बाको अनुहार कविता संग्रहको विमोचन,कृतिकार भन्छन्,‘अब समाचार लेख्दिन’

खेमराज रिजाल
दाङ, ३१ चैत । चैते हुरी जस्तै धेरै शिर्षक र धेरै विवेचनाले भरिएको एउटा नवोदित साहित्यकार विपुल पोख्रेलको कविता संग्रहमा लेखिएको थियो, ‘म समाचार लेख्दिन’, बाको अनुहार नाम दिइएको चौसी पेजको कविता संग्रहको ३ पेजमा लेखिएको शिर्षक थियो यो । तर मैले भनेको होइन, मत अझै समाचार लेखिरहेको छु ।

यो त समयको अभ्यास हो, कहिले फेरि पनि लेख्नु पर्ने हुनसक्छ, नलेखे गाइड गर्नु पर्ने होला तर विपुलको नवोदिन कृतिमा समाचार लेख्दैन भने पनि संग्रहको ३० वटै शिर्षक ‘समाचार’ ले भरिएका छन् । जसले लोकलाई चित्रित गरेको छ, लोकलाई परिमार्जित हुन भनेको छ, अनि लोकलाई सच्चिन भनेको छ र लोकलाज छोप्ने विकल्प पनि दिएको छ, त्यसैले यो पुस्तक लोकार्पण भइरहँदा विपुलले समाचार लेख्दिन भनेको एउटा समयको उपज हो, अनि नयाँ अभ्यासलाई स्वीकारेको हो, अनि भावि पुस्ताका लागि गन्तव्य पनि हो । उनी नलेखिरहन सक्दैनन्, उनको भोक छ भने लेखन नै हो । लेखनको माध्यमबाट उनी समाज परिवर्तन खोजिरहेका छन् ।

समाचार नलेख्नुको अर्थ समाचार पढ्ने अभ्यासको विरक्तता पनि हो । तर कहिले सासुको पालो कहिले बुहारीको पालो । अन्ततः इतिहासमा लेखिने भनेको त लेखन नै हो । साहित्यमार्फत् होस वा पत्रकारितामार्फत् होस्, समाचार नलेखे पनि लेखनी त मर्दैन ! सर्वसिद्ध उखान छ, खाने भातै हो, जाने घाटै हो । किनकि कात्रोमा त खल्ती हुँदैन नि ? हो यही सास्वत सत्यलाई विपुलले अन्तिम तीसै कविताका रूपमा आर्यघाटलाई सम्झिए । सायद सबैले यही आर्यघाटलाई स्वीकार्नुपर्छ, त्यसअघि नै आफ्नो जीवनको चिनो अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।

खासमा उनले लेखेको कविता संग्रहको नाम ‘बाको अनुहार’ छ । बाप्रतिको स्नेह, सद्भाव र भावि गन्तव्यका लागि दिइएको भाग्यरेखा छ तर पनि यो कविता संग्रहले विपुलको बा विनोद पोख्रेललाई मात्रै चित्रण गर्न खोजेको होइन, नेपालका पारिवारिक संस्कृति भएका तीन करोड बुवालाई पात्रका रूपमा लिइएको छ ।पुस्तकमा मैले समाचार लेख्दैन भनिए पनि सबै शिर्षकमा समाचार जोडिएकै छन्, संस्कार जोडिएकै छन्, सभ्यता र पारिवारिक संस्कृति जोडिएकै छन्, औपचारिक समाचार नलेखेरै पनि मुलुकलाई सही गन्तव्यमा लग्न सकिन्छ भन्ने सन्देश सहितको बाको अनुहार शनिवार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई प्रमुख अतिथि बनाएर लोकार्पण गरिएको छ । गोरक्ष राष्ट्रिय दैनिकले यो पुस्तक लोकार्पण गरिरहँदा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही राजनीतिक भाषण बोलेनन् ।

किनकि पुस्तकमा लेखिएका हरेक हरफले नेपाली राजनीतिलाई सम्बोधन गरेको थियो, नेपाली संस्कृतिलाई सम्बोधन गरेको थियो, अनि नेपाली पारिवारिक संरचना र माया ममतालाई सम्बोधन गरेको थियो । पुस्तकको विषय सूचीको तेस्रो पेजमा म समाचार लेख्दिन भनिरहँदा विपुल पोख्रेलको साहित्यमा पुर्नजन्म भएको छ । विपुल जन्मिएका छन् साहित्यकारका रूपमा । एउटा संस्करणले उनलाई पत्रकारिताबाट साहित्यकारका रूपमा जन्मायो, अब यसलाई कहाँसम्म निरन्तरता दिने हुन् त्यो थाहा छैन ।

गोरक्ष राष्ट्रिय दैनिकले प्रकाशित गरेको यो दोस्रो कृति हो । पहिलो कृतिमा मेरो रिुहानी थियो । दोस्रो कृति अलि खारिएर आएको छ । जुन राजनीति, पत्रकारिता, समाज, संस्कृति एवम् विकाससँग पनि जोडिएको छ । किताब पढिरहँदा साच्चै नेपालको यथार्थ अवस्था त्यहीभित्र छ, विपुलले समाचार नलेखे पनि त्यहीभित्र समाचार धेरै छन् । छोटो समय सीमामा आयोजना गरिएको पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्य क्षेत्रमा फेरि विपुलको जन्म भएको स्वीकार गरे । ‘यो उहाँको पहिलो कृति हो, जसले पत्रकारिताभन्दा माथि उठेर देश दुनियालाई सम्बोधन गर्न सकेको छ, उहाँ फेरि अर्को समाजको ऐना बनेर अर्को कृति सहित उपस्थित हुने छ भन्ने शुभकामना दिन चाहन्छु’, प्रमुख अतिथि शर्माले भने ।

