वर्षाले कतै फाइदा कतै क्षति
बालाराम खड्का
तुलसीपुर, २९ चैत । हिउँदे वर्षा सँगै आएको हावाहुरीले सामान्य क्षति पुगे पनि समग्रमा किसानलाई राहत मिलेको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार बुधवार, बिहिबार भएको वर्षाले गहुँ भित्राउन लागेका केही किसानलाई समस्या भए पनि समग्रमा यो वर्षाले फाइदा पुगेको बताइएको छ ।
कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले यस पटक वर्षासँगै असिना नपरेकाले किसानले लगाएको अन्नबाली, फलफूल र तरकारीमा सामान्य हावाहुरीले क्षति गरेको भए पनि ठुलो क्षति नभएको बताए । उनले जिल्लामा हालसम्म त्यस्तो कुनै क्षति भएको जानकारी आफूहरूले नपाएको बताए ।
‘लामो समयदेखि जर्षा भएको थिएन, फलफूल तथा तरकारीलाई आवश्यक पर्ने समयमा वर्षा भएकाले फाइदा नै भएको छ’, कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ समेत रहेका लामिछानेले भने । उनले यतिबेला विशेष गरी लिची तथा अन्य फलफूल बगैँचामा सिँचाइ गर्ने समय भएकाले यस पटकको वर्षाले फलफूल खेतीलाई फाइदा हुने बताए । ‘लिचीले धेरै पानी खोज्छ यो पटक लिचीको फल लाग्ने समयमा पानी आएको छ, त्यसैले लिचीलाई फाइदा पुगेको छ’, उनले भने । यसैगरी कटहर, आँप जस्ता अन्य फलफूललाई पनि फाइदा पुगेको अधिकारीले बताए ।
उनले हावाहुरीले केही फलफूल झारे पनि उत्पादनमा कुनै असर नदेखिने बताए । यो समयमा हुने वर्षाले फलफूलमा लागेका फङ्गस, भुसुना समेत मार्ने उनले बताए । यसैगरी कागती अम्बालगायतका फलफूललाई समेत फाइदा पुगेको उनको भनाइ छ । ‘यो वर्ष दाङमा धेरै किसानले कागती खेती गर्नुभएको छ, यसलाई झनै सिँचाइ पुगेको छ’, उनले भने । किसानलाई नगन्ने रूपमा बेफाइदा गरे पनि फाइदा धेरै भएको उनले बताए ।
यसैबिच बुधवार राति भएको वर्षासँगै आएको हावाहुरीले केही ठाउँमा क्षति गरेको छ । हावाहुरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा किसानले लगाएको र वनमा भएको सुगन्धकोकिलामा क्षति गरेको हो । स्थानीय अगुवा परवीर पुनका अनुसार एक सय पाँच घरधुरीले लगाएको र वनमा भएको सुगन्धकोकिलामा क्षति भएको हो । सुगन्धकोकिला अर्थात् मालागेडी छिल्लीकोटका नागरिकको प्रमुख आम्दानीको स्रोत हो । सुगन्धकोकिलाबाट छिल्लीकोटका किसानले वार्षिक करिब डेढ करोड रुपैयाँ बढी भित्राउने गरेका छन् ।
हावाहुरी र असिनापानीले सुगन्ध कोकिलाको भर्खर लागेको फल झारेपछि किसान निराश भएका छन् । परवीर पुनले मात्रै यस वर्ष सुगन्धकोकिला बिक्री गरेर तीन लाख बढी आम्दानी गर्ने गरेका थिए । मुख्य आम्दानीको स्रोत सुगन्धकोकिलाको फल गयरातिको हावाहुरी र असिनापानीले झारिदिएपछि किसानमा निराशा छाएको पुनले बताए । हावाहुरीले अन्य फलफूल तथा पाक्नै लागेको गहुँ, जौँलगायतका बालीमा पनि क्षति गरेको छ । यसैगरी मन्दिर परिसरमा पनि हावाहुरीले क्षति गरेको पुनले बताए ।
