सडकको मापदण्ड स्पष्ट गर्न माग

गोरक्ष समाचारदाता
तुलसीपुर, २७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर खण्डमा मापदण्डबारे अन्योलता हटाउन पहल गर्ने बताएका छन् । मङ्गलवार ‘राप्ती राजमार्ग, तुलसीपुर क्षेत्र सरोकार मञ्च’ले बुझाएको ध्यानाकर्षणपत्र बुझदै दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता गिरीले सडकको मापदण्डबारे अन्योलता हटाउन आफूले सक्दो पहल गर्ने आश्वासन दिएका हुन् । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको एयरपोर्टदेखि वीरेन्द्रचोकसम्मको सडकको सीमा मापदण्डबारे अन्योलता कायमै छ ।

जसका कारण यो क्षेत्रमा सरकारको उदासीनताका कारण लामो समयसम्म जनताको सम्पत्तिको मूल्याङ्कन नहुनुका साथै बजार विस्तार हुन सकेको छैन । मञ्चका अध्यक्ष नवराज लामिछानेले सडकको मापदण्डबारे अन्योलता हुँदा दुर्घटनाको जोखिम बढेको, घर नक्सापास रोकिएको, घरजग्गा बिक्री–वितरणमा समस्या भइरहेको हुँदा राजमार्गबारे अन्योलता छिटो हटाउन पलह गर्न नेता गिरीलाई आग्रह गरेका थिए । जवाफमा नेता गिरीले वर्षौँदेखिको सडक मापदण्डको अन्योलता चिर्न आफ्नो तर्फबाट पहल गरिरहेको बताएका थिए ।

मञ्चका पदाधिकारीले सडकको मापदण्ड तत्कालीन तुलसीपुर नगर विकास समितिले तोकेको हुनुपर्ने, सहरी क्षेत्र विस्तारको क्रममा वडा नं. ६ को सीमानादेखि टरिगाउँ विमानस्थलसम्म सडक केन्द्रबिन्दुको दायाँ र बायाँ कायम गरिएको १५÷१५ मिटर सीमालाई मान्यता दिनुपर्ने माग राखिएको समितिका सदस्य सचिव चेतन रेग्मीले बताए ।

मापदण्ड अनुसारको सडकमा स्तरोन्नति समयानुकूल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, खाल्डाहरू पुरिनु पर्ने ध्यानाकर्षण–पत्रमा उल्लेख छ । नेता गिरीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ६ का ७ वटा टोल विकास संस्थाका दुई सय ९४ जनाले हस्ताक्षर गरेका छन् ।