आफूले सिकाएको पत्रकारिताका पात्र अहिले साहित्यमार्फत् समाज बदल्ने सपना देखेकोमा प्रशंशा गर्दै भावि गन्तव्यमा पनि शुभकामना दिए विश्वप्रकाशले । घटना र विचार पत्रिका प्रकाशित भैरहंदा विश्वप्रकाश शर्मा र विपुलको पत्रकारितामा सामिम्यता जोडिएको थियो । विपुल पोख्रेल नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा उमेदवारी दिनेदेखि भोट बैंक सिर्जना गर्दा पनि महामन्त्री विश्वप्रकाशको सामिप्यता थियो । यो त पुस्तक लोकार्पणका क्रममा लेखक विपुल पोख्रेलकै शब्द हो ।

मलाई त्यही शीर्षकमा घोत्लीन मन लाग्यो । समाचार अब लेखिरहनु पर्दैन । किनकि समाचार पढ्ने कोही छैनन् । समाचार बनाउने मात्रै छन् । पत्रकारिता डिजिटलाइज त भएको छ, तर आधिकारिक अनलाइन पनि अंकुशमा छन् सायद । स्वतन्त्र पत्रकारितालाई कसैले स्पेस दिन नसक्ने अवस्था भएको छ । त्यसैले लेखक विपुलले एउटा पेजमा भनेका छन् म समाचार लेख्दिन । नलेखिने पनि त समाचार हुन् । लेख्न नदिइने पनि त समाचार हुन् । अनि लेखिएका पनि त समाचार होइनन् नि । कतै हामी समाचार नभएर सूचना र विज्ञापन त लेखिरहेका छैनौँ ? मलाई लाग्छ, मैले पनि त धेरै विज्ञापनलाई समाचार भनेर लेखिरहेको छु…।

यो समाचार लेखिहँदा मैले पुरै पुस्तक पढेको त छैन तर पनि कार्यक्रमका समीक्षकले भनेका कुरा त साच्चै होलान् ? वा उनीहरूले पनि आफ्नो अनुकुल व्याख्या गरेका होलान् ? अग्रज समीक्षक मेरा गुरु हुनुहुन्छ त्यसैले यो विषयमा नजाऔँ ।

पुस्तकको समीक्षा गर्दै वरिष्ठ साहित्यकार कृष्णराज डिसीले भनेका छन्, ‘बाका अनुहार विपुलको बालाई मात्र लक्षित गरिएको होइन, आम नेपालीका तीन करोड बुवालाई लक्षित गरिएको हो, ‘आमा’ लेख्ने त धेरै थिए, तर बा लेख्नेमा विपुल पहिलो उदियमान साहित्यकार हुन् । उनलाई अर्को कृतिले दोस्रो जन्म दिन सकोस् भन्ने शुभकामना दिन चाहन्छु’, समालोचक डा कृष्णराज डिसीले भने । डा डिसीले कविता संग्रहमा भएको प्रेमलाई बढी फोकश गरे । सायद प्रेमले नै हाइड्रोजन वमलाई परास्त गरेको छ, प्रेममा जीवन र जगतको सास्वत छ ।

अर्का समालोचक डा.टिकाराम उदासीको पनि कम्ति गम्भीर समालोचना थिएन् । उनले विपुललाई पत्रकारिताबाट अब साहित्यमा पुर्नजन्म भएको भन्दै अर्को कृति ल्याएर आउन सुझाव दिए । ‘सर्जकले जब नयाँ कृति ल्याउँछ, त्यो उसको पुनर्जन्म हुन्छ, यसलाई साहित्य जगतले सम्मान एवम् स्वागत गर्दछ’, डा उदासीले भने । उनले पनि विपुलको कृतिलाई शीर्षक अनुरूप व्याख्या गरे तर समीक्षा गर्न उनलाई समय छोटो भयो । दश मिनेटको समीक्षामा उनले म आर्यघाट हुँ शिर्षकलाई बढी केन्द्रित गरे । किनकि मृत्युबोध भएपछि मात्र जीवनबोध गर्न सकिन्छ, तर यो भइरहेको छैन, मृत्युलाई सास्वत स्वीकार गर्न सकिइरहेको छैन ।

विपुलको यो कृतिको धेरै व्याख्या गरेका छन् टिकाराम उदासीले । यी सबै शब्द लेखिरहँदा फेरि समाचार नै पुस्तक बन्न सक्ला । त्यही भएर यसलाई विट मारौँ तर साहित्य पनि त समाचार नै हो । मुलुकका हरेक राजनीतिक परिवर्तन साहित्यकामार्फत् नै भएका छन् । सायद यो कृतिले पनि राजनीतिलाई सही मार्गमा डो¥याउने छ भन्ने सबैको शुभकामना छ । बाको अनुहार कविता संग्रह लोकार्पण गरिरहँदा कार्यक्रममा पुस्तकका लेखक विपुल पोख्रेलका बुवा विनोद पोख्रेल र आमा कमला पोख्रेलसँगै मन्चमा हुनुहुन्थ्यो ।

राप्ती साहित्य परिषद्ले बुवा विनोदलाई अधिवेशनकाबेला सम्मान गर्दा उपस्थित हुनु भएको थिएन । शनिवार यही कार्यक्रममा राप्ती साहित्य परिषद्ले विनोद पोख्रेललाई सम्मान गरेको थियो । कार्यक्रम समापन गर्दै गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतमले विपुल पोख्रेलले अर्को कृति ल्याएर अर्को जन्म लिने विश्वास व्यक्त गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरिन् ।