उपभोक्तामैत्री सेवा दिँदै गढवा खानेपानी
दुखहरण यादव
गढवा, २१ चैत । गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गुणस्तरीय खानेपानी सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर सुधारका काम गर्दै आइरहेको छ । पानी वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै मिटर जडान, डिजिटल बिलिङ र पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिइएको छ ।
उपभोक्तालाई सहज रूपमा सेवा उपलब्ध गराउन समितिले निरन्तर रूपमा काम गर्दै आएको गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णराज पाण्डेले जानकारी दिएका छन् । समितिका अध्यक्ष पाण्डे भन्छन्, ‘हामी उपभोक्तालाई निरन्तर सुधारिएको सेवा दिन प्रतिबद्ध छौँ । पुरानो संरचना सुधार, प्रविधि उपयोग र नियमित अनुगमनले खानेपानी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने गरी लागेका छौँ ।’
निर्वाचित भएर आउनेबित्तिकै समितिले पहिलो काम आर्थिक तथा संस्थागत पारदर्शिताका लागि मिटर जडान गरेको अध्यक्ष पाण्डेले बताए । सात सय बढी उपभोक्ता रहेको समितिले उपभोक्ताको माग र पानी चुहावट, विद्युत खपत इकाइ व्यवस्थापनका साथै उचित शुल्क प्रणालीलाई अवलम्बन गर्न डिजिटल मिटर जडान गरिएको संस्थाका सचिव खुमानन्द पोख्रेलले बताएका छन् । उनका अनुसार पहिले मिटरबिनै मासिक शुल्क तिर्दै आएकाले धेरै उपभोक्ता असन्तुष्ट भए पनि अहिले मिटर जडान भएपछि पानी प्रयोगका आधारमा शुल्क निर्धारण भइरहेको छ ।
समितिले परम्परागत बिलिङ प्रक्रियालाई हटाएर डिजिटल बिलिङ प्रणाली लागु गरेको समितिका व्यवस्थापक नारायण पण्डितले बताए । उनले अब उपभोक्ताले घरमै बसेर अनलाइन वा मोबाइलमार्फत् बिल तिर्न सक्नेछन् । यसले उपभोक्तालाई सहज भएको छ । गढवा खानेपानीका उपभोक्ता शिवा वलीले डिजिटल बिलिङ प्राणालीले धेरै सजिलो भएको बताइन् । उनले भनिन्, ‘पहिलेभन्दा सजिलो भएको छ । अब समय भएन, फुर्सद नभए जरिवाना तिर्न परेको छैन । बिल आउनेबित्तिकै मोबाइलबाटै महसुल तिर्न पाउनु समितिले व्यवस्था गरेको छ ।’ समितिले खानेपानीलाई सहजतासँगै पानीको प्रयोगका आधारमा शुल्क निर्धारण गर्दा उपभोक्तालाई पैसा तिर्न सहज भएको गढवा गाउँपालिका–६ का उपभोक्ता सीता पौडेल बताउँछिन् ।
अध्यक्ष कृष्णराज पाण्डेको नेतृत्वले पुराना पाइपलाइन प्रतिस्थापन गर्दै नयाँ ठाउँमा सेवा विस्तार गर्नुका साथै बाटोको दुवै छेउ पाइपलाइन विस्तारलाई निरन्तरता दिएको छ । जसले गर्दा पानी चुहावट रोकिएको छ भने पाइपलाइन मर्मत गर्दा हुनसक्ने समस्याको दर घटेको छ । यसैगरी पानीको प्रेसर पाइपमा धेरै पानी आएको, नयाँ उपभोक्ताले धारा जडान गर्दा बाटो क्रस गरेर पाइप तान्ने झन्झट हटेको छ ।
गढवा खानेपानीलाई अझ व्यवस्थित र गुणस्तरीय सेवा दिन आधुनिक उपकरण जडान गर्ने, वैकल्पिक उर्जा स्रोतको प्रयोग गरेर सौर्य ऊर्जाबाट सञ्चालित मोटर जडान गर्ने, पानीको मूल संरक्षण र सरसफाइका लागि उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने, पानी प्रशोधनका लागि आधुनिक यन्त्रको व्यवस्था गर्ने, स्मार्ट मिटर प्रणाली लागु गर्ने, नयाँ बोरिङ तथा ट्याङ्कीको व्यवस्थापन गर्नुपर्ने अवास्था रहेको बताएका छन् ।
