वंशीकुमार शर्मा
हरेक नवीन दिनसँगै नयाँ अपेक्षा, आशा जागृत हुनु स्वभाविकै हो । बिहानीले दिनको लक्षण देखाउँछ । २०८१ साल मेरो तीर्थाटन वर्ष बन्न गयो । नेपालका विभिन्न स्थानको धार्मिक स्थलहरु र छिमेकी मुलुक भारतका हरिद्वार, ऋषिकेश, मथुरा, प्रयागराज, अयोध्यालगायतका मठमन्दिरहरुको दर्शन, पूजाअर्चना गर्ने अवसर प्राप्त भयो । नयाँ वर्षको सम्मुखमा राजनीतिक अन्योलता कायमै छ । संवैधानिक राजतन्त्र, हिन्दु राज्य पुनःस्थापनाको विषयले सडक सदन तताएको छ ।
यस वर्षको उत्तरार्धमा राजसंस्था पुनःस्थापनाको आन्दोलनले चर्काे रुप लिएको छ । नयाँ संविधान जारी भई कार्यान्वन भइसक्दा पनि अहिले राजतन्त्र र गणतन्त्रको मुद्दा बहसको विषय बनेको छ । राजनीतिक उतारचढावका साथ गुज्रिएको यस वर्ष खासै उल्लेख्य स्मरणयोग्य हुन सकेन । सत्ता राजनीतिमा केन्द्रित दल र तिनका नेताहरुले मुलुकका लागि उपलब्धिमूलक कार्य गरेको जनस्तरबाट अनुभूति हुन सकेन ।
नेपालका ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमा नयाँ सरकार बनेको छ । समीकरण अदलबदलले नेपाली राजनीतिमा सदैव अस्थिरता मडारिने संशयलाई केही हदसम्म स्थिरता आउने लक्षण देखाए पनि विश्वास गर्न सकिने वातावरण बनाउन सकेनन् । यस वर्ष राष्ट्रिय राजनीतिमा स्थापित नेताहरु विभिन्न काण्डले राजनीतिक सक्रियताबाट गुमनाम भएका छन् । केही शीर्ष नेताहरु भ्रष्टाचार काण्डमा मुछिन पुगे ।
प्राकृतिक विपत्तिले मानवीय क्षति भयो । बाढी, पहिरो, भारी वर्षा, आगलागी, चट्याङ, हिमपहिरोले, ठुलो धनजनको क्षति भयो । रसियन सेनामा नेपालीको निधनलगायतका दःखदायी घटना भए । हवाई मार्ग पनि सुरक्षित हुन सकेन । सडक र हवाई दुर्घटनाबाट धेरैले ज्यान गुमाए । शारांशमा यस वर्ष नेपाल र नेपालीका लागि स्मरणीय रहन सकेन । सधैँको राजनीतिक अस्थिरताले आजित नेपालीजनले यस वर्ष त्यसबाट मुक्त हुन नसकेको घटनाक्रमले दर्शाउँछ ।
राजनीतिक सङ्क्रमणले लामो समय लिनु शुभ मानिँदैन । जति जति सङ्क्रमणकाल लम्बिँदै जान्छ त्यतित्यति जटिलता थपिँदै जाने कुरा अकाट्य नै हो । यति कुरा बुझ्दाबुझ्दै पनि स्वार्थका पछाडि दौडिएका दलहरुले त्यागको राजनीति गर्न कहिलै जानेनन् । फलस्वरुप राजनीतिक दलप्रति जनताको विश्वास तथा समर्थन घट्दै गइरहेको पनि प्रस्ट देखिन्छ । विश्वास हराउँदै गएपछिको आक्रोशित जनबललाई आफ्नो पक्षमा ल्याउन दरिलो अस्त्रको खोजी बिनासम्भव देखिन्न ।
यो वर्ष मुलुकको लागि सुखद् रहन सकेन राजनीतिक उतारचढावले पनि मुलुक निकै तातियो । रोग, भोक सन्त्रासले बाँचेका जनता राजतन्त्रको आन्दोलनमा होमिएका छन् । राजनीतिले राष्ट्रिय एजेण्डाभन्दा यहाँ व्यक्तिगत एजेण्डाले प्राथामिकता पाए ।
राजनीतिक दलहरुलाई जनताले दिएको म्यान्डेट नेताका लागि स्वार्थ सिद्धमा सीमित रह्यो । सडक, सदन र सत्तामा उद्घोष हुने नेताहरुको अभिव्यक्ति फरकफरक हुन थाले । उनीहरुले जनतालाई गुमराहमा पार्दै अलमलाइराखे । जनताको सोझोपनको फाइदा उठाइरहे । वास्तविक लडाइँ केही थिएन तर मुलुकको अर्थतन्त्र ठप्प भयो । यसको हिसाबकिताब कसले माग्ने । लेखाजोखा गर्ने निकाय नै नभएपछि नेताहरु लगामबिनाका घोडाजस्ता भएका छन्, जता दौडिए पनि हुने ।
आफ्ना हक अधिकारका लागि आन्दोलन गर्दै आएका जनताले सत्तासिनबाट पटकपटक धोका पाएपछि विसं १९९७ देखि हालसम्म अधिकारकै लागि राजनीतिक क्रान्तिले विश्राम लिनसकेको छैन । राजनीतिक व्यवस्था परिवर्तनलाई उपलब्धि मान्ने जनताले यसपटक पनि राजनीतिक दलबाट धोका पाउने निश्चित प्रायः भइसकेको छ ।
समग्रमा भन्दा विसं २०८१ नेपाल र नेपालीका लागि मिश्रित नै रह्यो । यसैबिचमा समयको चक्रसँगै २०८२ ले पाइला टेकिसकेको छ । २०८२ साल सुखद् बन्ने आम नेपालीजनको अपेक्षा छ । नयाँ वर्ष सबै नेपालीका लागि सुखद् र नेपाली राजनीति स्थिर बनोस् भन्ने सबैको चाहना छ । विगतका अस्थिरता र सत्ता प्राप्तिको खेलले नेपाली जनता आक्रान्त छन् । दैनिक जीविकोपार्जनका लागि बिदेसिनुपर्ने अवस्था गएको वर्ष पनि निकै बढोत्तरी भएको छ । स्वदेशमै रोजगारीको अवसर र जनतालाई राज्यको अनुभूति गराउन चुकेका दलहरुले आगामी वर्ष त्यसतर्फ ध्यान दिने आम जनताको अपेक्षा छ ।
विगतदेखि अस्थिरता र राज्यविहीनताले प्रताडित नेपालीले अबको नयाँ वर्ष मुलुकका लागि राजनीतिक स्थायित्व र जनतालाई स्वदेशमा बस्ने वातावरण राज्यले सिर्जना गर्नेमा आशावादी देखिएका छन् । नेताहरुमा देखिएको मनमुटाबलाई तिलाञ्जली दिई सहमतिको राजनीतिलाई विकसित तुल्याउन सकोस् । जनभावनालाई सम्झौता गर्ने दलीय प्रवृत्तिमा सम्मान गर्ने शक्ति मिलोस् । सहमति र सहकार्यले दलहरुको मन जित्न सफल भई देशको समग्र विकास सुशासन होस, यही नै हाम्रो नयाँ वर्षको शुभकामना…।