शरद रेग्मी
तुलसीपुर, २७ चैत । तुलसीपुर उद्योग वाणिज्य सघले सुरु गरेको ‘सुरक्षित तुलसीपुर सुन्दर तुलसीपुर’ अभियानमा तुलसीपुरका बैँकहरूले हातेमालो थालेका छन् । अभियानका लागि भन्दै मङ्गलवार सिद्धार्थ बैंकका प्रबन्धक किरण आचार्यले ५० हजार रुपैयाँको चेक तुलसीपुर उवासंघका अध्यक्ष बिनिल केसीलाई हस्तान्तरण गरेका हुन् । यसैगरी साइन रेसुङ्गा डेभलपमेन्ट बैक तुलसीपुरले अभियानमा हातेमालो गर्न २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । बैकका प्रबन्धक दीपेन्द्र थापाले अध्यक्ष केसीलाई २५ हजारको चेक हस्तान्तरण गरेका हुन् । यस अघि मुक्तिनाथ बैकले यो अभियानका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको थियो ।
संघका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले तुलसीपुरलाई प्रविधिको माध्यमबाट सुरक्षित गर्नुपर्ने बताएका थिए । कार्यक्रममा अध्यक्ष केसीले विगत चार वर्षदेखि बिग्रिएका १२ थान सिसी क्यामरा मर्मत गरी सुचारु गरिएको कार्यक्रममा जानकारी गराएका थिए । सुरक्षित तुलसीपुर अभियान अन्तर्गत सिसी क्यामरा जडानदेखि मर्मतका काम सुरु गरिएको उनले बताए । कार्यक्रममा तुलसीपुर बैंकर्सका अध्यक्ष रञ्जन कोइरालाले वाणिज्य संघले थालेको अभियानमा सबै बैंकहरूको सहकार्य रहने बताए ।
कार्यक्रममा क्लबका सल्लाहकार सरोज लामिछानेले तुलसीपुर सुरक्षित बनाउनु सबैको दायित्व भएको बताए । सघका पूर्वअध्यक्ष बिमल रिजालले सामाजिक उत्तरदायित्व पूरा गर्दै तुलसीपुर क्षेत्रको विकासमा निजी क्षेत्रले सधैँ अग्रसर भएर लाग्ने बताए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव गोसालीले पश्चिम दाङमा आफूले केही सुधारका काम सुरु गरेको बताएका थिए । उनले पश्चिम दाङमा चार हजार दुई सय घरधुरी विद्युतको पहुँचभन्दा बाहिर रहेको भन्दै गँगटे, जिला र मलै क्षेत्रमा विशेष चासो दिएर विद्युत विस्तार गरिरहेको बताए ।
कार्यक्रममा संघका सल्लाहकार समितिका सदस्य टीकाराम रोका, मानार्थ सदस्य पूर्णप्रसाद धिताललगायतले बोलेका थिए । उपाध्यक्ष नरेशराज भण्डारीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए ।