Goraksha

National Daily

सिमगजरीमा सडक पुग्दा स्थानीय हर्षित

दुखहरण यादव÷सपना पौडेल
गढवा, १८ चैत । राजपुर गाउँपालिकाको विकट बस्ती सिमगजरीमा सडक पुगेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत राजपुर गाउँपालिका–७ को सिमगजरी बस्तीसम्म सडकको ट्रयाक खन्न तीन वर्षअघि काम सुरु भएको थियो । गाउँपालिकाको भौगोलिक रूपमा विकट बस्ती सिमगजरीमा सडक पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

सडक नहुँदा दैनिक ५÷६ घण्टा पैदल हिडेर बिरामी पर्दा स्वास्थ्यचौकी तथा गाउँपालिका पुग्नुपर्ने स्थानीयलाई समस्या थियो । सडक नहुँदा सिमगजरीका करिब ७०–८० घरका स्थानीयलाई पैदल हिड्नुपर्ने बाध्यता रहे पनि सडकको ट्रयाक निर्माण भएपछि सहज भएको स्थानीय ७० वर्षीया सुमित्रा रानाले बताएकी छिन् । गाउँमा सडक नहुँदा घरमा आवश्यक सामग्री ल्याउनदेखि बिरामी पर्दा उपचार गर्न बिरामीलाई डोकोमा बोकेर करिब ५÷६ घण्टा पैदल हिँड्दै गंगदीसम्म जानुपर्ने बाध्यता भए पनि सडक निर्माण भएसँगै हटेको बताइन् । ‘गाउँमा सडक नहुँदा स्थानीयले धेरै दुःख पाएका थिए, घरमा चाहिने सामग्री किन्नसँगै बिरामी पर्दा औषधी गर्नका लागि अस्पताल जान समस्या हुने गरेको थियो’, रानाले भनिन्, ‘वर्षौँपछि भए पनि गाउँमा सडक पुग्दा स्थानीयलाई सहज भएको छ ।’

गाउँमा सडकसँगै यातायातका साधन आउन थालेपछि सुमित्राजस्तै सोही ठाउँ निवासी गीता खड्का खुसी छिन् । गाउँमा सडक निर्माण भएपछि स्थानीयलाई हिडडुलसँगै दुःख बिरामी पर्दा औषधी उपचारका लागि अस्पताल जान सहज भएको भन्दै खड्काले भनिन्, ‘बाटो नहुँदा कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने बाध्यता थियो । वर्षात्को समयमा धेरै दुःख हुन्थ्यो, अब त्यो बाध्यता हटेको छ ।’ सडक निर्माणले हिडडुलमा सहजतासँगै स्थानीयले उत्पादन गरेका कृषि सामग्री बजारसम्म लैजान सहज भएको अर्का स्थानीय बलराम गिरी बताउँछन् । ‘गाउँ कृषि र पशुपालनका लागि राम्रो भएको तर बाटोको समस्याका कारण बिक्री गर्न लैजान नसक्ने अवस्था थियो’, उनले भने, ‘सडक निर्माण भएपछि सहज भएको छ, किसानले गाउँमा उत्पादन गरेको वस्तु बजारसम्म लैजान सक्ने भएका छन् ।’ स्थानीय सागर रोकाका अनुसार सडकको ट्रयाक खन्न सुरु गरेको तीन वर्षपछि गाउँमा सडक पुगेको छ । गाउँमा सडकको ट्रयाक पु¥याउन करिब २० लाख बढी खर्च भएको बताए ।

सिमगजरीलाई सडक सञ्जालसँग जोड्नका लागि गाउँपालिकाले लगानी गरेर तीन वर्षपछि सडक पु¥याएको गाउँपालिका अध्यक्ष राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी बताउँछन् । सडक नहुँदा बर्सेनि स्थानीयले भोग्दै आएको समस्या समाधान गर्ने गरी गाउँपालिकाले लगानीसँगै जेसिभी लगाएर राजपुर गाउँपालिका–७ को उत्तरखुटीदेखि सिमगजरीसम्म सडक पु¥याइएको अध्यक्ष बुढाथोकीले बताए । गाउँपालिकामा रहेका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी पालिकाले काम गरेको भन्दै अध्यक्ष बुढाथोकीले भने, ‘स्थानीयबासीले भोग्दै आएको पीडा बुझेर नै हामीले यो बाटो निर्माणलाई पहिलो प्राथमिकता दिएका हौँ । त्यही कारण अहिले गाउँमा बाटो पुगेको छ ।’

राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले सडक निर्माणसँगै वर्षौदेखि स्थानीयले भोग्दै आएको समस्या अन्त्य भएको भन्दै यसले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी फाइदा पुग्ने बताइन् । उनले स्थानीयबासी आशा र विश्वास अनुरूप पालिकाको पहलमा सडक निर्माण भएको यसले गाउँको विकासको ढोका खोलेको बताइन् । त्यससँगै गाउँका बालबालिकालाई विद्यालय जान सहज हुने, किसानले उत्पादन बजारमा पु¥याउन सक्ने र बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज हुने बताउँछन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर वलीले गाउँमा सडक पुगेसँगै स्थानीयलाई अव दुःख बिरामी पर्दा हुने समस्या समाधान भएको बताए । विगतमा दुःख बिरामी पर्दा स्थानीयलाई बोकेर बिरामीलाई गंगदीसम्म ल्याउनुपर्ने बाध्यता भए पनि बाटो भनेपछि अब गाउँमै एम्बुलेन्स पुग्नसक्ने भएको बताए । राजपुर गाउँपालिका वडा नं. ७ का अध्यक्ष पुष्कर वलीले सडक सञ्जालमा गाउँ जोडिएसँगै स्थानीयलाई सहज भएको बताए । अब सडकलाई अझ मजबुद बनाउँदै वर्सात्को समयमा कसरी सडकलाई सञ्चालन गर्ने भन्नेतर्फ आपूmहरूको ध्यान भएको बताएका छन् । उक्त बाटोको गाउँपालिका अध्यक्ष र उपाध्यक्षले उद्घाटन गरेका हुन् ।