‘आमाहरूकै संरक्षणमा लागुऔषध दुव्यर्सनी’
खेमराज रिजाल
दाङ, २९ चैत । लागूऔषध दुव्र्यसनी न्यूनीकरण र रोकथाम मुलुककै गम्भीर विषय बनेको छ । गृहमन्त्रालय र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा बर्सेनि लागूऔषध दुव्र्यसनीको सङ्ख्या बढिरहेको छ । यसको न्यूनीकरणका लागि नेपाल सरकारको गृहमन्त्रालय, प्रदेश सरकारको आन्तरिक मामिला तथा सामाजिक विकास मन्त्रालय तथा स्थानीय सरकारहरू लागिपरेकै छन् । लागूऔषध दुव्र्यसनीहरू भने दिनहु बढिरहेका छन् ।
यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय घोराहीले आयोजना गरेको प्रदेश, स्थानीय तह र सुरक्षा निकाय सँगको समन्वय र सहकार्यमा लागूऔषध नियन्त्रणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा देखिएको एउटा वृत्तचित्रले आमाहरूले नै दुव्र्यसनीलाई ममतामयी भएर संरक्षण गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा हाँस्य कलाकार कमल गाउँलेको एउटा ३५ मिनेट लामो वृत्तचित्र दोष प्रदर्शन गरिरहँदा लागूऔषध दुव्र्यसनीहरू घरपरिवारबाटै संरक्षित भएको र सबैभन्दा बढी संरक्षण दिने आमा नै भएको देखियो । त्यही वृत्तचित्र हेरेपछि कार्यक्रममा सहभागी केही आमाहरूको आँखाबाट आँसु झरेको देखियो ।
खासमा आमा ममताकी खानी हुन् । भगवान्को दोस्रो रूप आमाभन्दा कोही हुनै सक्दैन । सन्तानको मायाँ, जगतको मायाँ, सृष्टिको माया सवथोकमा आमा उच्च श्रेणीमा छिन् अनि माफी दिन आमाकै भूमिका रहन्छ । माफीपछि सबै राम्रो हुन्छ भन्ने आमाको चाहना हुन्छ तर यही ममताकी खानी आमाको मायालाई दुरुपयोग गर्दै लागूऔषध दुव्र्यसनी भने जिल्लामा फस्टाएको छ । यो तीतो सत्य हो, किनकि आफ्नो सन्तान जतिसुकै दुव्र्यसनी भएर जतिसुकै जघन्य अपराध गरे पनि आमाले आफ्नो सन्तानलाई माफी दिनन्छिन् । यही कारणले मुलुकभर लागूऔषध दुव्र्यसनी दिनानुदिन बढिरहेका छन् ।
कारोबारीहरूको व्यापार हरेक वर्ष बढिरहेको छ । आपराधिक घटना बढिरहेका छन् । लैङ्गिक तथा यौनजन्य अपराध बढिरहेका छन् । चोरीडकैती र लुटपातमा पनि यिनै दुव्र्यसनीको प्रयोग भइरहेको छ । अन्त्यमा यिनै ममताकी खानी आमाले दुव्र्यसनीकै कारण आफ्नो सन्तान अकालमा गुमाइरहेकी हुन्छिन् । अन्ततः मुलुकमा लागूऔषध दुव्र्यसनी नियन्त्रणमा एक नम्बरको भूमिका हुन्छ भने एक नम्बरमा आमाको । दुई नम्बरमा बुवाको । तीन नम्वबरमा परिवारको अनि स्कुल, सुरक्षा निकाय र नागरिक समाजको ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका लागूऔषध शाखाका प्रहरी निरीक्षक कविराज रोकायाले प्रस्तुत गरेको तथ्याङ्कले सबैभन्दा बढी लागूऔषध दुव्र्यसनी किशोरावस्थामा सुरु भएको हुन्छ । त्यो आचाक्ली कहिले हुन्छ भने जब आफ्नो सन्तान १० कक्षाको रेन्जमा हुन्छ । उनले प्रस्तुत गरेको तथ्याङ्कमा सबैभन्दा बढी लागूऔषध ब्राउनसुगरका केस देखिन्छ । आर्थिक वर्ष २०७९÷२०८० मा भन्दा अहिले करिब एकतिहाइ बढेको देखिन्छ । गाँजा र ट्याब्लेट प्रयोग गर्नेहरूको संख्या बढेको बढ्यै छ । यसको न्यूनीकरण गर्नकै लागि आयोजना गरिएको कार्यक्रममा आमाहरू भने कम थिए । गोरखा, गुरुकुल र अर्को कुनै एउटा विदालयका विद्यार्थी थिए । ‘दोष’ वृत्तचित्रका निर्देशक कमल गाउँलेसहितका केही कलाकार थिए अनि लागूऔषध दुव्र्यसनी न्यूनीकरण अभियानकर्ता वसन्त पुन थिए ।
लागूऔषधको दुव्र्यसनी एकै दिन कोही पनि बन्न सक्दैन । हरेक दिनको दिनचर्याले यो मान्छे लागूऔषध दुव्र्यसनीमा फसेको भन्ने उसकै गतिविधिबाट थाहा हुन्छ । त्यो थाहा पाउने भनेकै सबैभन्दा पहिले बुवाआमाले हो । त्यसपछि छरछिमेक अनि उसले अध्ययन गर्ने विद्यालय । ‘सबैले यसलाई न्यूनीकरण गर्ने अभियानमा साथ दियौँ भने यो नियन्त्रण र न्यूनीकरण गर्न सम्भव छ’, लागूऔषध दुव्र्यसनी न्यूनीकरणका फोकल पर्सन वसन्त पुनले भने । उनी गोरखा माविका शिक्षक पनि हुन् तर आमाले नै आफ्नो सन्तानलाई दुव्र्यसनीका विषयमा नभनिदिँदा आत्महत्यासम्मका घटना दोहोरिइरहेको उनले बताए । सायद आमाले समयमै माफी नदिएर सुधारतर्फ लागेको भए त्यो वृत्तचित्रको सन्तानले आत्महत्यासम्म गर्नु पर्दैनथ्यो’, वसन्तले भने । दुव्र्यसनी लुकाउने प्रवृत्तिले नै समाजका हरेक क्षेत्रमा लागूऔषध दुव्र्यसनी फस्टाइरहेको सो अवसरमा बताइयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले दुव्र्यसनीलाई कसैले लुकाउन नहुने भन्दै समयमै सही सूचना सबैलाई दिएर भर्खरै सिक्न थालेको दुव्र्यसनीलाई मुक्त गर्न सहज हुने बताए । ‘आफ्नो सन्तान दुव्र्यसनमा लागेको भन्ने सबैभन्दा पहिले आमालाई अनि परिवारलाई तर यसलाई सुध्रन्छ कि भनेर लुकाइरहँदा दुव्र्यसनी अर्को चरणमा प्रवेश गर्नसक्छ’, प्रमुख अतिथि शर्माले भने, ‘समयमै सही सूचना दिए काउन्सिलिङलगायत उपचारात्मक अभियान राज्यसँग छन् । उनले लागूऔषध दुव्र्यसनीकै कारण राज्यले धेरै होनहार व्यक्तित्व गुमाइरहेको स्मरण गर्दै यसलाई रोकथाम गर्न स्थानीय सरकारलाई गम्भीर बन्न सुझाव दिए । लागूऔषध दुव्र्यसनको पाठ स्थानीय सरकारले पाठ्यक्रममै राख्न र स्कुलमै यो कक्षा दिन स्थानीय सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका बरिष्ठ उपसचिव शरदा बस्यालले लागूऔषध नियन्त्रणको अभियानलाई नागरिक समाजसँगै स्कुल र अभिभावकसम्मै जोड्नुपर्ने बताइन् । लागूऔषध दुव्र्यसनीलाई नजिकबाट निगरानी गर्ने परिवार नै भएकाले यस अभियानलाई परिवारसँग जोड्न आग्रह गरिन् । जबसम्म परिवारले आफ्नो सन्तान दुव्र्यसनीमा फसिसकेको जानकारी अरूलाई भन्दैन यसले जघन्य अवस्था सिर्जना गर्ने उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले लागूऔषध दुव्र्यसनीको समस्यालाई रोकथाम एवम् न्यूनीकरण गर्न दुई वर्ष अघि नै कानून निर्माण गरिसकेको बताइन् । एकातिर कानून निर्माण भइसकेको अवस्थामा अब कुनै अभिभावकले यसलाइ लुकाउन खोज्छन् भने यो ठुलो दुर्भाग्य हुने उनको अभिव्यक्ति थियो ।
घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीयय अधिकृत विजय गौतमले गरेका थिए ।
