अपाङ्ता भएकालाई उद्यमशीलतासँग जोडन बुङ्गुरका पाठा

बालाराम खड्का
लमही, ७ वैशाख । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले पुनःस्थापना कार्यक्रम अन्तर्गत दृष्टिविहीनका लागि बङ्गुरको खोर निर्माण गर्नुका साथै बङ्गुरका पाठा वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई उद्यमशीलतामा जोड्ने पुनःस्थापना कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताल र एनएबिपी नर्वेको आर्थिक सहयोगमा लमही नगरपालिका वडा नम्बर ८ का दृष्टिविहीन गहनलाल चौधरी, पलतु चौधरी र रवि चौधरीका लागि दुई लाख रुपैयाँ बराबरको बंगुरको खोर निर्माण गरिदिनुका साथै बङ्गुरका पाठा हस्तान्तरण गरिएको हो ।

नेपाल नेत्रज्योति संघ दाङ शाखा सचिव तथा पुनःस्थापन कार्यक्रमका संयोजक घनश्याम सुवेदीले दृष्टिविहीन गहनलाल, पलतु र रविको घरमा पुगेर बङ्गुरको पाठा हस्तान्तरण गरेका थिए । सुवेदीले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक उपार्जनका लागि यो कार्यक्रम सहयोगी हुने बताए । यसैगरी दृष्टिविहीन गहनलालले अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलतामा जोड्नुका साथै आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रममा लेखा अधिकृत कृष्णप्रसाद भट्टराई, बाह्य कार्यक्रम संयोजक बिमल घिमिरे, छेदुराम चौधरीको सहभागितामा बङ्गुरका पाठा वितरण गरिएको लमही आँखा अस्पतालका प्रशासकीय सहायक टेकबहादुर चौधरीले जानकारी दिए । उनले बङ्गुरको खोर निर्माण गरी दुई वर्षसम्मका लागि बिउ पँुजीका रूपमा बङ्गरका पाठाहरू सहयोग गरेको बताए ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई उत्पादन र आर्थिक उपार्जन हुने खालका कार्यक्रम सञ्चालन गर्नका लागि दातृ निकायको सहयोगमा पुनःस्थापना कार्यक्रम सुरु गरेको बताए । उनले यस अघि दातृ निकाय एनएबिपी नर्वे र स्थानीय सरकारसँगको साझेदारीमा तुलसीपुर र लमही नगरपालिकामा उज्यालो सर्फ निर्माण तालिम सञ्चालन गरेको बताउँदै त्यही सिपबाट सर्फ उत्पादन गरी अपाङ्गता भएका व्यक्तिहरूले बिक्री वितरण गरिरहेको बताए । ‘पहिलो पटक हामीले एनएबिपी नर्वेको केही रकम र स्थानीय पालिकाको आर्थिक लगानीमा तालिम सञ्चालन गरेर विभिन्न सामग्री निर्माण गरी त्यसलाई बजारीकरण गरिरहेका छौँ । अब भने उद्यशीलतासँग जोडेर बङ्गुर पालनलाई अगाडि बढाउने काम सुरु भएको छ’, प्रमुख प्रशासक डा. थापाले भने । यसले अपाङ्गता भएका व्यक्तिहरूलाई जीवनयापनमा सहयोग पुग्ने उनले बताए ।

सरकारको उद्यमशीलताको नीतिलाई सघाउ पु¥याउनुका साथै ससाना उद्योग सञ्चालन गरी रोजगारी सिजर्ना गर्ने कार्यक्रमको उद्देश्य रहेको प्रमुख प्रशासक डा. थापाले भने । उनले उपचार सँगसँगै पुनःस्थापना कार्यक्रम पनि आँखा अस्पतालले यस अघि सञ्चालन गरेको र त्यसलाई निरन्तरता दिने बताए । संघबाट सञ्चालन गरिएका कार्यक्रम कार्यक्रम फलदायी भएको उनको भनाइ थियो । दृष्टिविहीन, अल्पदृष्टि र अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम दिएर गुणस्तरीय वस्तु जस्तै सर्फ, सेनिटाइजर, हात धुने साबुन, शौचालय सफा गर्ने फिनाइल उत्पादन गरी बिक्रीवितरण हुँदै आएको छ । दृष्टिविहीन, अल्पदृष्टि र अपाङ्ता भएका करिब २० जना यो उद्यममा जोडिएका छन् । दाङ नेत्रहीन संघ र सिर्जनशील अपाङ्मैत्री संस्था लमही उत्पादक रहेर उत्पादन गरेका वस्तुहरूको माग बजारमा बढी रहेको छ ।

उनीहरूले उत्पादन गरेको उज्यालो सर्फ तथा अन्य बस्तुहरू जिल्लाका साथै काठमाडौंमा समेत माग हुने गरेको छ । ‘लमहीमा दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेको सर्फ गुणस्तरीय छ, मैले पनि अहिले यही सर्फ प्रयोग गर्ने गरेको छु’, गृहणि चन्द्रा वलीले भनिन् । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्न सबैले सहयोग गर्नु पर्ने भन्दै सामग्री प्रयोग गरिदिन आग्रह गरिन् । उनी जस्तै लमही आँखा अस्पतालमा आउने अन्य सेवाग्राहीले पनि सर्फलगायत विभिन्न सामग्री किन्ने गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका वस्तु बिक्रीका लागि लमही आँखा अस्पतालले स्टल उपलब्ध गराएर दैनिक बजारीकरणमा सहयोग गरिरहेको छ ।