गुरुकुल एकेडेमीद्वारा शैक्षिक योजना सार्वजनिक

देउखुरी, २६ चैत । गुरुकुल एकेडेमी लमहीले आगामी शैक्षिक सत्र २०८२ को योजना सार्वजनिक गरेको छ । एकेडेमीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ शैक्षिक सत्रका योजना सार्वजनिक गरेको हो ।

विद्यालयले शिक्षालाई व्यवहारिक, जीवनमुखी र समाजसँग जोड्ने उद्देश्यका साथ नयाँ योजना अघि सारेको जनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष अनन्तराज घिमिरेले शिक्षालाई जीवनमुखीसँगै पूर्ण मानव निर्माण गर्ने गरि परम्परा र प्रविधिसँग जोडेर शिक्षा दिने बताए । उनले अब लमहीमै कक्षा ९ सम्मको पढाइ सञ्चालन गर्ने समेत बताए ।

पत्रकार सम्मेलनमा एकेडेमीका प्रधानाध्यापक सुरज खनालले विद्यालयले स्थापना भएको एक वर्ष पूरा गरिसकेको जानकारी गराउँदै पहिलो शैक्षिकसत्र सफलतापूर्वक सम्पन्न गरेको भन्दै नयाँ शैक्षिक सत्रमा शिक्षालाई व्यवहारिक, सामाजिक र नेतृत्वदायी क्षमताको विकासमा गर्ने गरि अघि बढाउने बताए । मन्टेश्वरी संयोजक काजल न्यौपाने र विद्यालय संयोजक एलिसा शर्माले सिकाइको वातावरण उत्साहजनक रहेकाले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्न विद्यालय सफल भएको बताएका थिए ।

शैक्षिक निर्देशक अर्पणा घोषले विद्यालयमा नैतिक शिक्षालाई विशेष प्राथमिकतामा राखेर कार्य भइरहेको बताइन । विद्यालय सञ्चालक समितिका सदस्य कमलजंगसिंह ठकुरीले मन्तब्यबाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण व्यवस्थापक सतिस पौडेलले गरेका थिए ।