Goraksha

National Daily

अर्थतन्त्रको मेरुदण्ड सहकारी : नगर प्रमुख चौधरी

टेकबहादुर पुन
देउखुरी, २१ चैत । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले अर्थतन्त्रको मुख्य मेरुदण्ड सहकारी भएको बताएका छन् । साना सहकारी अब ठुला सहकारीसँग मर्ज भई अघि बढ्नसके सहकारीले अझै प्रभावकारी सेवा प्रवाह गर्न सक्ने बताए । ६८औँ सहकारी दिवसको अवसरमा बुधवार लमही नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले यस्तो बताएका हुन् ।

सहकारीले पुँजी वृद्धि गर्दै उद्योग सञ्चालन गर्ने, रोजगारीको सिर्जना निर्माण गर्ने जस्ता काम गर्नुपर्ने बताए । उत्पादनसँग जोडेर ऋण लगानी गर्नुका साथै शेयर सदस्यको आर्थिकस्तर वृद्धि गर्न सहकारीको योगदान रहेको हुँदा शेयरधनीले आर्थिक वृद्धितर्फ उन्मुख हुनुपर्ने नगर प्रमुख चौधरीले आग्रह गरे । उनले यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि लिएर आर्थिक, सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुग्ने बताए ।

उनले भने, ‘अहिले पनि घरेलु तथा साना उद्योगहरूले स्वदेशी श्रम, सिप, पुँजी र कच्चापदार्थको उच्चतम प्रयोग गरी आन्तरिक उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा योगदान पु¥याएको छ ।’ सहकारीले मुलुकको कुल ग्राह्र्यस्थ उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्दै रोजगारीसँगै राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान उच्च रहेको बताए । उनले यस क्षेत्रको विकास र सहजीकरणका लागि सहयोग गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाए ।

कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले अतिकम विकसित मुलुक विकासशील मुलुकमा परिणत हुन गइरहेको अवस्थामा सहकारीको विकासका लागि तीनै तहको सरकारले एकापसमा समन्वय गरी प्रभावकारी योजना बनाएर काम गर्नुपर्ने बताइन् । सुमधुर श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गराउन सरकार प्रतिबद्ध रहेको उनले बताइन् । कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले मुलुकमा जनताले प्रयोग गर्ने अधिकांश वस्तु तथा सेवा विदेशबाट आयात भइरहेको स्थितिमा एकातिर औद्योगिकीकरण, आत्मनिर्भर अर्थतन्त्र विकास र अर्कोतिर विदेशी मुद्दाको मागमा अत्यधिक चाप सिर्जना भई अर्थतन्त्रमा दबाब सिर्जना भइरहेको बताए ।

उनले मुलुकभित्रै स्थानीय स्रोत र साधनको परिचालनबाट दैनिक जीवनमा आवश्यक वस्तु तथा सेवा उत्पादन गर्न सबैले जोड दिनु आवश्यक रहेको बताउँदै स्थानीय सरकारबाट आफूहरूले सहकारीको संस्थागत विकासका लागि हुनसक्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘सहकारीको विकाससँगै देशले विकासमा फड्को मार्नेछ । अघिल्लो समयमा सहकारीले मुलुकको अर्थतन्त्रमा ठुलो भूमिका निर्वाह गरेको छ । यसको व्यवस्थापन गर्दै अघि बढनुपर्ने आवश्यक छ ।’

कार्यक्रममा लमही नगरपालिका प्रशासन शाखा प्रमुख महेश थापाले सहकारीको विकासका लागि तीनै तहको सरकारबिच सहकार्यको आवश्यकता औंल्याए । उनले न्यून वर्गीय परिवारको लागि सहकारी महत्वपूर्ण रहेको बताउँदै गरिबी निवारणमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा सहकारीलाई व्यवस्थित तवरबाट सञ्चालन गरिनुपर्ने जोड दिइएको थियो । कार्यक्रममा दर्जन बढी सहकारीमा आबद्ध विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।