नाकाबासीको जीवन : वारि हेला, पारि हेपाइ

देवेन्द्र बस्नेत
दाङ, २७ चैत । नेपाल भारत सीमा क्षेत्र डगमारा नाकामा दुई कक्षामा अध्ययनरत सिर्जना डाँगीलाई नेपाली बजारबारे केही थाहा छैन । उनलाई यति मात्रै थाहा छ, ‘बजार भनेको भारतको मणीपुर मात्रै हो ।’ भारतीय ट्याक्टरहरू नेपाली बस्तीमा आउँछन् । परिवारसँग ट्याक्टरमा चढेर कहिलेकाहीँ भारतको मणीपुर बजार पुग्ने उनी अहिलेसम्म आफ्नो बस्तीदेखि नेपाली बजारमा पाइला टेकेकी छैनन् ।

‘हाम्रो त बजार भनेको मणीपुर मात्रै हो, म त्यही बजार मात्रै गएको छु’, उनले भनिन्, ‘स्कुलको ड्रेस, अरू कपडा किन्न अनि चामल किन्न हामी मणिपुर बजार जान्छौँ ।’ सामान किनमेल मात्रै होइन, दुःखबिराम पर्दासमेत डगमाराबासीले नेपाली उपचार पाउँदैनन् । उनीहरू उपचारका लागि जाने भनेको भारतमै हो । देउखुरीको राजपुरदेखि डगमारा नाका पुग्न पहाडी कच्ची बाटो भएर झन्डै चार घण्टाको समय लाग्छ । कच्ची ट्रयाक मात्रै खोलिएको यो बाटो वर्षा याममा बन्द हुन्छ ।

वर्षाको समयमा त्यहाँका नागरिक वारि आउन पैदल हिँड्नुको विकल्प छैन । अहिले पनि त्यो ठाउँबाट नेपाली बजारसम्म आउन सवारी साधनको असुविधा छैन । यो सडकमा ठुला सवारी साधन चल्न सक्दैनन् । नेपाली बजारसम्म पुग्न यातायातका साधनको पहुँच नहुँदा नाकाबासी भारतीय बजारमै आश्रित रहँदै आउनु परेको छ । ‘हामी त घरका सबै सामान लिन भारतकै बजारमा जाने हो नि’, सुनपथ्थरी नाकाका सुर्जबहादुर गुरुङले भने, ‘हामी त नामका मात्रै नेपाली हौँ, हरेक काम पर्दा भारतको भर नपरी हुन्न ।’

आफू नेपाली भएर पनि नेपाली हुन नपाएको महसुस नाकाबासीले वर्षौँदेखि गर्दै आइरहेका छन् । सडकको दूरावस्थाका कारण आफ्नै भूमिको बजार टेक्न नसकेका नाकाबासी भारतको आश्रयमा बाँचिरहेका छन् । खानेपानीको मुहान सुक्ने तरखरमा छन् । खानेपानीको मुहानबाट पाइप जोडेर घरसम्म पानी पु¥याएका छन्, नाकाबासीले । अब नजिकका मूल सुक्ने तरखरमा छन् । अबको केही समयपछि पानीको हाहाकारको स्थिति हुने नाकाले पिउने पानीको समेत चरम अभाव खेप्दै आएको छ ।

‘अब केही समयपछि पानी सुक्छ, पानी बोक्नका लागि खोलाका मुहान खोज्दै हिँड्नु पर्छ’, गुरुङले भने । विद्युतको उज्यालो पनि पाएको छैन, नाकाले । विद्युत् विस्तारका लागि लामो समयदेखि माग गर्दै आएका नाकाबासी आफ्नो राज्यबाटै हेपिएको महसुस गर्दै आएका छन् । यसैगरी सञ्चारले पनि जोड्न सकेको छैन, नाकालाई । त्यहाँ टेलिफोन सेवा छैन । २०४२ सालदेखि नाकामा बस्दै आएका सुर्जबहादुरले यी आधारभूत विकासको अपेक्षा उतिबेलैदेखि गर्दै आइरहेका छन् । चारदशकदेखि वारिको यो हेपाइमा बाँचिरहेका सुर्जबहादुरहरूलाई आधारभूत सेवाका लागि भारतको हेपाइ सहनु परिरहेको छ । सुर्जबहादुर भन्छन्, ‘वारि (आफ्नो देश) ले हेला गरिरहेको छ, पारि हेपिन्छौँ ।’

भारतीय बजारमा आश्रित नेपाली सीमा क्षेत्रका नागरिकलाई भारत पसेर दैनिक रोजीरोटीका मालसामान घर भित्राउन सहज छैन । भारतीय सीमा क्षेत्रमा रहेको एसएसबीको ‘मुड’ मा नेपाली सीमा क्षेत्रका नागरिकको चुल्हो कसरी बल्ने भन्ने निधो गर्छ । सीमा क्षेत्रमा रहेका एसएसबीका प्रमुखहरू फेरिने क्रम अनुसार सीमा क्षेत्रका नेपाली नागरिकमा फरकफरक शासन चल्छ । एसएसबीका प्रमुखहरूको निर्णय बमोजिम नेपालीले कति सामान लिन पाउने भन्ने निर्धारण हुने गरेको स्थानीयको भनाइ छ ।

‘उता (एसएसबी) का प्रमुखहरू कस्ता आउँछन् भन्ने हुन्छ, कसैले पाँच किलोभन्दा बढी सामान ल्यायो भने झारिदिन्छन्, कसैले जति पनि ल्याउन दिन्छन्’, सुर्जबहादुर भन्छन्, ‘उताका पुलिसका हाकिम अनुसार हाम्रो दैनिकी चल्ने हो ।’ बढी सामान ल्याउन खोज्दा अवैध कारोबारीको आरोप खेप्नु परेको उनको गुनासो छ । ‘धेरै सामान किन लैजान लागिस्, व्यापार गर्नलाई हो ? भनेर पनि थर्काउँछन्’, डगमारा नाकाकी सङ्गीता राना मगरले भनिन्, ‘उनीहरूले जति ल्याउन दिन्छन् त्यति मात्रै ल्याउन पाइन्छ, हामी त नेपाली भएर पनि नेपाली नभए जस्तो छौँ ।’ भारतीय क्षेत्रमा हुने कुनै पनि गलत गतिविधिको आरोप सीमा क्षेत्रका नेपालीले खेप्नुपर्ने हुन्छ । यति मात्रै होइन, उनीहरूलार्ई भारत आउजाउ गर्न सकस हुने गर्छ ।

सीमा क्षेत्रको भारतीय क्षेत्र घना जङ्गल छ । निकुञ्जको यो जङ्गलमा कुनै जीव जनावर म¥यो भने नेपालीले मारेको भनेर आरोप खेप्नुपर्ने गुनासो नेपालीको छ । यसका लागि भारतीय एसएसबीलाई घुस खुवाउनु पर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । ‘एक पटक जङ्लमा खरायो कसले मारेको रहेछ, हामी सामान किन्न जाने सबैलाई यिनीहरूले मारेका हुन् भनेर कारबाहीको धम्की दिइयो’, सुर्जबहादुरले भने, ‘उनीहरूसँग झगडा गरेर भए पनि भएन, उनीहरूलाई मिलाउनै पर्छ, कुखुराको भाले दिएर समेत उनीहरूलाई शान्त बनाउनु पर्छ ।’