गोरक्ष समाचारदाता
दाङ, २८ चैत । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को उपाधिका लागि दाङ र रुपन्देही भिड्ने भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोेजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा दाङमा जारी प्रतियोगिता अन्तर्गत बुधवार सेमिफाइनलका खेल सकिएसँगै फाइनल खेल्ने दुई टिमको टुङ्गो लागेको हो ।
सेमिफाइनलका खेल अन्तर्गत घोराही–१७ गुलरिया स्थित घोराही क्रिकेट रङ्गशालामा भएको खेलमा कपिलवस्तुलाई छ विकेटले हराउँदै दाङले फाइनल यात्रा तय गरेको छ । कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले १७ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो । दाङका लागि कप्तान सुशान्तसिंह थापा र दिनेश बोहराले २९ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तय गरे । सुशान्तले २४ बलमा चार चौकासहित २१ रन बनाएर शिव कुँवरको बलमा आकाश त्रिपाठीको हातबाट क्याचआउट भए । दिनेश बोहराले १० बलमा दुई चौकासहित नौ रन जोडेर कपिलवस्तुका कप्तान आकाशको बलमा एलयिबडब्ल्य आउट भए ।
शिशिर डिसी २५ बलमा एक छक्का र एक चौकासहित २० रनमा अविजित रहँदा हेमराज सापकोटाले १८ बलमा १० रनको योगदान दिए । मनोज पुन २८ बलमा दुई चौकासहित २० रन बनाएर आउट हुँदा तुलबहादुर थापाले अविजित पाँच रन जोड्दै जित दिलाए । कपिलवस्तुका शिव कुवरले चार ओभरमा आठ रन खर्चेर दुई विकेट हात पार्दा आकाश त्रिपाठी र रौनक श्रीवास्तवले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । पाँच दशमलव चार ओभरमा २४ रन बनाउँदा पहिलो विकेट गुमाएको कपिलवस्तुका मध्यक्रमका ब्याटर सम्हालिन नसक्दा ९१ रन बनाउँदै अलआउट भयो । कपिलवस्तुका लागि महेश भारले सात बलमा तीन चौकासहित अविजित १५ रन जोडे ।
यसैगरी आकाशले १३ बलमा १४ रन, अनुजकुमार तेलीले ११ बलमा १३ रन, सहबाज अलीले १८ बलमा १२ रन, रम्जान अलीले २४ बलमा ११ रन, शिव कुवरले १६ बलमा १० रन बनाए । बलिङमा दाङका तुलबहादुर थापाले मध्यक्रमका ब्याटरलाई धरासयी पारे । उनले तीन दशमलव तीन ओभरमा १३ रन खर्चेर चार विकेट हात पारे । दिनेश बोहराले चार ओभरमा एक मेडनसहित १७ रन दिएर तीन विकेट लिँदा शुभम खनालले चार ओभरमा एक मेडनसहित १३ रन दिएर दुई विकेट लिए । दाङलाई फाइनलमा पु¥याउन महत्वपूर्ण योगदान दिएका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।
यसैगरी बुधवार भएको अर्को सेमिफाइनलमा बर्दियालाई सात विकेटले हराउँदै रुपन्देही फाइनल प्रवेश गरेको छ । लमही–५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा बर्दियालाई सात विकेटले हराउँदै रुपन्देहीले फाइनल यात्रा तय गरेको हो । बर्दियाले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको रुपन्देहीले नौ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो । रुपन्देहीका लागि कप्तान देव खनाल र मृनाल गुरुङले पहिलो विकेटका लागि ३३ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तय गरे । देवले १२ बलमा एक छक्का र तीन चौकासहित २१ रन बनाएर सनम बुढाको बलमा एलबिडब्ल्यू आउट भए । मृनालले २३ बलमा पाँच चौकासहित २५ रन जोडेर सनम बुढाकै बलमा एलबिडब्ल्यू आउट भए । प्रज्वल थापा पनि सात बलमा छ रन जोड्दै सनम बुढाको बलमा निखिल खत्रीको हातबाट क्याचआउट भए । मनिष थापा १० रन र सुमन पाण्डे आठ रनमा अविजित रहँदै ६६ बल अगावै जित दिलाए । बलिङमा बर्दियाका लागि सनमले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको बर्दियाले राम्रो सुरुवात गर्न सकेन । पहिलो बलमा रुपन्देहीका सन्देश थापाले असिम गिरीलाई बोल्ड गर्दै पेभेलियनको दिशा देखाउँदा अरू ब्याटर सस्तैमा समेटिए । आठौँ विकेटका लागि २९ रनको साझेदारी बन्दा बर्दियाका निर्मल गुरुङले पारि उकास्ने कोसिस गरे । उनले २२ बलमा चार छक्का र एक चौकासहित ४३ रन बनाउँदा अरू खेलाडिले साथ दिन सकेनन् । निखिल खत्रीले २७ बलमा १२ रन, अभिशेष राठोरले नौ बलमा सात रन बनाए । पाँचौ ओभरमा १० रन जोड्दा चार विकेट गुमाएको बर्दिया थप ६६ रन बनाउँदा अलआउट भयो । बर्दियाको पारि धरासयी पार्न कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरे ।
उनले तीन दशमलव चार ओभरमा एक मेडनसहित जम्मा सात रन खर्चेर पाँच विकेट हात पारे । सन्देश थापाले तीन ओभरमा आठ रन दिएर दुई विकेट लिँदा अजय चौहानले पनि दुई ओभरमा चार रन दिएर दुई विकेट लिए । फाइनल यात्राका लागि जित सम्भव बनाउन महत्वपूर्ण योगदान दिएका रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भए । प्रतियोगिताको फाइनल खेलमा रुपन्देहीले दाङको सामना गर्ने छ । दुई टिम बिचको फाइनल खेल लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विहीवार बिहान ९ बजेपछि हुने प्रतियोगिता संयोजक तथा लुम्बिनी प्रदेश खेलकुुद परिषद्का सदस्य कैलाश रोका मगरले जानकारी दिए ।