अमरराज आचार्य
दाङ, २६ चैत । जिल्लामा चालु आर्थिक वर्षमा कृषि तथा पशुुपालनको क्षेत्रमा अनुदानका लागि साढेतीन करोड खर्च गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, दाङ मार्फत् जिल्लामा तीन करोड ४९ लाख रुपैयाँ अनुदानमा रहेको परियोजना कार्यान्वय एकाइका प्रमुख एवम् बरिष्ठ कृषि अधिकृत लक्ष्यबहादुर चौधरीले जानकारी दिए ।
कृषकलाई प्रोत्साहन गर्न तथा उत्पादन बढाउन सहयोग पु¥याउन अनुदान दिने उनले बताए । चालु आर्थिक वर्षमा डिपबोरिङ तथा अन्य सिँचाइ प्रणालीको मर्मत, सुधार तथा विस्तार अन्तर्गत २० हेक्टरका लागि ३० लाख बजेट रहेको छ । चक्लाबन्दीमा आधारित खेतीमार्फत् उत्पादन वृद्धिमा सहयोग कार्यक्रमका लागि १० लाख, जोन तथा सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग (मकै सुपर जोन) का लागि ४५ लाख, मकै उत्पादन गर्ने कृषकलाई मकै सुकाउने त्रिपाल सहयोगका लागि १५ लाख, भण्डारण, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना (मकै सुपरजोन) का लागि ३० लाख, सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका १५ वटाका लागि ३० लाख, विगतका वर्षमा स्थापना भएका कस्टम हायरिङ सेन्टर सुदृढीकरणका लागि २० लाख, स्वदेशी हाइब्रिड जात मकै बिउ उत्पादनमा ३५ हेक्टरका लागि चार लाख ७६ हजार रुपैयाँ रहेको प्रमुख चौधरीले जानकारी दिए ।
मकै बिउ उत्पादन ३० हेक्टरका लागि एक लाख ११ हजार, बाली तथा वस्तुको उत्पादकत्व निर्धारण (मकै, तोरी तथा मौरी) का लागि ४३ हजार, उन्नत प्रविधिसहित क्षेत्र विस्तार मकै बालीको चार सय हेक्टरका लागि १७ लाख, सहभागितात्मक कृषि प्रविधि सिकाइ तथा प्रदर्शनी केन्द्र (मकै सुपरजोन) का लागि दुई लाख ५५ हजार, मौरी पालनसँग सम्बन्धित औजार उपकरण तथा मौरी सामग्री सहयोग (मौरी जोन) का लागि १० लाख, मह, मौरी चाका तथा अन्य मौरीजन्य उत्पादनसँग सम्बन्धित प्रशोधन उद्योग स्तरोन्नतिका लागि १५ लाख, साना तथा मझौला तेल प्रशोधन मिल सहयोग (तोरी जोन) का लागि १० लाख रुपैयाँ रहेको छ ।
यसैगरी भण्डारण, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापनाका लागि १५ लाख, चैतेधान प्रवर्धनका लागि यान्त्रिकीकरण सहयोगका लागि १० लाख, चैतेधान क्षेत्रफल विस्तारका लागि आठ लाख पाँच हजार, चैतेधान उन्नत प्रविधि प्रदर्शनका लागि एक लाख ७९ हजार, बाख्रा खोर सुधान÷निर्माण सहयोग (बाख्राजोन) का लागि ३० लाख, च्याफ कटरलगायतका अन्य यन्त्र उपकरण खरिद अनुदान सहयोगका लागि पाँच लाख, भेँडा–बाख्रा स्रोतकेन्द्र स्थापना सहयोगका लागि २२ लाख, पशु आहार विकास तथा व्यवस्थापन कार्यक्रमका लागि पाँच लाख ९५ हजार, पशु नश्ल सुधार कार्यक्रमका लागि आठ लाख पाँच हजार र प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानका लागि १० लाख रुपैयाँ रहेको प्रमुख चौधरीले बताए ।
परियोजना अनुसार जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन भएका कार्यक्रम अन्र्तगत अनुदान प्रदान गरिनेछ । परियोजनामार्फत् मकै सुपरजोन लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गाउँपालिका (देउखुरी उपत्यका), तोरी जोन शान्तिनगर, बबई, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २, मौरी जोन बंगलाचुली गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिका र बाख्रा जोन लमही नपा ७, ८, ९ र राजपुर गापा ५, ६, ७ नं वडामा सञ्चालन भएको परियोजनाले जनाएको छ ।
बाख्रा जोन चालु आर्थिक वर्षबाट सञ्चालन भएको हो । मकै सुपर जोन आर्थिक वर्ष २०७३÷०७४ बाट नौ सय ७० हेक्टरबाट सुरु भएको थियो भने हाल तीन हजार आठ सय हेक्टरमा खेती हँुदै आएको छ । तोरी जोन आर्थिक वर्ष ०७५÷०७६ बाट तीन सय ५० हेक्टरबाट सुरु भएको थियो । हाल एक हजार दुई सय ४२ हेक्टरमा खेती हुने गरेको प्रमुख चौधरीले बताए । मौरी जोन आर्थिक वर्ष ०७६÷०७७ बाट ११ हजार घरबाट सुरु भएको थियो भने हाल १५ हजार दुई सय ४० घार भएका छन् । बाख्रा जोन आर्थिक वर्ष ०८१÷०८२ बाट १२ हजार आठ सयबाट सुरु भएको प्रमुख चौधरीले बताए ।
परियोजनाले कृषकलाई कृषि उत्पादन सामग्री (बिउ, बेर्ना, बिरुवा, माछा भुरा, पशु नश्ललगायतमा ५० प्रतिशत अनुदान दिने गरेको छ । प्राविधिक सहयोग शतप्रतिशत, प्रयोगशाला सेवा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, उत्पादनोपरान्त तथा कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत सहयोग गर्ने गरेको प्रमुख चौधरीले बताए ।
वार्षिक स्वीकृत कार्यक्रम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, दाङले जिल्ला परियोजना कार्यान्वय समन्वय तथा अनुगमन समितिको बैठक तथा वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले कृषिमा आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । परियोजनामार्फत् जिल्लामा उत्पादन वृद्धि गर्न सहयोग पुगेको उनको भनाइ छ । उत्पादन भएका वस्तु निर्यातमा ध्यान दिनुपर्ने भन्दै प्रमुख शर्माले उत्पदित वस्तुको ब्रान्डिङ गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा परियोजनाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमबारे परियोजना कार्यान्वयन एकाइका प्रमुख एवम् बरिष्ठ कृषि अधिकृत लक्ष्यबहादुर चौधरीले जानकारी गराएका थिए । परियोजनाका सूचना अधिकारी एवम् कृषि अधिकृत चन्द्रशोभा कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृषि प्राविधिक बिमला पौडेलले गरेकी थिइन् । कार्यक्रममा सरोकारवालाको सहभागिता रहेको थियो ।
बैठकले आर्थिक वर्ष ०८१÷०८२ मा परियोजना कार्यान्वयन एकाइ, दाङको स्वीकृत वार्षिक कार्यक्रमको कार्यान्वयनका लागि परियोजना कार्यान्वयन म्यानुअल २०७७ (प्रथम संशोधन २०८१) बमोजिम प्राविधिक समितिबाट विभिन्न समयम मूल्याङ्कन भई छनोट भएका विविध लाभग्राहीबारे जानकारी प्राप्त भएको तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको पाइएको र कार्यान्वयन भएका कार्यक्रमबारे समन्वय गर्न सम्बन्धित स्थानीय निकाय समक्ष जानकारी गराउने निर्णय गरेको छ ।