बालाराम खड्का
तुलसीपुर, २८ चैत । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयपछि दाङलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ । मङ्गलवार र बुधवार पनि दाङलगायत विभिन्न स्थानमा हल्का वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार बुधवार दाङसहित काठमाडौं उपत्यका, झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यानलगायतका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको हो । अझै केही दिन वर्षा हुने सम्भावना रहेको मौसमविद् झाले बताए । ‘अहिले खण्डित रूपमा पानी परिरहेको छ’, मौसमविद् झाले भने, ‘पानीको मात्रा विहीवार बिहानीपख अझै बढी हुने सम्भावना छ, त्यपछि पनि पानी पर्ने सम्भावना छ तर बुधवार र विहीवारको तुलनामा केही कमजोर हुनेछ ।’
उच्च पहाडी र हिमाली जिल्लामा वर्षाको सम्भावना भए पनि सुदूरपश्चिमको तराईका जिल्लामा वर्षा कम हुने सम्भावना रहेको मौसमविद् झाले भने । लामो समयदेखि वर्षा नभएका कारण दाङलगायत देशका धेरै स्थानमा सुख्खापन, आगलागी तथा वायुप्रदूषण बढेको थियो । पानी पर्दा हावामा भएका धुलो र धुवाँका कण पखालिने भएकाले अहिलेको प्रदूषणबाट भने केही राहत मिल्ने मौसमविद्को भनाइ छ । हल्का वर्षा भएसँगै धुलो, धुवाँ कम हुनुका साथै शीतलता महसुस भएको छ ।
‘पानीले केही हदसम्म शीतलता र धुलो कम गरेको छ’, स्थानीय गोविन्द भण्डारीले भने । हल्ला वर्षासँगै आकाश ढपक्क बादलले ढाकेसगै गहुँ बाली भित्राउने तरखरमा रहेका किसानको मन भने खिन्न भएको छ । गहुँ बाली स्याहार्न थालेका किसानले पानीले गर्दा बालीमा क्षति पुग्ने हो कि भन्ने डर मनमा पलाएको बताउँछन् । दाङमा यस वर्ष गहुँ खेती गरेका करिब २५ प्रतिशत किसानले गुहँबाली भित्राइरहेका छन् ।
‘भरखर हिजो गहुँ काटोका छौँ आज हल्का वर्षाले भिजाएको छ’, स्थानीय केवलसिं रावलले भने । उनले वर्षासँगै आकाश गडगडाउँदा असिना पर्ने हो कि भन्ने चिन्ता भएको उनले बताए । ‘पानी मात्र परे समस्या छैन, असिनासहित आयो भने गहुँ खेतीमा क्षति गर्छ कि भन्ने डर छ’, उनले भने । कृषि ज्ञान केन्द्र दाङले भने जिल्लामा ७५ प्रतिशत किसानले गहँु तथा अन्य बाली तोरी, मसुरो भित्राएको जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले वर्षाले जिल्लामा २५ प्रतिशत किसानहरूले गहुँ बाली भित्याउने बाँकी रहेको बताए । उनले हल्का वर्षाले मात्र त्यति असर नगर्ने भन्दै असिनासहितको पानी प¥यो भने बालीमा क्षति पुग्ने बताए । जिल्लामा यस वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा गहुँ खेती भएको छ । ‘यो पानीले किसानलाई फाइदा नै हुन्छ अधिकांशले मकैदेखि तरकारी खेती गर्नुभएको छ’, लामिछानेले भने । उनले गहुँको सटो अहिले धेरैले तोरी खेती गरेको र तोरी खेती गरेका अधिकांश किसानले बाली भित्राएको बताए ।
‘यो समयमा पानी चाहिएको थियो, १० दिनपछि पानी परेको भए सबै किसानले बाली भित्राइसक्थे, वर्षा अलि छिटो भयो’, सूचना अधिकारी लामिछानेले भने । अहिले गहुँ खेती गरेका किसानलाई गुहँ बाली स्याहार्न भ्याइ–नभ्याइ छ ।