Goraksha

National Daily

सार्वजनिक सम्पत्तिमा राजनीति नगरौँ : पूर्वमन्त्री चौधरी

टेकबहादुर पुन
देउखुरी, २२ चैत । प्रतिनिधि सभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीले सार्वजनिक सम्पत्तिमा राजनीति गर्न नहुने बताएका छन् । बगारबाबा धार्मिक विकास समितिको ३२औँ साधारणसभालाई सम्बोधन गर्दै राजनीतिका कारण विवाद सिर्जना भई विकासमा अवरोध सिर्जना हुने बताएका हुन् ।

रिहार धामको विकासका लागि बजेट विनियोजन गरिए पनि खर्च हुन नसक्दा पछिल्ला वर्षमा बजेट कटौती भएको स्मरण गराउँदै सांसद चौधरीले बगारबाबाको विकासका लागि पुनः बजेट व्यवस्थापन गरिरहेकाले निर्माण कार्यमा राजनीति नगरी सर्वजनिक सम्पत्तिको बिकास गर्नुपर्ने बताए । विकाससँगै रोजगार जोडिने भएकाले स्थानीय एकजुट भएर सार्वजनिक सम्पत्तिको विकासमा लाग्न सबैमा अनुरोध गरे । ‘विकासका निम्ति राजनीति नगरौँ, फुटेर भन्दा जुटेर राम्रो काम गरौँ’, चौधरीले भने, ‘निर्माणका क्रममा रोजगार बढ्छ, यही क्षेत्रका स्थानीय रोजगारमा जोडिएर सार्जनिक सम्पत्तिको विकासमा सबै जुटौँ ।’ रिहारको विकासका लागि मन्त्रालयमा पाँच करोडको सिफारिस गरिएको बताउँदै सांसद चौधरीले रिहार क्षेत्रको विकास भए स्थानीयको जीवनस्तर पनि माथि उठ्ने उनले बताए ।

सय पर्यटकीय गन्तव्यभित्र पर्ने रिहार धाममा पहिलेको भन्दा अहिले केही फरक भएको भन्दै उनले खुसी व्यक्त गरे र्। सांसद चौधरीले माघ मेलामा मात्र नभई हेरक समयमा भक्तालु तथा पर्यटक भित्राउन सके रिहारको प्रचारले गति लिने र विकासले पनि फड्को मार्ने बताए । उनले कृष्ण भगवान्को ऐतिहासिक महत्व बोकेको रिहार धाममा उनकै मन्दिर नहुनु दुःखद् भएको भन्दै मन्दिर व्यवस्थापन समितिलाई कृष्णको मन्दिर निर्माण गर्न आग्रह गरे । रिहार क्षेत्रको विकासका लागि जति सक्दो धेरै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै उनले बजेटको सदुपयोग गर्न निर्माण समितिलाई आग्रह गरे । ऐतिहासिक रिहार धामको विकासमा सबै अग्रसर हुनुपर्ने बताए ।

फरक प्रसङ्गमा सांसद चौधरीले देशका ठुला योजना, शैक्षिक भवन, पुलपुलेसा, तटबन्ध जस्ता निर्माण कार्यमा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । रिहार–राजपुरको गङगदी जोड्ने पुलको तयारी अन्तिम चरणमा रहेको बताउँदै उनले नदीको दुवै किनारमा तट्बन्ध गरी बाटो निकाल्ने र पिच गर्ने योजना अघि सारिएको जानकारी दिए । भालुबाङदेखि बाँकेको अगैयासम्म मानव बस्ती रहेको राप्ती नदीमा चार वर्षभित्रमा तट्बन्ध सक्ने गरी काम सुरु भएको बताउँदै गढवामा इडिबी ऋणमार्फत तट्बन्धको काम भइरहेको र राप्तीको पश्चिमतर्फको तटबन्ध पनि चाँडै सुरु हुने बताए । सात सय ५० देखि आठ सय मिटरभित्र पानीको क्षेत्र छुट्याएर तटबन्धको योजना अघि सारिएको बताउँदै उनले राप्ती एक धारमा बग्ने र सिँचाइका लागि जग्गा उकासिने बताए । भालुबाङदेखि बाँकेको अगैयसम्म तटबन्धको सर्भे गर्दा ३८ सय बिघा जग्गा उकासिने र त्यसमा सहरीकरणको परिकल्पना गरिरहेको सांसद चौधरीले बताए ।

साधारणसभामा संस्थालाई सहयोग गरेको भन्दै दुई संस्था र दुई जनालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । तीर्थ तथा पर्यटन विकासका लागि योगदान पु¥याएको भन्दै लमही–६ देउपुर निवासी विनोद बुढाथोकी नगदसहित सम्मानित भएका हुन् । उनीसँगै बगारबाबा मावि रिहार, रिहार स्थित शान्ति टोल महिला समूह र उत्कृष्ट सदस्य वीरसिङ विक सम्मानित भएका हुन् । बगारबाबा धार्मिक विकास समितिका उपाध्यक्ष मानसिङ वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने अन्य वक्ताले पुरानो इतिहास बोकेको बगारबाबा धामको प्रचार तथा विकासमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका पूर्व सचिव ज्ञानराज नेपाली, बगारबाबा गोरक्ष धाम रिहारका रमेशकुमार खड्का, बगारबाबा मावि रिहारका प्रधानाध्यापक यमबहादुर बस्नेत, समाजसेवी तथा बुद्धिजीवी शशिराम नेपाली, बगारबाबा सामुदायिक वनका अध्यक्ष टोपेन्द्र पुन, स्थानीय समाजसेवी पहलसिंह पुन, लमही नगरपालिका वन महासंघका अध्यक्ष पूर्णबहादुर बस्नेत, लमही–९ का वडाध्यक्ष भेषबहादुर केसी, गढवा गाउँपालिका पूर्व अध्यक्ष सहजराम अहिर, संस्थाका सल्लाहकार सदस्य विन्तिराम यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बगारबाबा धार्मिक विकास समिति रिहारका अध्यक्ष रविन्द्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब नवीन वलीले गरेका थिए । सस्थामा हाल ६ सय बढी सदस्य रहेको बताइएको छ ।