महिला स्वास्थ्य स्वयम्सेविकालाई आधारभूत तालिम
गोरक्ष समाचारदाता
दंगीशरण, २० चैत । स्वयम्सेविका समुदायको सबैभन्दा पहिलो डाक्टर रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेविकाको लागि पाँचदिने आधारभूत तालिमको उद्घाटन गर्दै अध्यक्ष गिरीले यस्तो बताएका हुन् ।
स्वयम्सेविका भन्ने शब्द आफैँमा सम्मानित शब्द रहेको उनको भनाइ छ । दंगीशरण गाउँपालिका स्वास्थ्यको क्षेत्रमा सदैव गम्भीर रहेको बताउँदै पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको र सोही अनुसार बजेट विनियोजन गर्दै आएको बताए । स्वयम्सेविकालाई हरेक रूपले अब्बल बनाउन आधारभूत तालिम दिन गरेको अध्यक्ष गिरीको भनाइ छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले स्वास्थ्यसम्बन्धी समाजमा गर्ने हरेक अभियान होस् या महामारीको बेला पनि प्रत्यक्ष समुदायसँग जोडिएर फ्रन्टलाइनमा महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिकाको उच्च प्रशंसा गरे ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सबै शाखाभन्दा बढी बजेट विनियोजन गरेकोप्रति खुसी व्यक्त गरे । २०४५÷०४६ मा महिला सामुदायिक स्वयम्सेविकाले मातृ मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए । समाजमा सजिलै र सहज तवरले सन्देश र सूचना प्रवाहको सवालमा उत्कृष्ट भूमिकामा महिला स्वास्थ्य स्वयम्सेविका रहेको उनको भनाइ छ । स्वास्थ्य शाखा नर्सिङ राधा शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण आधारभूत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्माले गरेका थिए ।
