दाङ कांग्रेसको तेस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा : सभापति डाँगी

नेपाली कांग्रेस दाङले यही चैत २९ गते तेस्रो जिल्ला सम्मेलन गर्दै छ । वडा सम्मेलनदेखि पालिका सम्मेलन र क्षेत्र प्रदेश सम्मेलनपछि जिल्ला सम्मेलनको अन्तिम तयारी पूरा भइसकेको दाङ कांग्रेसले जनाएको छ । घोराहीको बहुद्देश्यीय सभाहलमा सम्पन्न हुने तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्न नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मालगायत केन्द्रीय सदस्यहरु सहभागी हुने छन् । आसन्न जिल्ला सम्मेलनको तयारी र दाङ कांग्रेसले थालेका नवीन अभियानका सन्दर्भमा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

 दाङ कांग्रेसको तेस्रो जिल्ला सम्मेलनका विषयमा संक्षिप्त जानकारी गराइदिनुस् न ?

 हामीले जिल्लाका एक सयवटै वडामा वडा सम्मेलन, दशवटै पालिकामा पालिका सम्मेलन, ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश सम्मेलनको सम्मेलन सम्पन्न गरेसँगै जिल्ला सम्मेलन गर्दै छौँ । जिल्ला सम्मेलनको उद्घाटन गर्न पार्टी महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेता आउँदै हुनुहुन्छ । सम्मेलनमा दाङ कांग्रेसले यो वर्ष सम्पन्न गरेका हरेक गतिविधिका विषयमा वार्षिक साङ्गठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरीने छ ।

साथै वर्तमान राजनीतिक परिस्थितिमा आम कांग्रेसजनले जिल्लामा गर्नु पर्ने कामका विषयमा आवश्यक निर्देशन उच्च नेतृत्वबाट लिने र जिल्ला तहमा देखिएका विभिन्न समस्या तथा असल अभ्यासका विषयमा पनि यो सम्मेलनमा समीक्षा गरिने छ । साथै सम्मेलनको यो पनि उद्देश्य हो कि राष्ट्रिय राजनीतिमा के भइरहेको छ ? त्यसमा कांग्रेसको धारणा के हो भन्ने विषय तल्लो तहसम्म पनि पुगोस् भनेर यो सम्मेलनमा केन्द्रीय उच्च पदाधिकारीलाई प्रमुख अतिथि बनाइएको पनि स्पष्ट पार्न चाहन्छु ।

 जिल्ला सम्मेलनसम्म आइपुग्दा जिल्ला नेतृत्वले के कस्ता अभियान जिल्लामा सञ्चालन गर्नुभो ?

 हामी जिल्ला सम्मेलनसम्म आइपुग्दा यही वर्ष हामीले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार केन्द्रीय सदस्यको उपस्थितिमा सय दिने अभियानलाई जिल्लाका निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडासम्मै सम्मेलनका काम सम्पन्न ग¥यौँ । यसमा जिल्ला नेतृत्वले हरेक क्षेत्रमा अभिभावकीय नेतृत्व प्रदान गरेको पनि स्मरण गराउन चाहन्छु । साथै सङ्गठन सुदृढिकरणको अभियानसँगै क्रियाशिल सदस्यता नवीकरणका कामहरू पनि मोटामोटि सम्पन्न भएका छन् । केही वडामा क्रियाशिल सदस्यताका विषयमा देखिएका विवादहरू मिलाइसकेका छौँ । केही वडामा भएका एक दुई समस्यालाई अब पार्टी जिल्ला नेतृत्व र सम्बन्धित वडा प्रतिनिधि बसेर मिलाउने अन्तिम तयारीमा पनि छौँ । मलाई लाग्छ, दाङ जिल्लामा क्रियाशिल सदस्यता नवीकरणमा त्यति ठुला समस्या छैनन् । केही सातामै ती समस्या समाधान भएर जाने छन् ।

 नेपाली कांग्रेस दाङले केन्द्रीय महासचिवको उपस्थितिमा तेस्रो जिल्ला सम्मेलन गरिरहँदा राजधानीमा भने विभिन्न राजनीतिक दल तथा समूहका उदण्ड देखिएका छन् । यसो हुनुमा यो व्यवस्थाकै कमजोरी हो कि व्यवस्थापनमा समस्या हो जस्तो लाग्छ तपाइलाई ?

 हो, पछिल्लो समयमा राजधानीमा विभिन्न राजनीतिक दल तथा समूहका प्रदर्शन भइरहेका छन् । त्यसमा आम सर्वसाधारण नागरिक पनि जोडिएको बुझिन्छ । यो हुनुको प्रमुख कारण भनेको यो राज्य व्यवस्थाको विकल्प खोज्नका लागि होइन । व्यवस्थापन नमिलेको जस्तो मलाई लाग्छ । यो व्यवस्थाप्रति जनताको वितृष्णाका कारणले यस्तो भएको हो, नकि राजतन्त्रप्रतिको आकर्षणले । यसमा सरकारले जनताका निराशा र वितृष्णालाई सम्बोधन गर्न आवश्यक छ । साथै सरकारले गरेका नविनतम प्रगतिका विषयमा पनि आम जनतालाई भन्न सक्नुपर्दछ तर हामी भन्छौँ, नेपाली कांग्रेसले नै हामीले गरेका राम्रा कामको प्रचार गर्न सकेका छैनौँ । यी दुवै विषयलाई पार्टी नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ भन्ने पनि हामीलाई विश्वास छ । लोकतन्त्रभन्दा उच्चतम राजनीतिक व्यवस्था राजतन्त्र कहिल्यै हुनै सक्दैन, किनकि हामीले यो व्यवस्था भोगिसकेका छौँ । त्यसैले पनि लोकतन्त्रलाई बलियो बनाउन नेतृत्व पनि आवश्यकता अनुसार करेक्शन हुन आवश्यक देखिन्छ । जनअपेक्षा अनुरूप पार्टी अघि बढ्नु पर्दछ ।

 जनताका अपेक्षा सम्बोधनमा पार्टीको अग्रसरताको कुरा गर्नु भो, अहिले जिल्लामा पार्टी नेतृत्व र जनप्रतिनिधि बिचको अन्र्तसम्बन्ध कस्तो बनाउनु भएको छ ?

