स्थानीय वस्तुको उत्पादन र प्रवर्धन गर्न आवश्यक

गोरक्ष समाचारदाता
तुलसीपुर, ७ चैत । स्थानीय वस्तुको उत्पादन र प्रवर्धनमा सरोकारवालाले चासो दिएका छन् । सरोकारवालाले आर्थिक विकास र समृद्धिका लागि स्थानीयको वस्तुको उत्पादन र बजारीकरणमा जोड दिएका हुन् ।

लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेश सांसद धनबहादुर मास्कीले अहिले पनि धेरै वस्तु आयात गरिरहेको अवस्थामा स्थानीय स्तरमा उत्पादन गरी आत्मनिर्भरताको बाटोमा जान सकिने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले शनिवार तुलसीपुरमा आयोजना गरेको ‘स्थानीय उत्पादन र व्यवसाय प्रवर्धनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रियामा सरोकारवालाले स्थानीय वस्तुको उत्पादन र व्यवसाय प्रवर्धनमा जोड दिएका हुन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई नेपालको उद्यमशील सहरको रूपमा विकास गर्नुपर्ने बताए । उनले व्यवसायको प्रवर्धनका लागि रात्रिकालीन बजार सञ्चालन गर्न सकिने बताए । ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष समेत रहेका पाण्डेले पर्यटकीय स्थलको विकास र प्रचारप्रसार गरी आर्थिक रूपान्तरण गर्न सकिने बताए । उनले बबई नदीमा डुङ्गा चलाउने, ¥याफ्टिङ सञ्चालन गरी पर्यटन प्रवर्धन गर्न सकिने बताए । पछिल्लो समय चर्चामा रहेको तुलसीपुर–११ मोतिपुरस्थित बबई नदीमा युवाले सञ्चालनमा ल्याएको डुङ्गाले पर्यटन क्षेत्रका विकास हुँदै गरेको अवस्थामा युवा व्यवसायीलाई निराश बनाउने काम भएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वलीले आर्थिक विकासका लागि राजनीति स्थिरता आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले स्थानीय वस्तुको उत्पादन र बजारीकरणका लागि आवश्यक नीति निर्माण गरिरहेको भन्दै नागरिकको सहयोग र राज्यको नीतिले स्थानीय वस्तुको उत्पादन र बजारीकरणमा सहयोग पुग्ने बताए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले स्थानीय उत्पादन बजारीकरणका लागि अनलाइनबाटै खरिद गर्न सकिने गरी अनलाइन पोर्टल निर्माण गरिरहेको बताए ।

उनले पछिल्लो समय महिला उद्यमीको सङ्ख्या बढ्दै गएको भन्दै संघको आगामी साधारणसभामा महिला उद्यमी संघ गठन गरिने उनको भनाइ छ । आन्तरिक राजस्व कार्यलय तुलसीपुरका कर अधिकृत हिरानन्द देवकोटाले राज्यले व्यवसायीलाई हतोत्साहित भन्दा उत्साहित रूपमा कर बुझाउने वातावरणको नीति लिएको बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरूङ, नेकपा एमाले तुलसीपुरका अध्यक्ष रूपबहादुर खत्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारीलगायतले आत्मनिर्भर अर्थतन्त्रका लागि एकले अर्कोलाई आरोप प्रत्यारोपभन्दा आफैँबाट सुधार हुनुपर्ने बताए ।

यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका सूचना अधिकारी विवेककुमार सुवेदीले स्थानीय वस्तुको उत्पादनमा कार्यालयले आवश्यक ज्ञान, सिप, परामर्श दिने गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा व्यवसाय संवर्धन केन्द्रका सदस्य लक्ष्मण विश्वकर्मा, तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोषकुमार खड्कालगायतले हरेक नागरिक उत्पादन र उद्यमसँग जोडिनुपर्ने बताए । यसैगरी ट्रान्सपोर्ट व्यवसायी चिरञ्जीवी पौडेलले सडकमा ढुक्कले ट्रान्सपोर्टका गाडी सञ्चालन गर्ने वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गरे । कार्यक्रमको सहजीकरण महासचिव भद्रबहादुर वलीले गरेका थिए । यसैबिच महासंघले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरेको छ ।