प्रतिष्ठानमा एमआरआई सेवा सुचारु
गोरक्ष समाचारदाता
दाङ, २० चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको एमआरआई मेसिन सेवा सुचारु भएको छ । बुधवारदेखि सेवा अवरुद्ध भएको सूचना जारी गरेको प्रतिष्ठानले बिहिबारदेखि सेवा सुरु भएको अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिएका छन् । एमआरआई सेवा बन्द हुँदा बिरामी समस्यामा परेका थिए ।
प्रतिष्ठानले एमआरआई मेसिन आपूर्ति गर्ने कम्पनीले सफ्टवेयर अपडेट नगरेकाले सेवा अवरुद्ध भएको थियो । प्रतिष्ठानले सफ्टवेयर अपडेट गर्न आवश्यक काम अगाडि बढाएपछि २९ दिनलाई मेसिन आपूर्तिकर्ता कम्पनीले नवीकरण गरिदिएको हो ।
प्रतिष्ठानले मेसिन आपूर्ति कम्पनी लुम्बिनी हेल्थ केयर प्रालिलाई पत्र पठाई नवीकरणलाई अनलिमिटेड गर्न पत्र काटिसकेको छ । हेल्थ केयर र प्रतिष्ठानसँग गरेको सम्झौता बमोजिम उक्त मेसिनको लाइफटाइम अवधिभर निःशर्त सफ्टवेयर अपडेट गर्नुपर्नेमा सो नगरेकाले एमआरआई सेवा अवरुद्ध भएको थियो । प्रतिष्ठानले आपूर्तिकर्ता प्रालिलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि लाइसेन्स २९ दिनलाई नवीकरण गरिदिएको हो ।
अनलिमिटेड सफ्टवेयर अपडेट गर्न÷गराउन आवश्यक कारबाहीका लागि फेरि आपूर्तिकर्ता प्रालिलाई पत्राचार गरिने प्रतिष्ठानले जनाएको छ । मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिका अध्यक्ष पोस्टराज ज्ञवालीले प्रतिष्ठानले तीन वर्षदेखि दिनुपर्ने २० प्रतिशत रकमको भुक्तानी नगरेकाले सफ्टवेयर अपडेट नभएको बताएका छन् । प्रतिष्ठानले कारबाही गर्ने चेतावनी दिएपछि प्रालिले हाललाई एमआरआईको सफ्टवेयर नवीकरण गरिदिएकाले एमआरआई सेवा सुचारु भएको हो ।
