कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन आज हुँदै

गोरक्ष समाचारदाता
दाङ, २८ चैत । नेपाली कांग्रेस दाङको आज हुने तेस्रो जिल्ला सम्मेलनको तयारी पूरा भएको छ । पार्टी गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले हुन थालेको तेस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस दाङले जनाएको छ ।

तेस्रो जिल्ला सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउन उपस्थितिका लागि नेपाली कांग्रेस दाङले वडा कार्यसमिति, पालिका कार्यसमिति, क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिलगायत सबैलाई आग्रह गरेको छ ।

जिल्ला सम्मेलनमा पार्टीले वर्षभरि गरेका कार्यक्रमको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै संघसंस्थालाई सशक्त र क्रियाशील बनाउन भूमिका खेल्ने नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिएका छन् । जिल्ला सचिव योगीका अनुसारका शुक्रवार हुने तेस्रो जिल्ला सम्मेलनका लागि मञ्च व्यवस्थापन, अतिथिलाई निमन्त्रणा, सांगठनिक तथा आर्थिक प्रतिवेदन बनाउनेलगायतको सम्पूर्ण तयारी पूरा भएको छ ।

सम्मेलन बिहान ११ बजेदेखि घोराही उपमहानगरपालिका–१४ स्थित बहुउद्देश्यीय सभागृहमा हुने भएको छ । सम्मेलनले कांग्रेसका नेता, कार्यकर्तालाई नयाँ उर्जाका साथ पार्टीलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सम्मेलनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू दीपक गिरी, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, योगेन्द्र चौधरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस दाङले जनाएको छ ।