 पार्टी नेतृत्वले गाइडलाईन बनाउने हो । काम गर्ने भनेको त जनप्रतिनिधिहरूले हो । हामीले यो विषयमा पटक–पटक जनप्रतिनिधिसँग बसेर बहस चलाउने गरेका पनि छौँ । जनप्रतिनिधिहरूलाई काम गर्न कहीँ कतै असहजता भए त्यसको व्यवस्थापनमा पनि जिल्ला पार्टी पक्ति हरतवरले लागिरहेको छ । वडा तहदेखि सङ्घीय सांसदसम्मै हामीले यो विषयमा बहस गर्ने गरेका छौँ । जनप्रतिनिधि र पार्टीको सम्बन्धमा जिल्लामा केही समस्या छैन । सहकार्य भइरहेको छ तर सीमित स्रोत साधनमा पनि कसरी जनताका अपेक्षालाई सम्बोधन गर्न सकिन्छ भनेर जनप्रतिनिधिहरूलाई आवश्यक परामर्श दिने काम भने भइरहेको छ । मलाई लाग्छ, पार्टीको मिशन बाहिर जनप्रतिनिधिहरू जानुभएको छैन ।

 सय दिने अभियान पनि सम्पन्न गरिसक्नु भो, यसको फिड्ब्याक कस्तो पाउनुभो ?

 सय दिने अभियानले अहिले आम पार्टी पंक्तिमा थप उत्साह ल्याएको छ । थप उत्साह ल्याएको हामीले अनुभूति गरेका छौँ । कांग्रेस सरकारमा रहँदा र नरहँदा पनि केन्द्रीय राजनीतिमा गरेका अभियानका विषयमा सय दिने अभियानमा आम कांग्रेसजनले जानकारी पनि पाउनु भएको छ । अझ भन्ने हो भने कांग्रेसले आफूले गरेका काम जनतालाई भन्न नसक्दा केही समस्या सिर्जना भएको पनि हो । पार्टीले गरेका नविनतम काम जनतालाई भन्न पनि सय दिने अभियान हो । यसलाई हामीले बैशाख महिनामा एक पटक बृहत समीक्षा गर्ने पनि योजना बनाएका छा्रँै ।

 तपाई नेतृत्वको जिल्ला समितिले तेस्रो जिल्ला सम्मेलन गरिरहँदा कार्यालय व्यवस्थापनदेखि सामाजिक अभियानसम्मका केही काम बताइदिनुस् न ?

 सबैभन्दा पहिला त हामी नेतृत्वमा निर्वाचनमा आएसँगै सबैभन्दा पहिलो काम त कार्यालय व्यवस्थापन हो । दैनिक रूपमा कार्यालय समयभित्र पार्टी कार्यालय पनि खुल्ने, आवस्यक परामर्श र छलफल, नियमित रूपमा जिल्ला कार्यसमितिको बैठकदेखि तल्ला तहलाई आवश्यक निर्देशन दिने, भ्रात्रिसंस्थाहरूलाई निरन्तर पार्टीको सम्पर्कमा ल्याउन कार्यक्रमहरू आयोजना गर्ने तथा जिल्ला अधिवेशन गर्ने लगायतका काम भइरहेका छन् ।

त्यसैगरी विश्व समुदाय सूचना प्रतिविधिको युगमा लम्किरहँदा पार्टी कार्यालयमा सुतीको कपडामा बाँधिएका फाइललाई कम्प्युटराइज गरिसकेका छौँ । अब हरेक वडाका क्रियाशिल सदस्यको वायोग्राफि कम्प्युटरमै हेर्न सकिन्छ । त्यसैगरी पार्टी कार्यालयमै वीपी वाचनालय निर्माणदेखि स्वर्गीय नेता खुमबहादुर खड्काको स्मृतिमा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको चौथो संस्करणसम्म पनि हामी आइपुगेका छौँ । यी काम गरिरहँदा हामीमा नयाँ उर्जा र जोस जागर पनि थपिएको हामीले अनुभूति गरेका छौँ ।

 अन्तमा तेस्रो सम्मेलनको पूर्वसन्ध्यामा आम कांग्रेसजनलाई केही भन्नु छ कि ?

 हामी तेस्रो जिल्लाको पूर्वसन्ध्यामा छौँ । यही २९ गते घोराहीको बहुद्देश्यीय सभाहलमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आउँदै हुनुहुन्छ । यसमा सक्रिय सहभागिताका लागि आम जिल्ला नेतृत्व, क्षेत्रीय सभापतिज्यु, प्रदेश सभापतिज्यु, नेपाली कांग्रेसका विभिन्न भात्रि संस्था, शुभेच्छुक संघसंस्थाका प्रतिनिधि तथा पदाधिकारीलगायत आम कांग्रेसजनलाई चुल्हे निम्तो दिन चाहन्छु ।