Goraksha

National Daily

रक्तदान गरी सहकारी दिवस

गोरक्ष समाचारदाता
देउखुरी, २० चैत । लमही नगरपालिकाले सहकारी दिवस रक्तदान कार्यक्रम आयोजना गरेर मनाएको छ । ६८औँ सहकारी दिवसको अवसरमा लमही नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी लमही उपशाखा रक्त सञ्चार केन्द्रका इन्चार्ज मनिष चन्दले जानकारी दिए । कार्यक्रममा बोल्दै लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले रक्तदान महादान भएकाले रक्तदान गर्न प्रोत्साहित गर्नुपर्ने बताए । उनले मानिसको जीवन बचाउने महान कार्यका लागि रगत अत्यावश्यक भएको भन्दै उनले लमही नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको र हरेक वर्ष रगत अभाव हुने गरेकोले यसरी नै विभिन्न संघसंस्थाद्वारा रक्तदान कार्यक्रम गर्नुपर्ने बताए ।

‘शिक्षित व्यक्तिको सङ्ख्या वृद्धि भए पनि अझै रक्तदानबारे ज्ञान छैन, रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔँ । रक्तदान जीवनदान हो’, उनले भने, ‘मन्दिरमा गएर धूपबत्ती बालेर लाखौँको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । सबैभन्दा ठुलो भर्म रक्तदान नै हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ?’

यसैगरी लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले रक्तदानको मानव जीवनमा ठुलो महत्व रहेको बताइन । कार्यक्रममा लमही नगरपालिका मातहतका सम्पूर्ण कर्मचारी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुसाल, अस्थायी ट्राफिक पोस्ट लमही, लमही नगर स्तरीय सहकारी सञ्जाल र देउखुरी सहकारी क्लबका कर्मचारीले रक्तदान गरेका थिए । यता लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लमही नगरपालिकाले विभिन्न कार्यक्रमको अवसर पारेर रक्तदानको व्यवस्था गर्दै आएको बताउँदै संघसंस्था र व्यक्तिहरूको अथक प्रयास र सहयोगी भावनाले अहिलेको चर्को गर्मीमा पनि रक्तदानका कार्यक्रमले निरन्तरता पाएको बताए ।

‘रगत नालीमा होइन, नाडीमा बगाऔँ । रक्तदाता घट्न नदिन र अल्पविकसित देशमा रक्तदान बढाउन संसारका कुनाकाप्चाका क्षेत्र र समुदायमा पनि रक्तदान गरौँ भन्ने सन्देश दिन आवश्यक छ । रक्तदान ग¥यौँ भने कमजोर भइन्छ भन्ने हामीमा भ्रम छ’, उनले भने, ‘रक्तदान गरे जस्तो पुण्यको काम अरू केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् ? कुनै बेला हामी आफैँलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौँ र अरूको जीवन बचाऔँ ।’

कार्यक्रममा लमही नगरपालिका प्रशासन प्रमुख महेश थापाले प्रत्येक वर्ष सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको बताए ।