल्लो समय उपमहानगरपालिकाले डोकोमा सामग्री बोकेर व्यापार गर्न नदिँदा परिवार पाल्न धौधौ हुने बताइन् । यस्तो कठिन परिस्थितिमा संस्थाको सहयोग लिँदै मनकलाले यो सहयोगले आर्थिक जोहोम सहयोगी भूमिका खेल्ने बताइन् । ‘साँझबिहान खानका लागि फलपूmल बिक्री गर्न बजारमा खुद्नुपर्ने बाध्यता छ, पसल गरेर खर्च जुटाउने स्थिति थिएन’, उनले भनिन, ‘संस्थाको यो सहयोगले पसल गरेर बस्न सक्ने भएकी छु, डोकोमा फलपूmल बोकेर बजार अब कुद्नु पर्दैन । पसल गरेर परिवारको खर्च जुटाउने छु ।’ उनले संस्थाको सानो सहयोग भए पनि आफ्ना लागि राहत भएको बताइन् ।

जुनु, फूलमती र मनकला संस्थाले सहयोग गर्ने प्रतिनिधि पात्र मात्र हुन् । संस्थाले घोराही उपमहानगरपालिका–१३ का विपन्न बादी समुदायका २३ जना महिलालाई आर्थिक रूपम सक्षम बनाउन बाख्रापालनका लागि बाख्रा, खुद्रा पसल, फलफूल, माछा पसल, कुखुरा पालन र बुटिक सञ्चालनका लागि सामग्री सहयोग गरेको सामुदायिक सुरक्षा जालो कार्यक्रमका कार्यक्रम संयोजक लीला शाहले जानकारी दिइन् । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्र्तगत आयआर्जनका लागि सात जना महिलालाई प्रतिव्यिक्त दुई वटाका दरले १४ वटा बाख्रा, ५÷५ जनालाई खुद्रा पसलका लागि सामग्री र कुखरा, दुई जनालाई फलफूल पसल, एक जनालाई माछा पसल, तीन जनालाई बुटिक पसलका लागि आवश्यक सामग्री सहयोग गरिएको थियो । संस्थाले सोमवार घोराही–१३ को दुर्गा भवानी टोलमा एक कार्यक्रमको आयोजना गरी ती महिलालाई सहयोग सामग्री हस्तान्तरण गरेको थियो ।

आर्थिक रूपमा विपन्न बादी समुदायका महिलालाई आयआर्जनमा जोड्दै समक्ष बनाउन अर्थोपार्जनका विभिन्न सामग्री सहयोग गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले बताइन् । उनले महिलालाई प्राप्त गरेका सामग्रीलाई सही रूपमा सदुपयोग गर्न आग्रह गरिन् । ‘बादी समुदायका महिलालाई आयआर्जनमा जोड्न व्यवसाय सञ्चालनका लागि महिला सामुदायिक केन्द्रले माग अनुसारका सामग्री सहयोग गरेका छौँ’, अध्यक्ष न्यौपानेले भनिन्, ‘मजदुरी गर्ने महिलालाई व्यवसामा जोड्न सहयोग सामग्रीले सहयोगी भूमिका खेल्नेछ, यो सहयोग सदुपयोग गर्नतर्फ ध्यान दिनुहोला ।’ उनले बादी समुदायका आर्थिक रूपले विपन्न महिलालाई गरिने सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका–१३ का वडाध्यक्ष डुल्लुराम पोख्रेलले आर्थिक रूपमा विपन्न बादी समुदायलाई व्यवसायमा जोड्नका लागि सहयोग गर्ने बताए । बादी समुदायलाई वडा कार्यालयले नियमित सहयोग गर्दै आइरहेको बताउँदै वडाध्यक्ष पोख्रेलले संघसंस्थाले पनि निरन्तर सहयोग गर्नाले सहज भइरहेको बताएका थिए । ‘बादी समुदायका महिलासँगै बालबालिकालाई पढाउन र सिप सिकाएर आयआर्जनमा जोड्न वडा कार्यालयबाट निरन्तर सहयोग गरिरहेका छौँ’, वडाध्यक्ष पोख्रेलले भने, ‘वडाको सहयोग पर्याप्त नभइरहेको समयमा नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहयोगले महिलालाई थप सहयोग पुगेको छ ।’ वडाध्यक्ष पोख्रेलले महिलालाई सहयोगको सदुपयोग गर्दै व्यवसायमा जोडिएर बढीभन्दा बढी नाफा कमाउन आग्रह गरेका थिए ।