Goraksha

National Daily

जनप्रतिनिधिलाई योजना तर्जुमा तालिम

गोरक्ष समाचारदाता
दाङ, २१ चैत । स्थानीय तहमा प्रभावकारी योजना तर्जुमा गर्ने उद्देश्यले घोराहीमा जनप्रतिनिधिका लागि तालिम सुरु भएको छ । स्थानीय तहमा नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले दुईदिने तालिम बुधवारदेखि सुरु भएको हो ।

जिल्लाका १० वटा स्थानीय तहका प्रमुख÷उपप्रमुखसहित प्रशासकीय अधिकृत, इन्जिनियरलगायतको सहभागिता रहेको तालिममा नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारे प्रशिक्षण दिइने छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति दाङको समन्वयमा सुरु भएको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले उद्घाटन गरेका हुन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक कानूनलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले बजेटको स्थानीय तहले स्रोत र आवश्यकताका आधारमा बजेट निर्माण गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनले तालिमले स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रभावकारी योजना तर्जुमा गर्नुका साथै कार्यान्वयमा सहयोगी हुने बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले स्थानीय सरकारलाई राम्रो नीति कार्यक्रम तथा बजेट बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले देश सङ्घीयताको नयाँ अभ्यासमा रहेको भन्दै अब स्थानीय तहले नीति निर्माणसँगै बजेट निर्माणको कार्यमा जुट्दा विशेष ध्यान दिनुपर्ने बताए । जनप्रतिनिधका लागि यो अत्यन्त उपयोगी कार्यक्रम रहेको भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले जनमुखी नीति कार्यक्रमसँगै बजेट निर्माणमा तालिमले सहयोग गर्ने अपेक्षा गरेको बताए ।

बिहिबारसम्म चल्ने तालिमको प्रशिक्षकमा पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलगायतका रहेका छन् । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति दाङकी नासु बिमला पाण्डे खनालले गरेकी थिइन् ।