Goraksha

National Daily

ओझेलमा रोल्पाको ‘बिबाङ दह’

भरत विश्वकर्मा
रोल्पा, २२ चैत । पर्यटनको प्रचुर सम्भावना भएर पनि बिबाङ दह ओझेलमा परेको छ । सुनछहरी गाउँपालिका–२ भित्रिगाम स्थित बिबाङ दह पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य मानिन्छ । पर्यटक तान्न लागि प्रचारप्रसारको अभावले बिबाङ दहमा पर्यटक भित्रन सकेका छैनन् । बेलाबेलामा आन्तरिक पर्यटक बिबाङ दहमा पुगे पनि बाह्य पर्यटक पुग्न सकेका छैनन् ।

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सुलिचौरदेखि करिब चार घण्टाको सवारी यात्रा र करिब दुई घण्टाको पैदल यात्रापश्चात् बिबाङ दह पुग्न सकिन्छ । बिबाङ दह जाने सडक केही भाग कालोपत्रे गरिए पनि अधिकांश भाग कच्ची छ । बिबाङ दहमा पुग्न यातायातको सहज पहुँच नभएकाले बाह्य पर्यटक भित्रिन नसकेको स्थानीय तिलक घर्ती मगर बताउँछन् ।

‘प्रकृतिको काखमा एउटा फरक इतिहास बोकेको ठाउँ हो, बिबाङ दह’, उनले भने, ‘प्रकृतिसँग रम्न, रमाउन र इतिहास बुझ्नका लागि बिबाङ दह महत्वपूर्ण छ ।’ ओझेलमा परेको ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले ठोस योजना बनाउन आवश्यक रहेको उनले बताए । ‘पर्यटकीय गन्तव्यको रूपमा विकास भए यहाँको उत्पादनले बजार पाउने थियो र स्थानीयले रोजगार पाउने थिए’, मगरले बताए ।

बिबाङ दह प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हुनुका साथै धार्मिक महत्वको दृष्टिले महत्वपूर्ण मानिन्छ । भौगोलिक दृष्टिकोणले त्यहाँ पुग्न कठिनाइ भए पनि त्यहाँ पुगेपछि बिबाङ दहले पर्यटकको मन जित्ने स्थानीयले बताउने गरेका छन् । बिबाङ क्षेत्रलाई युद्ध पर्यटनको दृष्टिले बढी महत्वपूर्ण मानिन्छ । तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको समयमा यस क्षेत्रमा विभिन्न घटना घटेकाले यसलाई युद्ध पर्यटनसँग जोडेर विकास गर्न सकिने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । बिबाङ दह घुम्न जाँदा मनोकाङ्क्षा पूरा हुने स्थानीयको भनाइ छ । अधिकांश आन्तरिक पर्यटकहरू मनोकाङ्क्षा पूरा हुने विश्वासले बिबाङसम्म पुग्ने गरेका छन् ।

चारैतिर बाक्लो वन क्षेत्रले ओगटेको स्थान प्राकृतिक सौन्दर्यताको भरिपूर्ण बिबाङ दहको आसपासको जङ्गलमा लोपोन्मुख रेडपान्डाको वासस्थान रहेको स्थानीय बताउँछन् । पछिल्लो समय स्थानीय सरकारले बिबाङको संरक्षण तथा विकासमा अग्रसरता देखाएकाले ओझेलमा परेका ठाउँको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्रिने सम्भावना बढेको छ ।

पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले सुनछहरी गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न निर्णयसमेत गरेको थियो । केही समय पहिले बिबाङ दहमा स्थानीय सरकारले बैठक सञ्चालन गरेर विभिन्न निर्णय गर्दै पर्यटन विकासका लागि ‘बिबाङ दह घोषणापत्र’ सार्वजनिक गरेको थियो । घोषणापत्रमा गाउँपालिकाभित्रका पर्यटन सम्पदाको संरक्षण र प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य निर्धारण गरिएको गाउँपालिका प्रवक्ता अमरजित पुनले बताए ।

बिबाङ दहलाई पर्यटकीय गन्तव्यका रूपमा जोड्न लुङ्ग्री गाउँपालिकामा अवस्थित पुरानो बडाचौर विमानस्थलदेखि सुनछहरी गाउँपालिकामा रहेको सुनछहरी झरना, कोठी भिर, टिलाचन दह, बुजुधुरी, जलजला, ओख्रेनी हुँदै अन्तिम गन्तव्यको रूपमा सुनिल स्मृति गाउँपालिकामा अवस्थित तत्कालीन बाइसे चौबिसे राज्य अन्तर्गतको गजुलकोट दरबारसम्म गुरिल्ला पदयात्राको रूपमा विकास गर्ने लक्ष्य लिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले बताए ।

स्थानीय सरकारले पर्यटनका लागि केही चासो दिँदा स्थानीय खुसी देखिन्छन् । कृषि उत्पादनको हिसाबले बढी सम्भावना भएको यस क्षेत्रमा सडक पूर्वाधार पुग्न सकेको छैन । बजार पुग्नका लागि लामो समय हिड्नुपर्ने यस क्षेत्रमा सडक पूर्वाधारसँगै पर्यटनको विकास हुन आवश्यक छ ।