कृषि विकास रणनीति तथा योजना तर्जुमासम्बन्धी गोष्ठी

प्रमोद आचार्य
दंगीशरण, २७ चैत । कृषिलाई आधुनिकीकरण गरी कृषि तथा पशुपन्छीमा किसानलाई आत्मनिर्भर बनाउनु आवश्यकता रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । दंगीशरण गाउँपालिकाको कृषि विकास रणनीति तथा योजना तर्जुमासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको समापन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले यस्तो बताएका हुन् ।

अध्यक्ष गिरीले दंगीशरण गाउँपालिका कृषिमा आधारित गाउँपालिका रहेकाले आफूहरू गाउँपालिकाको समग्र पञ्चवर्षिय कृषि रणनीतिक योजना निर्माणमा अगाडि बढेको बताए । जतिसक्दो यहाँका किसानहरूलाई अनुदानमा बिउ विजन तथा यन्त्रिकीकरणका सामग्री वितरणदेखि सर्वसुलभ परामर्श सेवाका लागि प्राविधिक सेवा वडास्तरबाटै दिँदै आएको उनले बताए । अध्यक्ष गिरीले दंगीशरणका सम्पूर्ण किसानको हितबारे चासो दिँदै पालिकाले किसानमुखी कार्यक्रम अगाडि बढाएको बताए ।

समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका वडा नं. १ का वडाध्यक्ष एवम् गाउँपालिका प्रवक्ता रमेश भण्डारीले दंगीशरण गाउँपालिकाका किसानको भूमि रहेकाले आफूहरूले कृषिलाई आधुनिकीकरणका साथ लग्न आवश्यक रहेको बताए । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष एवम् आर्थिक विकास समितिका सयोजक सुकलाल चौधरीले किसानको उत्थान तथा आर्थिक रूपमा टेवा पु¥याउन पञ्चवर्षीय रणनीतिक योजनाले टेवा पुग्ने अपेक्षा गरे । दुईदिने पञ्चवर्षीय कृषि रणनीतिक योजना निर्माण तथा सहजीकरणका लागि कृषि मन्त्रालयका पूर्वसचिव राजेन्द्रकुमार भारी र परामर्शदाता सुभाष ढकालको उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाभित्रका कृषि सञ्जाल, कृषि शाखा प्रमुख तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीले गाउँपालिकाभित्रका कृषि र पशुपन्छीमा आस्रित किसानलाई छिटोछरितो र सर्वसुलभ तवरले सेवा प्रदान तथा माटो सुहाउँदो बालीनाली उत्पादनमा जोड दिन पञ्चवर्षीय कृषि रणनीतिक योजना तथा कार्यशाला गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे । दंगीशरण गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको संयुक्त साझेदारीमा सञ्चालित कृषि पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत दंगीशरण गाउँपालिकाको कृषि विकास रणनीति तथा योजना तर्जुमासम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । समापन कार्यक्रमको सहजीकरण भिटा परियोजनाकी दंगीशरण सयोजक गोमा भट्टराईले गरेकी थिइन् ।